निजी क्षेत्रको कर्जा विस्तार लक्ष्यको ३० प्रतिशत मात्र 


आर्थिक वर्ष २०७९/८० निजी क्षेत्र तर्फको कर्जा विस्तार निकै न्यून भएको छ । आर्थिक गतिविधिमा सुस्तता, उच्च ब्याजदर तथा कर्जा लगानीमा गरिएको कडाइका कारण निजी क्षेत्रको कर्जा विस्तार ३.८ प्रतिशतमा सीमित भएको हो । 

केन्द्रीय बैंकले गत आर्थिक वर्षमा निजी क्षेत्र तर्फको कर्जा विस्तार १२.६ प्रतिशतले हुने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा निजी क्षेत्रको कर्जा विस्तार जम्मा ३.८ प्रतिशतले मात्र भएको राष्ट्र बैंकले जनाएको छ । गत आवमा निजी क्षेत्र तर्फ विस्तार भएको कर्जा लक्ष्य ३०.१५ प्रतिशत मात्र हो । अघिल्लो आवमा निजी क्षेत्र तर्फका कर्जा विस्तार १३.१ प्रतिशत रहेको थियो ।

विदेशी विनिमय सञ्चिति परेको दबाब कम गर्नका लागि लिएका नीतिहरूले आर्थिक गतिविधि नै सुस्त हुन पुग्यो । त्यसमा मूल्य वृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकले ब्याजदर बढाएपछि उच्च भएको ब्याजदरले पनि कर्जा विस्तार हुन सकेन । त्यसको नतिजा स्वरुप बजारको माग मै कमी आयो र आर्थिक गतिविधिमा सुस्तता देखियो ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । 

गत आवमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ । 

२०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ । 

गत आवमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ । 

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।