थाई एयरवेजले नेपाल उडान सुरु गर्दै, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त


थाई एयरवेजले नेपाल उडान सुरु गर्दै, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त

बैंककमा मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले नेपालमा उडान सुरु गर्ने भएको छ । कोभिड महामारीका कारण सन् २०२० को अप्रिलदेखि नेपालको उडान स्थगित गरेको एयरलाइन्सले आगामी नाभेम्बरदेखि पुनः उडान सुरु गर्न लागेको हो ।

नेपालमा नियमित व्यसायिक उडान सुरु गर्न लागेसँगै थाई एयरवेजले नेपालको अग्रणी एयरलाइन जि. एस. ए. एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ ।
सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ ।

यस साझेदारी मार्फत, थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्न लागेको हो । सन् १९६८ को डिसेम्बरमा थाइ एयरवेजले नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थियो ।

थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्ने जनाएको छ ।

थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पून सञ्चालनमा आएको प्रति खुसी व्यक्त गगरेका छन् । “थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्यहरू जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरुलाई समेत अभिवृद्धि गर्नेछ भन्ने थाइ एयरवेज विश्वस्त,” उनले भनेका छन् ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाई एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुनेमा पनि एयरवेज विश्वस्त छ ।

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई एयरवेज इन्टरनेशनलको नेपालका लागि जि.एस.ए नियुक्त भइ काम गर्न पाउँदा हर्षित र सम्मानित भएको बताए । “हाम्रो नियुक्ती सोसाइटी इन्टरनेशनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास सहितको स्थिानिय विशेषताको प्रतिबिम्ब हो भन्नेमा हामी विश्वस्त छौँ । सन् १९६८ देखि नेपालमा उडान सञ्चालनको आफ्नो गौरवशाली इतिहासको साथ, थाई एयरवेजले नेपाली जनताको हृदयमा विशेष स्थान राखेको छ र यसले नेपाली जनतालाई ‘भ्याकेसन’ र ‘अन–बोर्ड सरभिस’ को अवधारणा परिचय गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।