कालिमाटीमा प्याज आयात रोकियो, अन्य तरकारीको भाउ ७५ प्रतिशतसम्म वृद्धि


कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको आयात रोकिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेकोले आयात रोकिएको बताए ।

व्यापारीहरुले प्याज नल्याएको उनको भनाइ छ । भारतले भदौ २ गतेदेखि आन्तरिक बजारमा प्याजको मूल्य बढको भन्दै भन्सार कर बढाइएको थियो । ‘हिजो अस्ति ल्याएको प्याज सकियो आज आयात भएको छैन त्यसैले आज यहाँ प्याजको कारोबार गरिएको छैन’, उनले भने ।

भारतले भन्सार कर लगाएको दिन अर्थात् शनिबार ८४ हजार ५६८ केजी सुकेको प्याज आयात भएको थियो । त्यसको भोलीपल्ट अर्थात् आइतबार ४७ हजार किलो प्याज आयात भएको थियो । हिजो सोमबार र आज मंगलबार प्याज आयात नभएको समितिले जनाएको छ ।
सोमबार आइतबारको आयातले धानेको भन्दै उनले आज प्याजको कारोबार नभएको बताए । नेपाली उत्पादन कालीमाटीसम्म नपुगेको र भन्सार कर लगाएको भन्दै भारतबाट प्याज नआएकोले कालिमाटीमा प्याज नभएको श्रेष्ठले बताए ।

अन्य तरकारीको भाउ पनि बढ्यो

प्रायः जसो भदौ, असोज र कात्तिकमा तरकारीको भाउ बढ्ने गर्दछ । चाडपर्व पनि यसै महिनामा धेरै हुने हुँदा माग बढ्दै जान्छ । उता वर्षाले यसै समयमा तरकारी नष्ट गरिरहेको हुन्छ । माग बढ्ने र उत्पालन कम हुने हुँदा तरकारीको भाउ बढ्छ ।

१५ दिनको अवधिमा तरकारीको भाउ ७५ प्रतिशतसम्म महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन २० गते ८६ रुपैयाँका कारोबार भएको ब्रो काउली आज भदौ ५ गतेसम्म आइपुग्दा १५६ रुपैयाँसम्म पुगेको छ । १५ दिनको अवधिमा ब्रो काउली ४४ प्रतिशत वृद्धि भएको छ । यस्तै प्रतिकेजी २८ रुपैयाँमा थोकमा कारोबार भएको घिउसिमी अहिले ११० रुपैयाँसम्म पुगेको छ । घिउसिमी ७४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै साउन १६ गते ४५ रुपैयाँमा थोकमा कारोबार भएको तनेबोडी अहिले ११० रुपैयाँ थोकमै पुगेको छ । यस्तै सो अवधिमा सेतो मुला ३७ मा कारोबार भएकोमा अहिले बढेर ७६ रुपैयाँ पुगेको छ । यस्तै १६५ रुपैयाँमा कारोबार भएको जिरीको साग अहिले ३५० रुपैयाँसम्म पुगेको छ । यता ६५ रुपैयाँमा कारोबार भएको स्थानिय काउली अहिले ८० रुपैयाँसम्म किनबेच भइरहेको छ ।

मंगलबार कुन तरकारीको भाउ कति छ ?

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १२० रुपैयाँ, टनेल गोलभेडा सानो ७०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ७०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, तीतो करेला ८०, ब्रोकाउली १४०, कागती १६०, भिण्डी ८०, निगुरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २२०, चाइनिज लसुन २५०, लसुन हरियो १८० रुपैयाँका कारोबार भइरहेको छ । यता तोफु ११०, पिँडालु ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

यता फलफूलहरुमा केरा दर्जनको १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रुख कटहर ५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ६०, फुजी स्याउ ३५०, मौसम १४०, जुनार ३२०, रुपैयाँमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ५ भदौ २०८०, मंगलबार  ०९ : ४९ बजे