चीनलाई कमजोर बनाउन अमेरिका, जापान र दक्षिण कोरियाको एलायन्स

0
Shares

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई कमजोर बनाउन अमेरिकाले जापान र दक्षिणकोरियासँग मिलेर एलायन्स निर्माण गरेको छ । क्याम्प डेबिड प्रेसिडेन्सीयल समीटमा भेट भएका अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा र दक्षिण कोरियाका राष्ट्रपति यून–सूक–योलले त्रि–पक्षीय सम्झौता गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको कहरबाट आफूलाई बलियो बनाउँदै गरेको चीनद्धारा निर्मित चीपको आयातमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । यस्तै रुस–युक्रेन युद्धलाई रोक्नुभन्दा पनि व्यापारिक सम्बन्ध विस्तार गरी युद्धलाई बढावा दिएको आरोप अमेरिकाले चीनलाई लगाउँदै आएको छ । जसकारण अमेरिकासँग एलायन्स भएका राष्ट्रहरुले समेत चीनसँगको व्यापार कम गर्दै गएका छन् । जसकारण उत्पादन अनुसारको वस्तुको माग नहुँदा चिनियाँ अर्थतन्त्र समस्यामा परेको छ ।

अमेरिकाकै पथ पच्छाउँदै जापानले समेतले चीनले उत्पादन गरेको एड्भान्स चीप आयातमा प्रतिबन्ध लगाएको छ । एड्भान्स चीपको प्रयोग गरी चीनले विभिन्न देशको सैन्य व्यवस्थाको निगरानी गरिरहेको विषय केही समय अगाडि चर्चामा आएको थियो । यसै घटनाका कारण चीनले उत्पादन गरेका चीपको आयातमा एकाध देशले प्रतिबन्ध लगाएका छन् ।

चीनसँग राम्रो व्यापारिक सम्बन्ध रहेको दक्षिण कोरियाले चीनमा कुनै प्रतिबन्ध नलगाउने घोषणा गरेको छ । तथापि चीनले ताइवानमा हमला गर्न खोज्दा दक्षिण कोरिया चुप नबस्ने र कुनै पनि देशसँग अर्को देशको सार्वभौमिकता माथि धावा बोल्ने अधिकार नभएको दक्षिण कोरियाका राष्ट्रपतिले बताए । यसरी चीनलाई कमजोर बनाउनकै लागि अमेरिका, जापान र दक्षिण कोरियाबीच सम्झौता भएको देखिन्छ । तथापि यो सम्झौता चीनलाई कमजोर बनाउनका लागि मात्रै नभई ३ देशको सम्बन्ध बलियो बनाउनका लागि एलायन्स निर्माण भएको विश्वास गरिएको छ ।

यो सम्झौताले अमेरिका, जापान र दक्षिण कोरियालाई सुरक्षा प्रदान गर्ने मात्रै नभई सुरक्षा संकट परेको समयमा समेत एकजुट हुन सहयोग गर्ने विश्वास लिइएको छ । हाल उत्तर कोरियाले न्युक्लियर मिसाइल छोड्ने धम्की दिइरहेको छ भने रुसले युक्रेनमा आक्रमण सुरु गरेको छ । अर्कोतिर चीनले ताइवानमा हमला गर्छ भन्ने खतरा समेत बढिरहेको छ । जसकारण कानुनको शासन (रुल अफ ल)मा आधारित स्वतन्त्र र खुल्ला अन्तराष्ट्रिय व्यवस्था संकटमा परेको जापानी प्रधानमन्त्री फुमियो किसिदाको धारणा रहेको छ । यो समयमा ३ देशबीचको सहकार्य तथा सम्झौताले शान्ति सुरक्षा कायम गर्न ठूलो भूमिका खेल्ने विज्ञहरुको भनाइ रहेको छ ।

यी तीन देशबीच भएको त्रि–पक्षीय सम्झौताले शान्ति, सुरक्षाको बलियो संयन्त्र तयार हुनुका साथै कुटनीति, प्रविधि, शिक्षा र व्यापारको विकास तथा प्रवद्र्धन हुने ह्वाइट हाउसले जानकारी गराएको छ । यो सम्झौता तीन राष्ट्रबीच आर्थिक, प्राविधिक, सर्वव्यापी एवं दिगोविकास गर्नका लागि आवश्यक सहकार्यको दरिलो खम्बा हुने तीनै देशका प्रमुखहरुको भनाइ रहेको छ । दिन प्रति दिन, महिना प्रति महिना र वर्ष प्रति वर्ष गर्दै यस सम्झौताको प्रतिफल दीर्घकालमा फलदायी हुने जो बाइडेन, फुमियो किसिदा र यून–सूक–योलको धारणा रहेको छ ।

क्याम्प डेभिड समीटमा गरिएको यस सम्झौताले दक्षिण कोरिया र जापानको सम्बन्धमा प्रगाढता ल्याउन क्याटलिस्टको भूमिका खेल्ने विश्वास गरिएको छ । तथापि यसरी चरम वामपन्थी विचारधारा राख्ने दक्षिण कोरिया, डेमोक्रेटिक अमेरिका र चरम दक्षिणपन्थी जापानबीचको सम्झौता कति समयसम्म रहला भन्ने यकीन गर्न सकिँदैन । सन् २०२४ मा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै छ।

उक्त समयमा अमेरिकाको राष्ट्रपति कुन पार्टीको हुन्छ भन्ने विषयका आधारमा त्रि–पक्षीय सम्झौताको आयु मपन गर्न सकिन्छ । राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको पदाधिकारिले चुनाव जितेमा एलायन्सले निर्धारण गरेको साझा मूल्य मान्यता, बहुलता कायम रहने तर रिपब्लिकन पार्टीले जितेको खन्डमा यस सम्झौताको मानचित्र मेटिने शंका समेत उत्पन्न भएको छ ।

यो तीन पक्षीय सम्झौता सिमित एजेन्डा सफल पार्न मात्रै नभई दीर्घकालीन र स्थिर भएमा मात्रै विश्वव्यापी रुपमा विश्वसनीय मानिने टोक्यो विश्वविद्यालयका सह–प्रध्यापक र्यो हिनाता–यामागुचीको धारणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।