‘रिटेल इन्भेष्टर्स’मा पहुँच वृद्धि गर्ने हो भने म्युचुअल फन्डको अझ धेरै ठूलो बजार छः परमेश्वर पन्त

0
Shares

परमेश्वर पन्त, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल

हिमालयन क्यापिटलको स्थापनकालदेखि नेतृत्व लिएका परमेश्वरले पन्त बैंकिङ क्षेत्रबाट करिअर सुरु गरेका हुन् । करिब १४ वर्ष बैंकिङ क्षेत्रका बिताएका पन्तले पुँजी बजार रोजेको पनि ४ वर्ष बितिसकेको छ । हिमालयन क्यापिटलको प्रमुख कार्यकारी भएर पुँजी बजार प्रवेश गरेका पन्त अहिले सामुहिक लगानी कोषको पहिलो योजना निष्काशनको चटारोमा छन् । शैक्षिक रुपमा व्यवसयिक प्रशासनमा स्नोकात्तर गरेका पन्तसँग तत्कालिन बैंक अफ काठमाण्डू र कुमारी बैंकमा ट्रेजरी एण्ड फाइनान्सियल सहित विभिन्न विभागमा काम गरेको अनुभव छ । करिब डेढ दशक अघिको अवस्थामा बैंकिङ क्षेत्र जस्तो थियो अहिले पुँजी बजार पनि त्यहि अवस्थामा रहेको उनी बताउँछन् । ट्रेजरी र फाइनान्सियल मार्केटमा सिकेको अन्तर्राष्ट्रिय अभ्यासलाई क्यापिटल मार्केट सुधारमा प्रयोग गर्ने योजना उनको छ ।

आईपीओको अधिक आकर्षणले सामुहिक लगानी कोषको योजना बिक्री हुँदैन कि भन्ने जोखिम उत्तिकै रहेको बताउने पन्तले हिमालयन ८०–२० योजना रिटेल इन्भेष्टर्सलाई लक्षित गरेर ल्याएको हुनाले समस्या नहुने उनको बुझाई छ । संस्थागत लगानीकर्तामा मात्रै आधारित भएर म्युचुअल फन्डका इकाई बिक्री गर्दै जाने हो भने भोलिका दिनमा म्युचुअल फन्ड बिक्दै नबिक्ने स्थिति पनि आउन सक्ने जोखिम देखेका उनी रिटेल इन्भेष्टर्समा पुग्ने पहुँचलाई वृद्धि गर्नसके म्युचुअल फन्डको बजार अझै ठूलो रहेको उनको दृष्टिकोण छ । विगतमा पनि लगानी व्यवस्थापन गर्दै आएको हुनाले इकाईधनीलाई सक्दो धेरै प्रतिफल दिने योजना रहेको बताउने पन्तसँग नोटबजारका लागि टीआर पौड्यालले गरेको कुराकानी:-

‘हिमालयन ८०–२०’ को इकाई निष्काशन सुरु भएको छ, यो कस्तो फन्ड हो, लगानीकर्तालाई कसरी बुझाउन चाहनुहुन्छ ?

‘हिमालयन ८०–२०’ बन्दमुखी प्रकृतिको फन्ड हो । यसबाट एक अर्बको फन्ड संकलन गर्ने लक्ष्य छ । सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउने गरेर ‘हिमालयन ८०–२०’ डिजाइन गरेका छौं । हाम्रो चाहना धेरैभन्दा धेरै सर्वसाधारण लगानीकर्ता (रिटेल इन्भेटर्स) हरुलाई आबद्ध गराउने हो । यसो भयो भने फन्डको वास्तविक लक्ष्य पनि पूरा हुन्छ । आजको दिनमा म्युचुअल फन्ड बजारमा सर्वसाधारणभन्दा संस्थागत लगानीकर्ताको सहभागिता अलिकति बढी छ । तर सामुहिक लगानी कोषको लक्ष्य सधैँ आम लगानीकर्ता नै हुनुपर्छ । म्युचुअल फन्डका बारेमा धेरैले बुझ्न पाउनु भएको छैन, हामीले पनि ग्राहकमा पुगेर बुझाउन सकेका छैनौं । जसले लगानीकर्ताहरु आकर्षित भएको देखिँदैन । आईपीओ सेयरमा पोख्त भैसक्नु भएको छ, त्यहि अवस्था म्युचुअल फन्डमा भेट्दैनौं ।

‘हिमालयन ८०–२०’ म्युचुअल फन्ड डिजाइन गरेर बजारमा ल्याउन हामीले क्यापिटल स्थापनादेखि साढे तीन वर्ष मेहनत गरेका छौं । सुरुदेखि नै हामीले म्युचुअल फन्ड चाहिन्छ, भोलिका दिनमा गर्नुपर्ने काम हो भनेर प्राथमिकतामा राखेर काम गर्दै आइरहेका थियौं । ‘हिमालयन ८०–२०’ लाई सपोर्ट गर्नका लागि पहिलो दिनदेखि नै व्यक्तिगत तथा संस्थागत रुपमा लगानी व्यवस्थापनको काम गर्दै आइरहेका थियौं । सेयर बजारमा कारोबार गर्ने पोर्टफोलियो ग्राहकहरुका लागि सुरुदेखि नै प्रतिफल प्राप्त गर्नेगरी काम गर्दै आइरहेका छौं । त्यसको सिकाई तथा बजारबाट प्राप्त अनुभवलाई बृहत रुपमा ठूलो स्केलमा लैजानुपर्छ भनेर हामीले म्युचुअल फन्ड ल्याएका हौं । रिटेल इन्भेष्टर्सलाई मिल्ने खालको पोडक्ट डिजाइन गरेर निष्कासन गरेकाले धेरैभन्दा धेरै इन्भेष्टर्सहरु यस फन्डमा सहभागि हुनुहुन्छ भन्ने आशा हाम्रो छ ।

