टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट लिंक मोटर्सको ९ महिनाको आम्दानी साढे १ अर्ब

0
Shares

विलासी कार उत्पादक कम्पनी टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट लिंक मोटर्स प्रालिले आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १ अर्ब ५० करोड १० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६९ करोड ४० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको सञ्चालन आम्दानीलाई अघिल्लो आवको सोही अवधिको आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी २५.७१ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटले अन्य वित्तीय सूचांकमा ठूलो प्रभाव पारेको छैन । ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा गत आवको ९ महिनामा कुल सञ्चालन आम्दानीको ६.७ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा ४.४ प्रतिशत थियो ।

युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि टोयोटा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ । नेपालभर टोयोटा कम्पनीका प्यासेन्जर कारको बिक्री वितरण गर्ने युनाइटेड ट्रेडर्सले क्षेत्रीय बिक्रेताका रुपमा इस्ट लिंक मोटर्स नियुक्त गरेको छ । इस्ट लिंक मोटर्स प्रालिमा नारायण प्रसाद पौडेल, राजेन्द्र बिक्रम पौडेल र धनन्जय रेग्मीको लगानी रहेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीका हाल ३ वटा आफ्नै सोरुम सञ्चालनमा रहेका छन् । काठमाडौँको लैनचौर, गैरीधारा र ललितपुरको कुपन्डोलमा कम्पनीका सोरुम सञ्चालनमा छन् ।

अटोबजारमा टोयोटाको विश्वसनीयता र ब्रान्ड भ्यालुका कारण मानिसहरुको रोजाइमा टोयोटा पर्ने गरेको छ । जापानी कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेका टोयोटा कारका नयाँ मोडलहरुमा मानिसहरुको आकर्षण देखिन्छ । टोयोटाको प्राडो मोडलका कारहरुले कुल आम्दानीको ५३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । यस्तै कम्पनीले हाइलक्स मोडलका कारबाट २४ प्रतिशत र र्फोचुनरबाट १० प्रतिशत आम्दानी गरेको हो ।

कम्पनीले ९६ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ९६ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।