विदेशी विनिमय सञ्चितिमा ३२३ अर्ब थपियो, १२ महिनाको वस्तु आयातका लागि प्रयाप्त

0
Shares

आर्थिक वर्ष २०७९/०८० मा आयातलाई निरुत्साहन गर्ने नीति अबलम्बन गर्दा विदेशी विनिमय सञ्चितिमा उच्च सुधार आएको छ। गत आवमा बस्तु आयात १६ प्रतिशतले घटेपछि विदेशी सञ्चितिमा ३ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ बराबर थप भएको हो ।

गत आवमा सरकार तथा नेपाल राष्ट्र बैंकले केही वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । त्यसैगरी केन्द्रीय बैंकले कर्जा लगानी निरुत्साहित गर्न केही वस्तुहरुको जोखिम भार बढाएको थियो। त्यसले गर्दा पनि आयातमा कमी आएको हो । सरकार तथा केन्द्रीय बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाबलाई न्यूनिकरण गर्नका लागि आयात निरुत्साहित हुने नीति अबलम्बन गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । गत आवमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ ।

२०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको केन्द्रीय बै.कले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

२०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।