लगानी व्यवस्थापन सेवा प्रदान गरेको तीन वर्षको अनुभवमा बजार बढेको बेला बजारको वृद्धि अनुसार लगानीकर्तालाई प्रतिफल दिन र घटेको बेला लगानीकर्ताको पोर्टफोलियोमा धेरै नै कम नोक्सानी राख्न सफल भयौं । नेप्से बढे अनुसार रिर्टन दिन र घटेको बेला पनि सोही अनुसार घट्न नदिन सफल भएको हुनाले नै हिमालन क्यापिटलको पोर्टफोलियो ग्राहक आज पनि घटेका छैनन् । यसबीचमा ७०–८० करोडको पोर्टफोलियो व्यवस्थापन गरेका छौं । रेटिङ एजेन्सी इक्रा नेपालले हिमायन क्यापिटलको फन्ड म्यानेजरको रेटिङ गर्दा पनि त्यसलाई उल्लेख गरेको छ । सायद पहिलो पटक होला रेटिङ्ग डकुमेन्टमा लेखेर दिनु भएको छ । इक्राबाट ‘इक्रा एनपी एएमसी क्यालिटी ३’ रेटिङबाट पनि हाम्रो सफलतालाई देख्न सक्नुहुन्छ । यो हाम्रो लागि ‘प्लस पोइन्ट’ भएको छ ।

प्रिमियम मूल्यमा आईपीओसँगै म्युचुअल फन्डको इकाई बिक्रीमा ल्याउनु भएको छ, बजारबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

निष्कासन खुला भएको दिन बिहीबार दिनभरी मेरो सेयर र सि–आश्वाको प्रणालीमा समस्या देखियो । यसले गर्दा म्युचुअल फन्डमा मात्रै हाइन आईपीओमा पनि धेरै कम मात्र आवेदन परेको अवस्था छ । पहिलो दिन बिहीबार ४० लाख हाराहारीको आवेदन परेको छ । शुक्रबार बिहानसम्म ८ करोड हाराहारीमा आवेदन परिसकेको अवस्था छ । आइतबारसम्मको आवेदनका आधारमा फन्डको सर्वसाधारण लगानीकर्तामा हाम्रो फन्डको लोकप्रियता कति छ भन्ने अवस्था देखिएला । सँगै अर्को कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरिरहेकाले आईपीओको अधिक आकर्षणले फन्डमा कम आकर्षण हुने हो कि भन्ने डर पनि छ । तर बजारमा अन्य सार्वजनिक निष्कासन नभएको अवस्थामा फन्ड निष्कासन गर्दा पनि बिक्री नै हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन । यस्तै अन्य निष्कासनको बखत बिक्रीमा आउँदा पनि बिक्री हुने सम्भावना पनि उत्तिकै रहन पनि सक्छ । आईपीओ निष्कासन भएको बखत एक किसिमको लगानीको माहोल सिर्जना हुने भएकाले त्यसको सकारात्मक असर हामीलाई हुन्छ भन्ने विश्वास छ ।

अहिले बजारमा रहेका तीन दर्जन बन्दमुखी फन्डको तुलनामा यो फन्डमा फरक छ कि छैन ? छ भने कसरी ?

म्युचुअल फन्ड एउटा विशेष रणनीतिमा सञ्चालित हुने उपकरण हो । सबै फन्डहरुको आ–आफ्नै विशेषता र भिन्नता हुन्छ । फन्डले बजारमा कसरी कुन किसिमले लगानी गर्छ भन्ने रणनीतिले उसलाई मार्गदर्शन गरेको हुन्छ । म्युचुअल फन्डहरुले लगानी गर्ने उपकरहरु एउटै हुन् । सूचीकृत धितोपत्र, डिबेञ्चर/बन्ड, मुद्ती निक्षेपहरुमा नै लगानी गर्ने हो । उपकरणहरु एउटै भएपनि हरेक फन्डको रणनीति भने फरक–फरक हुन्छ । ‘हिमालयन ८०–२०’ लाई पनि हामीले भिन्न तबरले डिजाइन गरेका छौं । लगानी व्यवस्थापनदेखि साढे तीन वर्षमा कसरी लगानी गर्दा धेरै प्रतिफल निकाल्न सकिन्छ भनेर सिक्यौं । त्यो बजारबाट जे सिक्यौं त्यही सिकाईमा हामीले फन्डमा रुपान्तरण गरेका हौं ।

म्युचुअल फन्डले लगानी गर्दा उपकरण कसरी छनौट गर्ने, कुन उपकरण छनोट गर्ने, केमा लगानी गर्ने ? त्यसका लागि ‘हिमालयन इक्वीटी अप्टिमाइजर’ रणनीति विकास गरेका छौं । यसले सूचीकृत उपकरणहरुलाई ४० देखि ५० वटा प्यारामिटरमा विश्लेषण गरेर र्‍याकिङ दिन्छ । यसरी निर्धारण भएको र्‍याकिङका आधारमा हरेक क्षेत्रमा उच्चतम र्‍याकिङ प्राप्त गरेका स्टक छनोट गरिन्छ । ‘हिमालयन ८०–२०’ बाट संकलन हुने रकमको ८० प्रतिशत दीर्घकालीन र २० प्रतिशत अल्पकालीन लगानी गछौं । नियमित लाभांश वितरण गरेका, पुँजीगत लाभ हुने र रुपमा प्रतिफल दिनसक्ने खालका सेयर, ऋणपत्र, मुद्दती निक्षेप लगायतका उपकरणहरुमा दीर्घकालीन लगानी गछौं । बजारमा अल्पकालीन रुपमा आउने उतारचढावमा अधारित भएर २० प्रतिशत लगानी गछौं । गत वर्ष १८ सय देखि २२ सयको बीचमा दुई तीनचोटी नेप्से तलमाथि भयो । बजारमा हुने अल्पकालीन उतार चढावबाट प्रतिफल लिन तथा अल्फा जेनेरेट गर्न २० प्रतिशत रकम उपयोग गछौं । दीर्घकालीन र अल्पकालीन लगानीका समिश्रणबाट प्राप्त हुने कमाई इकाईधनीहरुलाई धेरै प्रतिफल दिनेगरी प्रडक्ट डिजाइन गरेका छौं । विगतमा धेरै पोर्टफोलियो यसरी नै व्यवस्थापन गरेर सफलता प्राप्त गरिसकेको हुनाले यस तरिकाले प्रतिफल दिन सक्छौं भन्ने विश्वास छ ।

