भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वव्यापी रुपमा खाद्य संकटको सम्भावना


भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्धका कारण विश्वव्यापी रुपमा खाद्य संकटको समस्या बढ्ने सम्भावना बढ्दै गएको छ ।

विश्वको शीर्ष चामल उत्पादक भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्ध र रुस–युक्रेन युद्धका कारण युक्रेनबाट अन्न आपूर्ति रोकिनुले निकट भविष्यमा खाद्य संकट उत्पन्न हुने संकेत गरेको हो ।

भारतले जुलाई २० तारिखमा विभिन्न आन्तरिक कारणहरु देखाउँदै बासमती बाहेकका अरु चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । उक्त घोषणाले भारतका छिमेकी राष्ट्र नेपाल, बाङ्लादेशमा मात्रै नभई अफ्रिकी मुलुक–बेनीन, सेनेगल, टोगो, मालीमा समेत खाद्यान्न अभावको समस्या निम्त्याएको हो । जलवायु परिवर्तनका कारण भारतले विभिन्न समयमा इल नीनो प्रभावको सामना गर्दै आएको छ । इल नीनो प्रभावका कारण समयमा मनसुनी वर्षा हुँदैन र लामो समयसम्म खडेरी पर्छ । त्यति मात्रै नभई इल नीनो प्रभावकै कारण भारी वर्षा हुने र अधिकांश भूभाग डुबानमा पर्ने समस्या बढ्दै गएको छ ।

समयमा वर्षा नहुँदा र धेरै वर्षा हुँदा चामलको उत्पादन प्रभावित हुने भएकाले भारत सरकारले चामलको उत्पादनमा कमी आउने आँकलन गरेको छ । रुसले युक्रेनमा हमला गरेपछि विश्वव्यापी रुपमा मानिसहरुले प्यानिक हुँदै खाद्य पदार्थ खरिद गरेका थिए । इल नीनो प्रभावका कारण उत्पादनमा कमी आउने घोषणा भारत सरकारले गरेपछि भारतभित्रै पनि मानिसहरुले प्यानिक भएर बोराका बोरा चामल खरिद गर्न थालेका छन् । जसका कारण भारतमा एक वर्ष अवधिमा मात्रै चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

प्यानिक हुँदै बोराका बोरा चामल खरिद गर्ने अधिकांश राष्ट्रहरुमा अमेरिका र क्यान्डा समेत परेका छन् । भारतले बासमती चामलको निर्यातमा प्रतिबन्ध नलगाउने घोषणा गरे पनि मूल्य बढ्ने डरले मानिसहरुले बोराका बोरा चामल किन्ने गरेका छन् । जसका कारण अमेरिकाले एक परिवारलाई एक बोरा चामल खरिद गर्न दिने प्रावधान समेत सुरु गरेको छ ।

यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्यानिक बाइङको शिलशिला बढ््दै जाँदा चामलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति हुन नसक्दा चामलको मूल्य बढेको भारतीय चामल निर्यातकर्ता नितिन गुप्ता बताउँछन् । उनी भन्छन्, “सन् २०२३ को सुरुवातमा ५५० डलरमा एक मेट्रिक टन चामल बिक्री हुने गरेको थियो भने हाल ६५० डलर पुगेको छ ।’

भारतले वार्षिक रुपमा १३५ लाख टन चामलको उत्पादन गर्दै आएको छ । भारतको आन्तरिक माग १०० लाख टन मात्र छ । तथापि जलवायु परिवर्तनका कारण उत्पादनमा कमी आउन सक्ने जनाउँदै आन्तरिक माग, बढ्दो मुद्रास्फीति र आकाशिएको खाद्य पदार्थको मूल्यलाई ध्यानमा राख्दै भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा भारत बाहेक अन्य देशमा समेत चामलको मूल्य बढ्न सुरु भईसकेको छ ।

नेपालीहरुको भान्सामा प्रयोग हुने अधिकांश चामल भारतबाट आयात हुने गरेको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको मूल्य २० प्रतिशतले बढेको अनौपचारिक तथ्यांकले देखाउँछ । भारतबाट नेपालले उच्च स्तरीय बासमती चामलदेखी कनिका चामलसम्म खरिद गर्दै आएको छ । उच्च वर्गले प्रयोग गर्ने बासमती चामलको मूल्य नबढ्नु र मध्यम तथा निम्न आय भएका मानिसहरुले उपभोग गर्ने स्टीम चामल, जीरा मसिनो चामलको मूल्य बढ्दा निम्न आय भएका मानिसहरु थप समस्यामा परेका छन् ।

यस्तै अफ्रिकी मुलुक सेनेगल, माली लगायतका देशहरुले भारतबाट ठूलो मात्रामा कनिका चामल खरिद गर्दै आएका छन् । भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाउँदा अफ्रिकी मुलुकमा खाद्यान्न अभावको समस्या हुने देखिन्छ । यस अघि सन् २००७ मा भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा अफ्रिकन मुलुकमा खाद्यान्न अभावको समस्या उब्झिएको थियो । त्यति बेला भारतले गभर्मेन्ट टू गभर्मेन्ट सेल्सको अवधारणा लागू गरी भोकमरी फैलिन दिएको थिएन ।

अहिले पनि भारत सरकारले लगाएको प्रतिबन्धका कारण खाद्य सुरक्षामा अवरोध तथा खाद्यान्न अभावको समस्या देखिएमा गभर्मेन्ट टू गभर्मेन्ट (जीटुजी) को अवधारणा अघि सारिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।