नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सीधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाण्डौंबाट दमाममा नियमित सीधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।उडान तालिकाअनुसार काठमाण्डौं –दमाम–काठमाण्डौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

काठमाण्डौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार तोकिएको छ । दमाम–काठमाण्डौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।
निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भदौ २०८०, आइतबार  ०७ : १० बजे