वर्ष दिनयता निष्कासन भएको म्युचुअल फन्डका पूर्ण बिक्री भएका छैनन्, लाभांश सिजनमै सेयर बजार बढ्न सकेको छैन, इकाई बिक्री गर्न कतिको चुनौतिपूर्ण देख्नुभएको छ ?

आजको दिनमा म्युचुअल फन्डको इकाई बिक्रीमा त्यति सहज छैन, चुनौति छ भन्नेमा हामी पनि विश्वास गछौं । यसका दुई तीनवटा कारण छन् । एउटा कारण आम सर्वसाधारण लगानीकर्ताको उल्लेख्य सहभागिता नहुनु र अर्को इन्डष्ट्रिमा धेरै संस्थाहरुले इकाई निष्कासन गरिसक्नु भएको अवस्था छ । सीमित संस्थागत लगानीकर्ता हुँदा सबैले सबै फन्डका योजनामा लगानी गरिसकेको अवस्थामा छ ।

म्युचुअल फन्डको पोर्टफोलियो गह्रुङ्गो पनि हुन थालेको छ । यी कारणले पछिल्ला दिनमा निष्कासन भएका फन्डहरुले निष्काशित सबै इकाई बेचेर रकम संकलन गर्न सकेका छैनन् । हामीलाई पनि त्यो चुनौती छ । यद्यपी आम सर्वसाधारण लगानीकर्तामा पहुँच वृद्धि गराउने उदेश्यले प्रयास थालेका छौं । यो फन्ड हिमालयन बैंकले प्रवद्र्धन गरेको छ । सफलताको लामो इतिहास बोकेको हिमालन बैंकसँग धेरै पुराना र अथाह ग्राहक छन् । हिमालयन बैंकका धेरै ग्राहक माझ पुग्ने प्रयास गरेका छौं । म्युचुअल फन्डका बारेमा बुझाउने, लगानी गर्दा हुने फाइदा, कस्तो व्यक्तिले म्युचुअल फन्डमा लगानी गर्नुपर्छ भन्ने कुरा हामीले बुझाउन खोजेका छौं । दुई हप्तादेखि विभिन्न सामाजिक सञ्जाल मार्फत ग्राहकहरुलाई यसबारे चेतना दिइरहेका छौं । शुक्रबारसम्म साढे चार लाख ग्राहकहरुलाई सामुहिक लगानी कोषका बारेमा केही न केही जानकारी दिन सक्षम भएका छौं । हिमालयन बैंकले प्रवद्र्धन र हिमालयन क्यापिटलले निष्कासन गरेको पहिलो फन्ड भएकाले सबै इकाई बिक्री गर्न सकिन्छ भन्ने विश्वास छ ।

तीन दशक लामो इतिहास बोकेको हिमालयन बैंक र सहायक क्यापिटललाई पहिलो योजना सञ्चालनमा ल्याउन सामूहिक लगानी कोष नियमावली लागू भएको १३ वर्ष लाग्यो नी ?

हिमालयन क्यापिटल २०७६ भदौमा हिमालयन बैंकको शतप्रतिशत लगानीमा स्थापिना भएको हो । क्यापिटलको सञ्चालन नोभेम्बर २०१९ बाट मात्रै सुरु भएको हो । त्यस लगत्तै विश्वमहामारी कोरोना भाइरस संक्रमणको सिकार बन्नुपर्‍याे । जसले एक वर्ष बजारमा लक्ष्य अनुरुपको भूमिका निर्वाह गर्न सकेनौं । त्यसपछि निरन्तर काम गरिरहेका छौं । फन्ड सञ्चालनको स्वीकृति प्रकृया अनुसार सुरुमा सामुहिक लगानी कोष प्रवद्र्धक (फन्ड इस्पोन्सर) को र त्यसपछि कोष व्यवस्थापकको इजाजत पाउनुपर्ने हुन्छ । साथै योजना सञ्चालन अनुमतिका लागि पर्खनु पर्‍याे । इतिहास हेर्ने हो भने पनि पहिलो फन्ड बजारमा ल्याउनका लागि हरेक कोष व्यवस्थापकलाई कम्तिमा दुई देखि साढे दुई वर्षको समय लागेको छ ।

हामीले पनि त्यस्तै समयसीमाभित्र ल्याउन सफल भएका छौं । क्यापिटल स्थापना हुन नै समय लागेर कान्छो क्यापिटल हुँदा पनि समय लाग्यो । प्रारम्भिक स्वीकृति प्रकृया अलि बढी समय लाग्ने र बृहत हुने भएकाले समय लागेको जस्तो देखिएको हो । तुलनात्मक रुपमा त्यति धेरै समय लागेको छैन । अर्को कुरा म्युचुअल फन्ड व्यवस्थापनका लागि अनुभव पनि प्रयाप्त चाहिने हुन्छ । आज क्यापिटल स्थापना गरेर भोलि नै म्युचुअल फन्ड निकाल्न लाग्याैं भने सायद त्यस्ता व्यवस्थापकमा धेरै विश्वास हुँदैन । कसरी चलाउँछ भन्ने प्रश्न उठ्छ । अनुभव लिनका लागि पनि केही समय त लाग्दो नै रैछ । समग्रमा यस क्षेत्रमा हेर्ने हो भने केही ढिलाई भएपनि त्यति ढिला भएजस्तो लाग्दैन ।

बजारमा ७ खुल्लामुखी फन्डमा सञ्चालनमा आइसक्दा पनि किन बन्दमुखी मै जानुभयो ? खुलामुखी योजनामा जान सकिन्नथ्यो ?

