आईपीओ निष्कासनको बाढीः २२.३८ अर्बको निष्कासन हुँदा अझै ३ करोड कित्ता पाइपलाइनमा

0
Shares

एकैपटक नयाँ सेयर निष्कासनको बाढी आउँदा धितोपत्रको दोस्रो बजार समेत प्रभावित भैरहेको छ । लाभांश सिजनमा नै सेयर बजार उकालो लाग्न सकेको छैन । बढ्दा दुई दिन लगाएर वृद्धि भएको बजार घट्दा एकैदिनमा घट्न थालेको छ । यसले सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश ठप्प प्रायः छ भने पुराना लगानीकर्ता पोर्टफोलियोमा ३० देखि ६० प्रतिशतसम्म घाटा ब्यहोरेर बस्न बाध्य छन् । यस्तो अवस्थामा प्रथामिक बजारमा भने सार्वजनिक निष्कासनको आपूर्ति उच्च देखिएको छ ।

उच्च चुक्ता पुँजी वृद्धिका कारण सूचीकृत सबै कम्पनीको लाभांश क्षमता घट्दै गइरहेको छ । प्रवाहित कर्जा असुली नुहँदा बैंकहरुको लाभांश क्षमता ह्वात्तै घटेको छ । यस्तै बीमा र जलविद्युत क्षेत्रका कम्पनीहरुको पनि व्यवसाय बढ्न सकेको छैन । यसले बजारमा सेयर खरिद गर्ने लगानीकर्ताको संख्या घट्दो छ । बजारमा माग बढाउन सकिएको छैन । माग एकदमै न्यून रहेको भएपनि गत आर्थिक वर्ष २०७९/८० मा प्रथामिक सार्वजनिक निष्कासन (आईपीओ) को उच्च आपूर्ति देखिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आईपीओ अनुमति मागेका कम्पनीहरुलाई गत आर्थिक वर्षको अन्तिम त्रैमासमा एकैपटक धमाधमा स्वीकृति दिँदा गत वर्षमा २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको आईपीओ स्वीकृत भएकाे छ । थप ३ करोड कित्ता आईपीओ बिक्री अनुमति मागेका एक दर्जन कम्पनी अझै बोर्डको स्वीकृतिको पखाईमा छन् ।

नेपाल धितोपत्र बोर्डले गत आवमा कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएकोमा आईपीओ हिस्सा मात्रै एक तिहाई बढी छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड बराबरको साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको हो । यस्तै १६ अर्ब १५ करोड बराबरको म्युचुअल फन्ड, १५ अर्ब ९८ करोड बराबरको हकप्रद र ११ अर्ब ६० करोड बराबरको डिबेन्चर निष्कासनका लागि स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डका अनुसार भदौ ७ गते बिहीबारसम्म आईपीओ जारी गर्ने एक दर्जन कम्पनी पाइपलाइनमा छन् । सर्वसाधारणमा सेयर जारी गर्न आवेदन दिएका १२ कम्पनीले कुल २ करोड ९६ लाख ८५ हजार ४८४ कित्ता आईपीओ बिक्री गर्न आवेदन दिएका हुन् । पब्लिक कम्पनीमा रुपान्तरण भई सर्वसाधारणमा सेयर जारी ती कम्पनीहरु अहिले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिको पर्खाइमा रहेका हुन् ।

बोर्डका अनुसार अनुमति माग्ने कम्पनीहरुमा सबैभन्दा धेरै सात वटा अन्य समुहमा सूचीकृत हुने कम्पनीहरु रहेका छन् । त्यस्तै तीन वटा जलविद्युत कम्पनी र दुई वटा उत्पादन तथा प्रशोधनमुलक समुहका कम्पनी रहेका छन् ।

धितोपत्र बोर्डका अनुसार डिस मिडिया नेटवर्क लिमिटेडले सबैभन्दा धेरै १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर बिक्री गर्न खोजेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ३५ करोड ८५ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८० असार १२ गते आईपीओ ल्याउन निवेदन दिएको हो ।

यसैगरी दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीको अनुमति माग गरेको छ । कम्पनीले यहि भदौ ५ गते मंगलबार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणमा जारी हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।

उत्पादनमुलक समुहको सर्वात्तम सिमेन्टले २४ लाख कित्ता सेयर बिक्रीका लागि अनुमतिको पर्खाइमा रहेको छ । बुक बिल्डिङ्ग प्रणालीबाट आईपीओ निष्कासन गर्न खोजेको कम्पनीले ५१० देखि ७५१ रुपैयाँ ५० पैसासम्मको बीचमा सेयर जारी गर्न खोजेको हो । कम्पनीले जारी गर्ने सेयरको ४० प्रतिशत रकम योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ । योग्य संस्थागत लगानीकर्ताबाट कायम भएको औषत बिक्री मूल्यलाई आधार मानेर सर्वसाधारणमा बिक्रीमा आउने मूल्य निर्धारण हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पहिलो कम्पनीको रुपमा सेयर बिक्री गर्न कम्पनीले २०७९ असार २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । नियामक निकायमका प्रमुखलाई गोल्डेन सेयर दिएर बुक बिल्डिङ्गबाट आईपीओ ल्याउन लागेको कम्पनी सुरुमै विवादमा परेको थियो । सोही कारण कम्पनीको सेयर निष्कासनमा ढिलाइ हुँदै आएको छ । उकाघरको परिवारको नाममा सेयर खरिद गरेपछि तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदे आफ्नो पद समेत गुमाउनु परेको थियो ।

