ब्रिक्स राष्ट्रहरुको सम्मेलन सुरु, साझा मुद्रा निर्माणको विषयमा छलफल

0
Shares

विश्वका उदीयमान राष्ट्र– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका एकीकृत भई निर्माण गरेको ब्रिक्स एलायन्सको सम्मेलन सुरु भएको छ । दक्षिण अफ्रिकाको जोहान्नेसबर्ग सहरमा सुरु भएको सम्मेलनको मुख्य एजेन्डा नै ब्रिक्स राष्ट्रहरुबीचको व्यापारका लागि साझा मुद्राको निर्माण गर्नु रहेको छ ।

अन्तराष्ट्रिय व्यापारमा एकाधिकार जमाएको डलरको विकल्पमा नयाँ मुद्रा विकास गर्ने तयारीमा रहेका ब्रिक्स राष्ट्रहरुले सन् २०३० सम्ममा स्वीफ्ट पेमेन्ट प्रणालीलाई नै बाइपास गर्न मिल्ने गरी काम अगाडि बढाएका छन् । डलरको प्रयोग कम गर्दै हाल भारत, चीन र रुसले आफ्नो राष्ट्रिय मुद्रामा नै खरिद बिक्री गरिरहेका छन् ।

हाल भारत, चीन र रुसले क्रस–बोर्डर भुक्तानीका लागि डिजिटल करेन्सी समेत प्रयोग गर्दै आएका छन् । तथापि ब्राजिल र दक्षिण अफ्रिकाले डिजिटल करेनसी विकासका लागि आवश्यक पर्ने प्रविधिको विकास नगरेका कारण ब्रिक्स अन्तर्गतका राष्ट्रहरु चाहाना नहुँदा नहुँदै पनि डलर र युरोमा भुक्तानी गर्न बाध्य भएका छन्।

अन्तराष्ट्रिय व्यापारमा डलर र युरो चर्चित मुदाहरु हुन् । युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुले युरोमा कारोबार गर्दै आएका छन् । यद्यपि विश्वका अधिकांश देशहरुले डलरमा नै कारोबार गर्ने गरेका छन् । जसकारण अन्तराष्ट्रिय बजारमा डलरको बर्चस्व बढ्दै गएको छ । गत वर्षको मार्च महिनादेखि अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदर बढाउँदा डलर बलियो हुँदै गएको छ भने अन्य देशका मुद्राहरु डलरको विरुद्ध कमजोर रहेका छन् ।

डलरको वर्चस्व हटाउनका लागि ब्रिक्स अन्तर्गतका राष्ट्रहरुले डलरको विकल्प स्वरुप नयाँ मुद्राको विकासका लागि काम गरिरहेका छन् । हाल उनीहरुले सो मुदाको नाम आर५ राखेका छन् । चीनको मुद्रा रेन्मीनबी, रुसको रुबल, भारतको रुपैयाँ, ब्राजिलको रियल र दक्षिण अफ्रिकाको ¥यान्ड रहेको छ । ब्रिक्स अनतर्गतका देशहरुको मुद्रा आरबाट सुरु हुनेभएकाले, यी देशहरुले आर५ नामक साझा मुद्रा विकास गर्ने भएका हुन् ।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा र रुसका परराष्ट्र मन्त्री सेर्जे लेभरवले साझा मुद्राको विकासलाई तीव्रताका साथ अघि बढाउनु पर्ने जनाएका छन् । तथापि भारतका परराष्ट्रमन्त्री एस जयशङ्करले वर्तमान अवस्थामा ब्रिक्स राष्ट्रहरुले आफ्नो स्वदेशी मुदामै व्यापारलाई बढाउनु पर्ने धारणा राखेका छन् ।

अन्तराष्ट्रिय व्यापारमा डलरको एकाधिकार हुँदा हाल चीन, रुस लगायतका देशहरुले अमेरिकाले लगाएका प्रतिबन्ध बाध्यतापूर्वक भोग्न बाध्य भएका छन् । ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्राको विकास गरेमा यी देशहरुले बाध्यतापूर्वक अमेरिका, युरोपले लगाएका प्रतिबन्ध भोग्नु पर्ने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।