म्युचुअल फन्डलाई अन्तर्राष्ट्रिय रुपमा विश्लेषण गरेर पनि हेर्‍याैं । म्युचुअल फन्डको इतिहास १७७२ मा नेदरल्याण्डबाट सुरु भएको देखिन्छ । अमेरिकामा पहिलो म्युचुअल फन्ड १८९० तिर निष्कासनमा आएको छ । आज विश्व बजारमा ६६ ट्रिलियन डलरको म्युचुअल फन्ड छ । त्यसमा ९० प्रतिशतभन्दा धेरै फन्ड खुलामुखी प्रकृतिका छन् । सुरुसुरुमा बजार विकासको क्रममा हुन्छ, त्यसबेला बन्दमुखी प्रकृतिका फन्डहरु निष्कासनमा आउँछन् । म्युचुअल फन्डकोे बजार जतिजति परिपक्क हुँदै जान्छन्, त्यहि अनुसार फन्डहरु खुलामुखी हुँदै जान्छन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि सुरुमा बन्दमुखीबाट सुरु हुने र विस्तारै खुलामुखी प्रकृतिको फन्डमा सिफ्ट भएको देखिन्छ । खुलामुखी प्रकृतिको फन्डमा जान बजारमा परिपक्कता, प्रयाप्त डेप्थ र तरलता पनि हुनुपर्‍याे, जसले खुलामुखी योजनालाई सपोर्ट गरोस् ।

नेपालमा ९० प्रतिशत फन्डहरु बन्दुमुखी प्रकृतिका नै छन्, खुलामुखी फन्ड एकदमै थोरै छन् । विगत एक दुई वर्षयता खुलामुखी प्रकृतिको फन्ड निष्कासन हुन थालेको छ । विकासको चरणमा नै भएकाले अहिलेको समयमा बन्दमुखी धेरै छ । सुरुवातमा बन्दमुखी प्रकृतिको फन्डबाट सुरु गरेपनि हाम्रो लक्ष्य धेरै बन्दमुखी प्रकृतिको फन्ड ल्याउने छैन । बढी ल्याए दुईवटा बन्दमुखी फन्ड ल्याउँछौं त्यसमा पनि भिन्न प्रकृतिको हुन्छ । यो फन्डमा जस्तै सेयरमा लगानी गर्ने रणनीति अनुसार अर्को फन्डमा लगानी गर्ने हो भने त्यो भिन्नता भएन । भिन्नता देखिनेगरी अर्को एउटा बन्दमुखी फन्ड ल्याउन सक्छौं तर हाम्रो प्राथमिकता पनि सकेसम्म दोस्रो फन्ड नै खुलामुखी ल्याउने भन्ने नै छ । हाम्रो रणनीत र छलफलहरुमा पनि खुलामुखी प्रकृतिमा जाने भन्ने नै प्राथमिकतामा छ ।

नेपाली बजारमा तीन दर्जन बढी सामुहिक लगानी कोषको उपस्थिति अपेक्षित हो ?

बजारका सबै सहभागिहरुले म्युचुअल फन्डलाई हेर्ने तरिका बदल्नैपर्ने जरुरी छ । म्युचुअल फन्ड यस्तो उपकरण हो जसले सेयर बजार स्थिरता सिर्जना गर्छ र सप्लाई पनि होल्ड गरेर बस्छ । यो दीर्घकालीन लगानीकर्ता पनि हो । म्युचुअल फन्डले चक्रवृद्धि रुपमा वृद्धि हुनेगरी दीर्घकालीन लगानी गर्ने हो । यस्तो खालका उपकरणहरु बजारमा भयो भने पुँजी बजारको वृद्धि र विकासका लागि धेरै नै सहयोग हुन्छ ।

भारतमा धेरै ठूलो म्युचुअल फन्डको बजार छ, सेयर बजार पनि धेरै विकसित र अगाडि छ । सेयर बजार आजको दिनसम्म ल्याउनमा म्युचुअल फन्डले केही न केही भूमिका खेलेकै छ । हाम्रो बजारमा पनि ५० अर्ब हाराहारीमा म्युचुअल फन्ड बिक्री भएको छ । तीनीहरुले सेयर बजारमा स्थिरता ल्याउन केही न केही सहयोग गरेको छ । तरलता सिर्जना गरेको छ । म्युचुअल फन्ड नहुँदो हो भने फन्डले गरेको ५० अर्ब बराबरको लगानी कसले गथ्र्यो त ? यसकारण हामी सबैले म्युचुअल फन्डलाई हेर्ने नजर फेर्न आवश्यक छ । हामी म्युचुअल फन्डको विकासको सुरुवाति चरणमा नै छौं, आजको दिनमा साढे ५८ लाख डिम्याट खाता रहेकोमा बहुसंख्यक खाता आईपीओमा लगानी गर्ने मात्र छ । वास्तविक रुपमा हेर्ने हो भने दश लाखभन्दा कम मात्र दोस्रो बजारमा कारोबार गर्ने गर्छन् । लगानीकर्ताको ठूलो हिस्सा अझै पनि दोस्रो बजार र म्युचुअल फन्डमा आएकै छैन । अहिले पनि मानिसहरुको सोच बैंकमा लगेर मुद्दती निक्षेपमा लगानी गर्ने भन्ने मात्रै छ ।