यसैगरी आईपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको अर्को कम्पनी हो सानिमा हाइड्रोपावर लिमिटेड । सानिमा ग्रुपले प्रवद्र्धन गरेको यस कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणमा गरी कुल १४ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २०८० जेठ २६ गते आईपीओ ल्याउन निवेदन दिएको हो ।

यस्तै ट्रेड टावरले ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ बिक्री गर्न अनुमति माग्दै २०७८ फागुन २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यो कम्पनी पनि आईपीओ बिक्रीका लागि बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन खोजेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न २०७८ फागुन २० गते अनुमति माग्दै निवेदन पेश गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पनि हालसम्म अनुमति पाइसकेको छैन ।

नेपाल वेयर हाउसजिङ्ग अनुमतिको पर्खाइमा रहेको अर्को कम्पनी हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । आईपीओ बिक्री गर्न कम्पनीले २०७९ पुस २२ गते अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

S.N.  Name of Company  Sector No. of share Amount of Issue Issue Manager  Date of Application
1 Him Star Urja Company Ltd. Hydro 1,119,000 111,900,000 NIC Asia Capital Ltd 2 2080-02-31
2 Dish Media Network Ltd. Others  13,584,955 1,358,495,500 Prabhu Capital Ltd. 2080-03-12
3 IME Limited. Others  1,000,000 100,000,000 Prabhu Capital Ltd. 2080-03-29
4 Sanima Hydropower Ltd. Hydro 1,470,000 147,000,000 Sanima Capital Ltd  2080-02-26
5 Kantipur Television Network Ltd. Others  750,000 75,000,000 Sanima Capital Ltd  2080-02-28
6 Reliance Spinning Mills Ltd.(For Qualified Insitutional Investors, 40%)
The price range is from Rs. 608.00 to Rs.
912.00
Manufacturing
and
Processing
770,640 Global IME Capital Ltd. 2079-03-31
7 Sarbottam Cement Ltd.(For Qualified Insitutional Investors, 40%)
The price range is from Rs. 501.00 to Rs.
751.50
Manufacturing
and
Processing
2,400,000 Global IME Capital Ltd. 2079-03-28
8 3 Accord Pharmaceuticals limited. Others  706,909 70,690,900 Global IME Capital Ltd. 2079-09-04
9 Nepal Warehousing Company Ltd. Others  1,375,000 137,500,000 Himalayan
Capital Ltd
2079-09-22
10 Trade Tower Ltd. Others 1,158,980 115,898,000 NIMB Ace
Capital Ltd.
2078-11-20
11 Muktinath Krishi Company Ltd. Others 1,400,000 140,000,000 NIMB Ace
Capital Ltd
2078-11-20
12 Daramkhola Hydro Energy Ltd. Hydropower 3,950,000 395,000,000 Laxmi Capital
Market Ltd.
2080-05-05
Total   29,685,484      

 

जलविद्युत कम्पनीको रुपमा स्थापित हिम स्टार उर्जा कम्पनी लिमिटेडले ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ लाख १९ हजार कित्ता सेयर बिक्री गर्न २०८० जेठ ३१ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड रुपैयाँ मूल्यको १० लाख कित्ता सेयर सेयर निष्कासनको अनुमतिको पर्खाइमा रहेको छ । आईपीओ जारी गर्न कम्पनीले २०८० असार २९ गते निवेदन पेश गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईएमई लिमिटेडमा आईएमई ग्रुपको मुख्य लगानी छ । आईएमई ग्रुप नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालको हो ।

उत्पादनमुलक कम्पनीको रुपमा स्थापित रिलायन्स स्पनिङ्ग मिल्सले पनि सर्वासाधारणमा आईपीओ बिक्रीका लागि अनुमति माग्दै २०७९ असार ३१ गते धितोपत्र बोर्डमा विवेदन दिएको छ । मिल्सले कुल ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री गर्न खोजेको हो । यो कम्पनीले पनि बुक बिल्डिङ्ग प्रणालीबाट आईपीओ निष्कासन गर्न खोजेको हो । कम्पनीले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्मको बीचमा सेयर जारी गर्न प्रस्ताव गरेको छ । निष्कासन हुने सेयरको ४० प्रतिशत रकम योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ । योग्य संस्थागत लगानीकर्ताबाट कायम भएको औषत बिक्री मूल्यलाई आधार मानेर सर्वसाधारणमा बिक्रीमा आउने मूल्य निर्धारण हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सञ्चार क्षेत्रको कान्तिपुर टेलिभिजन नेटवर्क पनि आईपीओ अनुमचिको पर्खाइमा रेहेको दशौं कम्पनी हो । टेलिभिजन नेटवर्कले कुल ७ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न अनुमति माग गरेको हो । टेलिभिजन नेटवर्कले आईपीओ निष्कासन माग गर्दै धितोपत्र बोर्डमा २०८० जेठ २८ गते निवेदन दिएको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई चयन गरिएको छ ।

यसैगरी औषधि उत्पादक कम्पनी अकर्ड फर्मास्यूटिकल्स लिमिटेडले पनि सर्वसाधारणमा सेयर बिक्री गर्न २०७९ पुस ४ गते निवेदन दिएको छ । उक्त फर्मास्यूटिकल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ मूल्यको ७ लाख ६ हजार ९०९ कित्ता सेयर सेयर निष्कासन गर्नेछ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई चयन गरेको छ ।

बिक्री गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका कम्पनीमध्ये ग्लोबल आइएमई क्यापिटलले तीन, सानिमा क्यापिटलले दुई, प्रभु क्यापिटलले दुई, एनआईएमबि एस क्यापिटल दुई वटा तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एशिया क्यापिटल, हिमालयन क्यापिटलले एक–एक वटा कम्पनीको सेयर निष्कासनको जिम्मेवारी लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।