बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि ट्रेजरीको डिस्काउन्ट रेट बढ्यो


नेपाल राष्ट्र बैंकको अल्पकालिन ब्याजदर बढ्न नदिने प्रयास असफल भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर अल्पकालिन ब्याजदरहरुमा देखिएको हो ।

केन्द्रीय बैंकले आइतबार विकास ऋणपत्रको ब्याजदर बढाएन । तर, सोमबार ट्रेजरीको डिस्काउन्ट रेट भने करिब एक प्रतिशत विन्दुले बढाएको छ । आइतबार बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको ब्याजदर धेरै मागेपछि ७ प्रतिशत कट अफ रेट कायम गरेर सो भन्दा माथि गएन । त्यसले गर्दा १० अर्बको ऋणपत्र निष्कासन गरेकोमा ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्र बिक्री गर्यो । सोमबारको टे«जरीमा भने डिस्काउन्ट रेट बढेर नविकरण गरेको हो ।

सोमबार केन्द्रीय बैंकले सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि २८ दिने र ९२ दिने गरेर कुल १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी निष्कासन गरेको थियो । सरकारले विगतमा लिएको आन्तरिक ऋण भुक्तान गर्न नसक्ने भएपछि त्यसलाई नै नविकरण गरेको हो । सोमबार निष्कासन भएको ट्रेजरी बिल्स मध्ये ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ बरावरको आन्तरिक ऋण सरकारले भुक्तानी गरेको केन्द्री बैंकले जनाएको छ ।

सोमबार नविकरण भएको ८ अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरीको औषत डिस्काउन्ट रेट ६.२०८४ प्रतिशत कायम भएको छ । २८ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ६.४९३३ र न्यूनतम ४.८२७९ प्रतिशत डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको छ । सोमबार निष्कासन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट गत साउन २३ गतेकोभन्दा धेरै हो । साउन २३ गते २८ दिने ट्रेजरीको औषत डिस्काउन्ट रेट ५.१७७६ प्रतिशत थियो ।

त्यसैगरी सोमबार सरकारले ९१ दिने ट्रेजरीको सावाँ भुक्तान गरेको भएपनि औषत डिस्काउन्ट रेट भने कायम भएको छ । उक्त ट्रेजरीका लागि २२ बैंक वित्तीय संस्थाले ९१ वटा आवेदन मार्फ बोलकबोल गरेका थिए । बोल आवेदकले उक्त ट्रेजरीका लागि अधिकतम ६.४९९९ र न्यूनतम ५.७०८३ प्रतिशत डिस्काउन्ट रेट माग गरेका थिए । सोमबार ९१ दिने ट्रेजरीको औषत डिस्काउन्ट रेट ६.३८३९ प्रतिशत कायम भएको छ । यो औषत डिस्काउन्ट रेट यहि भदौ ५ गते कायम भएकोभन्दा धेरै हो । भदौ ५ गते ९१ दिने ट्रेजरीको औषत डिस्काउन्ट रेट ५.८१७० प्रतिशत कायम भएको थियो ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने वित्तीय औजाहरुको ब्याजदर उतारचढावलाई केन्द्रीय बैंकले नियन्त्रण गर्दै आएको छ । आन्तरिक ऋण उठाउन प्रयोग हुने वित्तीय औजारको ब्याजदर जति थोरै भयो सरकारलाई लगात कम पर्ने हुन्छ । केन्द्रीय बैंकले सरकारको लगायत न्यूनीकरण गर्दै अल्पकालिन ब्याजदरलाई स्थायित्व कायम गर्ने काम गर्छ ।
यो साता ट्रेजरीको डिस्काउन्ट रेट ६ प्रतिशत भन्दा माथि पुगेको छ भने विकास ऋणपत्रको ७ र अन्तर बैंक दर ६.१६ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।