यसअघि परिपक्क भएका फन्डहरुको प्रतिफल हेर्ने हो भने ती म्युचुअल फन्डले मुद्दती निक्षेपको तुलनामा इकाईधनीलाई बढी प्रतिफल वितरण गरेका छन् । कुनै समयमा खुद प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) अंकित मूल्यभन्दा तल गएर प्रतिफल दिन नसकेको पनि होला । योजना अवधिभरमा समय हेर्ने हो भने म्युचुअल फन्डको प्रतिफलले मुद्दती निक्षेपमा पाइने ब्याजदरलाई उछिनेकै छ । यो चेतना हरेक सर्वसाधारणमा दिन सक्ने हो भने म्युचुअल फन्डको माग धेरै ठूलो देखिन्छ । यो त सुरुवाति चरण मात्र हो, धेरै ठूलो हुन्छ । पुँजी बजारको विकासमा म्युचुअल फन्डले महत्वपूर्ण भूमिका समेत निर्वाह गर्नेमा दुईमत छैन ।

आम लगानीकर्तामा फन्डले धितोपत्र बजारलाई सन्तुलित बनाउनुपर्ने काम नगरेको, बजारमा लगानी नगरी मुद्दतीमा राखेर ब्याज खाएको भन्ने आरोप लागाउँछन्, वास्तविकता के हो ?

सर्वप्रथम त के कुरा बुझ्न जरुरी छ भने म्युचुअल फन्डले पाएको पाँच प्रतिशतको आरक्षण कसको हो भन्नुपर्छ । यो फन्डले पाएको पाँच आरक्षण भनेको म्युचुअल फन्ड व्यवस्थापक वा प्रवद्र्धकको फाइदा होइन । जसले इकाई खरिद गरेको छ तीनै लगानीकर्ता वा इकाईधनीले नै आरक्षणको फाइदा पाउने हो । राज्यले म्युचुअल फन्डलाई आरक्षण दिएको होइन, म्युचुअल फन्डको इकाईमा लगानी गर्ने लगानीकर्तालाई दिएको हो । धेरैमा बुझाई के भयो भने म्युचुअल फन्डलाई दिएको आरक्षणका कारणले बजारमा स्थिरता आएन । फन्डले लगानी गर्दा पनि इकाईधनीको हितमा लगानी त गर्नेपर्‍याे । म्युचुअल फन्डले लगानी गर्दा आफ्नो मूल्य सीमा राखेर लगानी गरेको हुन्छ । यो उपकरणमा लगानी गर्दैछु, यो उपकारणको मुल्य यति भयो भने बिक्री गरेर त्यो रकम अर्को ठाउँमा लगाउँछु भन्ने रणनीति बनाएको हुन्छ । म्युचुअल फन्ड रणनीतिक आधारमा चलेको हुन्छ । कहिलेकाँही परिस्थिति यस्तो पनि आउन पनि सक्छ कि आरक्षणमा पाएको सेयर बेच्नुपर्ने । एउटा लगानीकर्ताको रुपमा यस्तो परिस्थितिमा म्युचुअल फन्ड पनि इकाईधनीको हितमा त काम गर्नेपर्ने हुन्छ । यसो भन्दै गर्दा म्युचुअल फन्डले आफ्नो सबै दायित्व पूरा नगरेको पनि हुनसक्छन्, कमीकमजोरी सबै पक्षमा हुन्छन् ।

अब हाम्रो बहस केमा हुनुपर्‍याे भने आरक्षणबाट आम सर्वसाधारण लगानीकर्तालाई म्युचुअल फन्डमा लगानी गर्न उत्प्रेरित गर्ने र सँगैसँगै म्युचुअल फन्डले गर्नुपर्ने काममा बहस चलाएर नियामक निकायले फन्डलाई नियमन गर्न पनि सक्छ । त्यो व्यवस्था अहिले पनि छ । आरक्षणलाई नकारात्मक रुपमा लिनुभन्दा पनि आरक्षणलाई बढाएर कसरी धेरैभन्दा धेरै सर्वसाधारणलाई म्युचुअल फन्डमा ल्याउनेतर्फ सोच्नुपर्छ । किनभने म्युचुअल फन्डले कालान्तरमा बजारमा स्थायित्व ल्याउन निकै ठूलो मद्दत गर्दछ ।

आजको दिनमा म्युचुअल फन्डको न्याभ जारी मूल्यभन्दा तल गएको छ भन्नुको मतलव यो हो कि म्युचुअल फन्डले सेयर होल्ड गरेर बसेको छ । बजार तल गएपछि म्युचुअल फन्डको न्याभ पनि तल गएको हो । फन्डले बजार घट्यो भने अधिकांश सेयर बिक्री गरेर मुद्दती निक्षेपमा लगानी गरेर बसेको भए अंकित मूल्यभन्दा तल न्याभ नजान पनि सक्थ्यो । त्यसैले न्याभ तल जानुको मतलव म्युचुअल फन्डले बजारलाई सपोर्ट दिएको भन्ने पुष्टि हुन्छ ।

इक्वीटी भन्दा सामुहिक लगानी कोषको इकाईमा आकर्षण कम हुनुको कारण के होला ?

