राष्ट्र बैंकले विकास ऋणपत्रको ब्याज नियन्त्रण गर्दै, कट अफ रेट भन्दा बढी ब्याज माग्ने ‘आउट’


नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रको ब्याजदर बढ्न नदिन ‘कट आफ रेट’ भन्दा माथिका आवेदनलाई ‘आउट’ गरेको छ । केन्द्रीय बैंकले ७ प्रतिशत ब्याजदर कायम गर्दै सोही अनुसारका आवेदकलाई मात्र विकास ऋणपत्र बिक्री गरेको हो ।

आइतबार केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्रको बोलकबोल गरेको थियो । निष्कासन गरेजति विकास ऋणपत्र बिक्री गर्दा ब्याजदर बढ्ने भएपनि ‘कट रेट’ कायम गर्दै सो भन्दा माथिका आवेदलाई बिक्री नगरेको हो । केन्द्रीय बैंकले ब्याजदर बढाउन नचाहँदा आइतबार १० अर्ब मध्ये ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको मात्र बिकास ऋणपत्र बिक्री भएको छ ।

केन्द्रीय बैंकले कट अफ रेट तय गरेपछि सोभन्दा माथिका आवेदकलाइ सहभागी नै गराएन । केन्द्रिय बैंकले सबै ऋणपत्र बिक्री गर्ने र कट अफ रेटभन्दा माथि गएर पनि बिक्री सक्थ्यो । तर, कट अफ रेट भन्दा माथि बिक्री गर्दा ब्याजदर बढ्ने भएकाले पुरै बिक्री नगरेको केन्द्रीय बैंक मौद्रिक व्यवसथापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले नोटबजारलाई जानकारी दिए ।

भदौ महिनाका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाए । त्यसको असर विकास ऋणपत्रको ब्याजमा पनि केही देखिन खोजेको भए पनि केन्द्रीय बैंकले त्यसलाई नियन्त्रण गरेको भण्डारीको भनाई छ । “ब्याजदर बढ्न नदिन कट रेट भन्दा माथिका आवेदकलाई बिक्री गरिएन,” उनले भने, “पुरै बिक्री नहोस तर ब्याजदरलाई नियन्त्रण गर्नु पर्ने भएकाले सोही अनुसार काम गरेको हो । साथै हामीले काम गर्दा ब्याजदरको स्थायित्व र सरकारलाई पर्ने लागत कम गर्ने गरी काम गर्ने हो ।”

यसभन्दा अघि केन्द्रीय बैंकले भदौ ५ गते ५ अर्ब ८४ करोड रुपैयाँ बरावरको विकास ऋणत्र निष्कासन गरेको थियो । बैंकहरुले निक्षेपको ब्याज बढाएपछि उक्त विकास ऋणपत्रका लागि उच्च ब्याजदर माग गर्दै बोलकबोल गरेपछि केन्द्रीय बैंकले उक्त ऋणपत्र बाँडफाँड नै गरेन । आवेदकले उच्च रेट माग गरेपछि सरकारी लागत बढ्ने तथा ब्याजदर समेत वृद्धि हुने भएपछि केन्द्रिय बैंकले उक्त ऋणपत्र निष्कासनको बोलकबोल नै रद्द गरेको थियो । विड रद्द भएको विकास ऋणपत्र आगामी दिनमा बजार सहज अवस्थामा रहेको समयमा निष्कासन गर्ने भण्डारीको भनाई छ ।

गत आर्थिक वर्षमा सरकारले निष्काशन गरेको विकास ऋणपत्रको औसत ब्याजदर ८.६४ प्रतिशत छ । चालु आर्थिक वर्षको पहिलो विकास ऋण ऋणपत्रको कट अफ रेट ६.५० प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । त्यसपछि साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रको ‘कट अफ रेट’ ७ प्रतिशत कायम भएको थियो । साउन २९ गते पनि केन्द्रीय बैंकले ब्याजदर बढ्न नदिन कटअफ रेट भन्दा माथि विकास ऋणपत्र बिक्री गरेको छैन । केन्द्रीय बैंकले आइतबार सोही रेटलाई निरन्तरता दिएको हो ।

आइतबार राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेकोमा अप्रतिस्पर्धी आवेदकबाट आवेदन नै आएको छैन । उक्त ऋणपत्रका लागि २५ आवेदकले ७८ वटा आवेदन बुझाएको केन्द्रीय बैंकले जनाएको छ । उक्त १० अर्ब विकास ऋणपत्रका लागि २४ अर्ब ४ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । तर, बिक्री भने ६ अर्ब ८८ करोडको मात्र भएको छ ।

विकास ऋणपत्रको ब्याजदर निर्धारण गर्दा अप्रतिस्पर्धीको भुमिका हुँदैन । कट अफ रेट तय गर्दा प्रतिस्पर्धीको बोल आवेदन मार्फत निर्धारण हुन्छ । सोही अनुसार कट अफ रेटमा अप्रतिस्पर्धीलाई छुट्याएको विकास ऋणपत्र बाँडफाँड हुन्छ । यसमा लगानी गर्ने लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउने राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।