रोकिएन सेयर बजारको ओरालो यात्रा, ३ दिनमा लगानीकर्ताले गुमाए ८५ अर्ब


सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विबरण सनर्वजनिक गर्ने अन्तिम समयमा बजारको ओरालो यात्रा तिब्र बनेको छ । सामुहिक लगानी कोषहरुले प्रतिफल घोषणा मात्र नभई इकाईधनी दर्ता पुस्तिका समेत बन्द गर्न थालिसकेका छन् ।

केही बाहेकका सूचीकृत कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विबरण आशातित नहुनु, सामुहिक लगानी कोषहरुको प्रतिपल पनि अपेक्षित नहुनु र कम्पनीहरुले वितरण गर्ने लाभांशको अनुमानले बजारलाई ओरालो झारेको हो ।

बुधबार सेयर बजार फराकिलो अन्तरले तल झरेको छ । लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा सेयर बजार २०.३१ अंकले घटेर २०२५.१२ अंकमा अडिएको हो । बजारमा आएको गिरावटसँगै कारोबार रकममा पनि फराकिलो अन्तरको गिरावट आएको छ । कारोबार रकमसँगै बुधबार कारोबारमा आउने सेयर संख्या, कारोबार संख्या समेत घटेको छ । जसका कारण बजार सुस्त बनेको आभाष लगानीकर्ताले गरेका छन् ।

अधिक बिक्री चाप आएको बजारमा खरिद चाप न्युन हुँदा बजारका सबै सूचक ओरालो लागेका हुन् ।

मंगलबार पनि बजार परिसुचक नप्से ३१.८० अंकले घटेर नेप्से परिसुचक २०४५.४४ अंकमा ओर्लिएको थियो । केही दिन बढ्ने र केही दिन घटेर उही अवस्थामा रहने गर्दा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता अझै आशावादी हुन सकेका छैनन् ।

बुधबार २६९ कम्पनीका ४८ लाख ३८ हजार १०६ कित्ता सेयरहरु ४५ हजार १६७ पटक किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २७८ कम्पनीका ५६ लाख ३ हजार १७९ कित्ता सेयरहरु ६१ हजार ३४१ पटक किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको कारोबार भएको थियो । मंगलबारको तुलनामा सबै सूचक घटेको बजारमा कारोबार रकम ४७ करोड रुपैयाँभन्दा धेरै घटेको हो ।

गत सोमबार २८९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयरहरु ६८ हजार ८४२ पटक किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको थियो । सो दिनभन्दा अघि गत आइतबार २ अर्ब ४२ करोडभन्दा बढी रकमको सेयर किनबेच भएको थियो ।

बुधबार सबै समुहगत उपसूचकमा गिरावट आएको बजारमा निर्जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै अर्थात ९७.४१ अंकको गिरावट आएको छ । उत्पादनमा ८६.१२ अंकको गिरावट आएको बजारमा लघुवित्तमा ४५.१८, जलविद्युतमा ४०.१०, व्यापारमा ३५.७०, वित्तमा २३.५७, अन्यमा १९.१६, विकास बैंकमा १९.११ र वाणिज्य बैंक समुहमा ९.४१ अंकको गिरावट आएको छ ।

सनराइज फोकस्ड इक्विटी फण्डको इकाई मूल्य ४ प्रतिशतले बढेको बजारमा बलेफी हाइड्रो, स्वरोजगार लघुवित्तको सेयर मूल्य झण्डै ४ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष, ऋणपत्र सहित ४३ कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

माउण्टेन हाइड्रो नेपाल, श्वेत गंगा हाइड्रो र धौलागिरी लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले घटेको बजारमा मिर्मिरे लघुवित्त, महुली लघुवित्तका सबथै सामुहिक लगानी कोषहरु तथा अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

पछिल्ला केही दिनदेखि तिब्र गतिमा सेयर मूल्य घटिरहेको हिमालयन डिष्टीलरीको बुधबार सबैभन्दा धेरै कारोबार भएको छ । शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा छन् ।

संख्याका आधारमा कुमारी बैंकको सबैभन्दा धेरै कित्ता सेयर कारोबार भएको बजारमा शिवम् सिमेन्ट, सोल्टी होटलले पछ्याएका छन् । कारोबार संख्याका आधारमा आईएमई लाइफ, घोराही सिमेन्ट, नेपाल रिपब्लिक मिडिया लगायतका कम्पनीको बाहुल्यता देखिएको छ ।

बजार ओरालो लागेसँगै समग्र बजार पुँजीकरणमा पनि भारी गिरावट आएको छ । बुधबार यस्तो पुँजीकरण ३० खर्ब ३१ अर्ब १ करोड ४८ लाख ८० हजार रुपैयाँ कायम भएको छ । मंगलबार यस्तो पुँजीकरण ३० खर्ब ६२ अर्ब९७ करोड ३३ लाख ६० हजार, सोमबार ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४० हजार थियो । यो साताको पहिलो दिन आइतबार यस्तो पुँजीकरण ३१ खर्ब १६ अर्ब १ करोड ३९ लाख ६० हजार रुपैयाँ थियो ।

आइतबार बजार बन्द भए पछिका ३ कारोबार दिनमा बजार पुँजीकरण ८५ अर्ब रुपैयाले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।