म्युचुअल फन्डको छिमेकी मुलुक भारत वा अन्तर्राष्ट्रिय बजार विकासको क्रम हेर्ने हो भने पनि सुरुमा म्युचुअल फन्डको इकाईमा लगानी गर्ने धेरै संस्थागत लगानीकर्ताहरु नै रहेको पाइन्छ । बजारमा कति जना सर्वसाधारण लगानीकर्ताहरु सहभागि छन् भन्नेले पनि अर्थ राख्दछ । सर्वसाधारण लगानीकर्ताको सहभागिता धेरै नै कम छ । डिम्याट खाता धेरै खोलिएका पनि सबैजसो आईपीओ केन्द्रित छन् । आम लगानीकर्तामा जनचेतना नै कमी भएका कारण म्युचुअल फन्डका लगानीकर्ताको संख्यामा पनि कमी भएको हो । त्यसकारण संस्थागत लगानीकर्ता धेरै छन् ।

बजार सहभागिहरु सर्वसाधारण लगानीकर्ताको उपस्थिति बढाउन अब केन्द्रित हुनुपर्छ । कमीकमजोरीहरु विश्लेषण गरेर हेनुपर्‍याे । सर्वसाधारण लगानीकर्ता आइरहेका छैनन् भने यस्तो रणनीति बनाउनुपर्‍याे कि जसले धेरैभन्दा धेरै व्यक्ति समक्ष पुग्न सकियोस् । किन सर्वसाधारण लगानीकर्ताको उपस्थिति बलियो बनाउन सकिएन र रिटेल इन्भेष्टर्स ल्याउन के गर्नुपर्छ रणनीति बनाएर अघि बढ्नुपर्छ । यसो हुन सकेको खण्डमा आगामी पाँच वर्षभित्र संस्थागतभन्दा सर्वसाधारण लगानीकर्ताको संख्या उल्लेख्य रुपमा बढाउन सकिन्छ । संस्थागत लगानीकर्तामा मात्रै आधारित भएर म्युचुअल फन्डका इकाई बिक्री गर्दै जाने हो भने भोलिका दिनमा म्युचुअल फन्ड बिक्दै नबिक्ने स्थिति पनि आउन सक्छ । धेरै फन्डहरु पूर्ण आकारमा बिक्री हुन सकेका छैनन भने वियरिस मार्केटमा त अझै गाह्रो हुन्छ । रिटेल इन्भेष्टर्समा पुग्ने पहुँचलाई वृद्धि गर्ने हो भने अझै पनि म्युचुअल फन्डको बजार ठूलो छ ।

हामीकहाँ म्युचुअल फन्ड लिट्रेसी कम हुनुको कारक के होला, यसमा कसरी सुधार गर्न सकिन्छ ?

म्युचुअल फन्डको सम्बन्धमा जनचेतना बढाउनका लागि नियामक निकाय, बजारका सहभागिहरु, कोष प्रवद्र्धक सबैको सामुहिक प्रयास आवश्यक हुन्छ । हामीले यो बुझाउन सक्नुपर्‍याे कि सेयर बजार जोखिम बढी हुने भएकाले सबैले लगानी गर्न सक्दैनन् । सेयर बजारमा जोखिमका साथसाथै ठूलो पुँजीको आवश्यता हुन्छ, प्रयाप्त समय दिनुपर्ने हुन्छ, समयमा नै सेयर बजारलाई अनुगमन गर्न सकिएन भने जोखिम हुन्छ । म्युचुअल फन्ड यस्तो संस्थाले व्यवस्थापन गरेको हुन्छ जोसँग पेशागत तथा व्यवसायिक दक्षता हुन्छ । लामो समयदेखि सोही क्षेत्रमा अनुभव संगालेका विशेषज्ञहरुको समुह हुन्छ । लगानीकर्ताहरुबाछ सानोभन्दा सानो पुँजी संकलन गरेर इकाई खरिद मार्फत दोस्रो बजारमा लगानी गर्न सक्नुहुन्छ ।

म्युचुअल फन्ड लिट्रेसी बढाउन सबैले एकबद्ध भएर प्रचार प्रसार गरेर सचेतना दिनुपर्ने आज ठूलो आवश्यकता छ । कोष व्यवस्थापक, बजार सहभागि सबैले यो महसुस गर्नुभएको नै छ । म्युचुअल फन्डमा लगानी बढाउनका लागि एक दशक अगाडि भारतमा एकदमै ठूलो प्रचार प्रसार सुरु गरिएको थियो । कुनै एउटा म्युचुअल फन्ड किन भन्नेभन्दा म्युचुअल फन्डमा लगानी सुरक्षित र जोखिममुक्त हुन्छ भनेर प्रचार गरियो । त्यहि प्रचारका कारण आज भारतमा धेरै सर्वसाधारण लगानीकर्ताहरुले म्युचुअल फन्डमा लगानी गरेको भेटिन्छ । नेपालकै हकमा दश वर्षअघि जीवन बीमालेख खरिद गर्ने व्यक्ति एकदमै न्यून थिए । सरकारले जीवन बीमालेख खरिद गर्ने व्यक्तिलाई करमा छुट दिएपछि व्यवसायिक करदाताहरुलाई पोलिसी खरिद गर्न प्रोत्साहित ग¥यो । त्यसैले आजको दिनमा लाइफ इन्स्योरेन्स बीमालेखको ‘पेनिट्रेसन’ राम्रो छ । यस्तो किसिमका स्किम ल्याएर भएपनि म्युचुअल फन्डलाई सर्वसाधारण लगानीकर्तामा प्रवद्र्धन गर्नुपर्छ ।

प्रत्यक्ष रुपमा दोस्रो बजारमा गरिने कारोबार र म्युचुअल फन्डमा गरिने लगानी कुन सुरक्षित हुन्छ, कसरी ?

हेर्नुहोस्, कहाँ लगानी गर्दा सुरक्षित हुन्छ भन्ने कुरा विषयगत कुरा भयो । एक जनालाई सुरक्षित लाग्ने अर्को व्यक्तिलाई सुरक्षित नलाग्न पनि सक्छ । यसलाई तुलनात्मक रुपमा हेर्नुपर्छ । आजको दिनमा मुद्दती निक्षेमा मात्रै लगानी गरिरहेको लगानीकर्ताका लागि सेयर बजारको लगानी जोखिमपूर्ण हुनछ । यदि सेयर बजारमा लगानी गरिरहेको लगानीकर्ता हो भने उसलाई म्युचुअल फन्ड र सेयर बजारको लगानी जोखियुक्त नलाग्न सक्छ । व्यक्तिगत लगानीकर्ताले आफ्नो जोखिम क्षमताका हिसाबले परिभाषित गर्ने कुरा रह्यो । कतिको जोखिम हो भनेर ?

म्युचुअल फन्डले गर्ने सबै लगानी सेयर बजारमा मात्र हुँदैन, मुद्दती निक्षेप, ऋणपत्र लगायतका अन्य उपकरणहरुमा पनि हुन्छ । त्यसकारण प्रत्यक्ष रुपमा दोस्रो बजारमा लगानी गर्दा जति जोखिम निम्त्याउन सक्छ, त्यसभन्दा म्युचुअल फन्डमा कम जोखिम हुन्छ । अनुभवी र विशेषज्ञता हासिल गरेका व्यक्तिहरुबाट म्युचुअल फन्डको व्यवस्थापन हुने हुँदा व्यक्तिगत लगानीको हिसाबले कम जोखिमपूर्ण मान्न सकिन्छ । यद्यपी म्युचुअल फन्डले पनि सूचीकृत कम्पनीको सेयरमा नै धेरै लगानी हुने हुँदा यसमा पनि जोखिम नै छैन भन्न चाँही सकिन्न ।

जोखिम र प्रतिफलका आधारमा म्युचुअल फन्डको प्रकृति कत्तिको महत्वपूर्ण हुन्छ ?

एकदमै महत्वपूण हुन्छ । आफ्नो जोखिलाई विविधिकरण गर्नुपर्छ भनेर हामीले सानैदेखि पढ्दै आएका छौं । कुनैपनि लगानीकर्ताले एउटा मात्रै क्षेत्रमा लगानी गर्दा भोलि त्यस क्षेत्रमा समस्या आउँदा सबै लगानी डुब्नसक्ने सम्भावना पनि हुनक्छ । त्यसलै जोखिम र प्रतिफललाई विविधिकरण गर्नलाई धेरैभन्दा धेरै राम्रो उपकरणमा लगानी ग¥यो भने त्यसले प्रतिफल पनि राम्रो दिन्छ भने जोखिमलाई पनि न्यूनिकरण गर्न सघाउ पुग्छ ।
म्युचुअल फन्डले अझै सन्तुलित हिसाबले लगानी गर्ने हुँदा समग्र जोखिम सहनशिलतालाई व्यवस्थापन गर्नका लागि एकदमै उपयुक्त उपकरण मानिन्छ ।

पुँजी बजामा सीमित लगानीका उपकरणहरु भएको अवस्थामा यसको विविधिकरणलाई कतिको जरुरी देख्नुहुन्छ ?

समय क्रमसँगै लगानीका उपकरणहरु विविधिकरण हुँदै जान आवश्यक देखिन्छ नै । तर नेपालको बजार अझैपनि विकासकै चरणमा छ । नयाँ–नयाँ उपकरण निकाल्न ज्ञान, अनुभव सबै भएको व्यक्तिहरु रहेकाले नसक्ने अवस्था भने छैन । उहाँहरुले विविधिकरण गरेर धेरै नयाँ नयाँ उपकरणहरु निकाल्न सक्नुहुन्छ । अर्को पाटो के पनि हेर्नुपर्छ भने हाम्रो लगानीकर्ता कुन स्टेजमा हुनुहुन्छ ? लगानीकर्ताहरुमा कति ज्ञान छ वा शिक्षित छन् त ? आज म्युचुअल फन्डका बारेमा नै आम लगानीकर्तालाई बुझाउन सकिरहेको अवस्था छैनौं । यस्तो बेलामा विविधिकरणका नाममा जटिल प्रकृतिका उपकरणहरु बजारमा ल्याइयो भने त्यसले भोलिका दिनमा राम्रो नतिजा नदिन पनि सक्छ । यो विस्तारै विकास हुँदै जान्छ । आजका दिनमा नेपाल धितोपत्र बोर्डले सरकारी ऋणपत्र, सूचीकृत कम्पनी, सूचीकृत कम्पनीका ऋणपत्र/बन्ड, मुद्दती निक्षेप, मनि मार्केट जस्ता उपकरणहरुमा लगानी गर्न दिएको छ । त्यसमा आधारि भएर करिब ५० अर्बको म्युचुअल फन्ड बिक्री भैसकेको पनि छ ।

विविधिकरण हुँदै गयो भने भोलिका दिनमा क्षेत्रगत म्युचुअल फन्ड आउन सक्छ । रियल स्टेट मार्केटमा मात्रै कारोबार गर्न सक्ला, रियल स्टेट सेक्टरका संस्था सेयर बजारमा सूचीकृत हुन सक्छन् । यस्तै उत्पादनमुलक क्षेत्रमा मात्रै केन्द्रित भएर पनि म्युचुअल फन्ड आउलान् । सरकार र नियामक निकायले अबलम्बन गरको नीतिले धेरैभन्दा धेरै संस्थालाई सेयर बजारमा आउन प्रोत्साहन गरेको छ । भोलिका दिनमा डेप्थ बढ्दै गयो भने विभिन्न तरिकाले म्युचुअल फन्डलाई विविधिकरण गरेर निष्कासन गर्न सकिन्छ । बजारको र लगानीकर्ताका वृद्धि सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

छिमेकी मुलुक र नेपालको म्युचुअल फन्डको बजारलाई कसरी तुलना गर्नुहुन्छ ?

भारतको म्युचुअल फन्डको बजार हे¥यो भने अन्तर्राष्ट्रिय बजारमा विकास भए जसरी नै विकास छ । खुलामुखी योजनाको रुपमा धेरै ठू–ठूला फन्डहरु सञ्चालनमा आइरहेका छन् । केही अगाडि भारतीय बजारमा म्युचुअल फन्डमा संकट आउँदा त्यहाँको केन्द्रीय बैंक आरबिआई नै सहयोग ग¥यो । भारतीय बजारमा म्युचुअल फन्ड यस्तो भैसकको छ कि यसले वित्तीय क्षेत्रकै स्थायित्वलाई व्यवस्थापन गर्ने हिसाबले अगाडि बढिसकेको छ । त्यति महत्वपूर्ण भैसकेको छ । नेपालमा ५० अर्बजति म्युचुअल फन्ड निष्कासन भएपनि सुरुवाति चरणमै छौं । नेपालमा म्युचुअल फन्डको आकार त्यति ठूलो भैसकेको छैन जसले गर्दा समग्र वित्तीय क्षेत्रमा नै भूमिका निर्वाह गरोस् । भोलिका दिनमा म्युचुअल फन्डको आकार बढ्दै जाँदा भारतीय बजारकै अवस्थामा पुग्न सक्छौं । आजभन्दा १०–१५ वर्षअघि भारतमा जुन हिसाबले म्युचुअल फन्डको मार्केट विस्तार हुँदै थियो नेपालको अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ । हामी त्यहि स्तरमा छौं । म्युचुअल फन्डको विकासक्रम, स्किम, लगानीका तरिका हेर्दा भारतभन्दा नेपाल करिब २० वर्ष नै पछाडि छ । नेपालमा सुरुवाति चरणमा भएकाले पनि यसको बजार विस्तारै विकास भैरहेको छ । यसमा वास्तविक वृद्धि आउन बाँकी नै छ ।

फरक-फरक उपकरणमा केन्द्रित भएर योजना आईरहेका छन् । तपाईहरुले लगानीका क्षेत्रमा केलाई प्राथमिकतामा राख्नु भएको छ ? कहाँ–कहाँ लगानी गरिन्छ ?

मुख्यतः योजना बिक्रीबाट प्राप्त हुने अधिकांश लगानी नेप्सेमा सूचीकृत धितोपत्रहरु सेयर, ऋणपत्र÷बन्डमा नै गछौं । हिमालयन क्यापिटलले केही वर्षदेखि डिबेञ्चरको कारोबार पनि गरिरहेको छ । पहिलो प्राथमिकता भनेको इक्वीटी ओरियन्टेड नै हो । धरैभन्दा धेरै लगानी इक्वीटी सेक्यूरिटीजमा नै हुन्छ । स्टक बाहेक बाहेक केही लगानी डिबेञ्चर र बन्डमा गछौं । यसमा कुपन रेट पाइन्छ । बैंकिङ्ग प्रणालीमा ब्याजदर बढेको बेला डिबेञ्चर डिस्काउन्टमा बिक्री भैरहेको हुन्छ भने ब्याजदर घटेको बेला प्रिमियम मूल्यमा बिक्री भैरहेको हुन्छ । केही लगानी मुद्दती निक्षेपमा पनि गछौं । सरकारी ऋणपत्रहरुले भोलिका दिनमा राम्रो प्रतिफल दिए त्यसमा पनि लगानी गर्ने सोच बनाएका छौं । यी चार वटा उपकारणहरुमा लगानी मिश्रीत गरिन्छ ।

लगानीको रणनीतिको कुरा गर्दा हामी पूर्णतः तथ्याङ्कमा आधारित लगानी गछौं । योजना व्यवस्थापक वा संस्थाको व्यक्तिगत धारणामा आधारित भएर लगानी हुँदैन । ‘हिमालयन इक्वीटी अप्टिमाइजर स्ट्राटिजी’ ले तथ्याङ्कमा आधारित रहेर स्टक छनोट गरिदिन्छ । यसरी छनोट भएर आएका स्टकमा कसरी, कति लगानी गर्ने भन्ने बृहत छलफलका आधारमा तय हुन्छ । यसका लागि लगानी व्यवस्थापन समिति, जोखिम व्यवस्थापन समिति, कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र इन्भेष्टमेन्ट बैंकिङ्ग विभागमा छलफल गरी रणनीतिक बनाएर सोही आधारमा लगानी गछौं । फन्ड बिक्रीबट आउने ८० प्रतिशत लगानी दीर्घकालीन रुपमा गछौं जसले भोलिका दिनमा चक्रिय वृद्धि दिओस् । बाँकी २० प्रतिशत लगानी अल्पकालीन कारोबारका हिसाबले उपयोग गरिन्छ । यसले छोटो समयमा बजारमा आउने उतार चढावबाट बढीभन्दा बढी प्रतिफल निकाल्न सकौं र फन्डको न्याभलाई पनि सन्तुलित गर्न सकोस् ।

अन्त्यमा ‘हिमालयन ८०–२०’ को अवधि समाप्त हुँदा लगानीकर्ताले कति प्रतिफल पाउँछन्, कति अपेक्षा गर्ने ?

प्रक्षेपणका आधारहरुमा सेयर बजारलाई लामो समय विश्लेषण गरेर हेर्दा कर्जा विस्तार, बजारमा तरलताको अवस्था, अर्थतन्त्रको चक्र, आयात निर्यातको अवस्था जस्ता कुराहरुले बजारलाई प्रभाव पारिरहेको हुन्छ । यस्तै योजनाको अवधि दश वर्षमा बजारमा कतिवटा बुलिस र कति वटा वियरिस चक्र आउलान्, पछिल्लो दश वर्षमा बजार कसरी सञ्चालन भएको छ त्यसलाई आधार लिएर विश्लेषण गरिएको छ ।

धेरै चरहरुलाई आधार लिएर प्रतिफल वितरणको योजना बनाएका छौं । प्रक्षेपण आफैँमा लिइएको पूर्वधारणाहरुमा निर्भर हुन्छ । त्यसैले गरिएका परिकल्पनाहरुलाई पूरा गर्न सक्यौं भने कम्तिमा वार्षिक २० प्रतिशत प्रतिफल दिनसक्छौं भन्ने आंकलन छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।