लाभांश सिजनमै छैन सेयर बजारमा रौनक, लगानीकर्तामा निराशा मात्रै

0
Shares

सेयर बजारलाई हेर्ने सरकारी दृष्टिकोण र त्यस अनुसारको व्यवहारको कारण अर्थतन्त्रको ऐनाको रुपमा चित्रित्र सेयर बजारमा लाभांश सिजनमा नै रौनकता हराएको छ । उद्यम व्यवसायको लागि चाहिने पुँजी जोहो गर्ने क्षेत्र नै राज्यको प्राथमिकतामा पर्न नसक्दा बुलिस हुने समयमा नै बजार ऋणाात्मक बन्दा लगानीकर्तामा निराशा मात्रै कायम छ ।

सामुहिक लगानी कोषका केही योजनाहरुले प्रतिफल घोषणा गरी बुकक्लोज समेत गरिसकेका छन् । बैंकिङ्ग प्रणालीमा तरलता प्रयाप्त रहेर केही बैंकहरुले लगानकर्तालाई सेयर धितोपत्र कर्जाका लागि योजना सार्वजनिक गरेपनि लगानीकर्ताहरु बजारमा ऋण लिएर लगानी गर्न तत्पर देखिएका छैनन् । सोही कारण लाभांश घोषणा सुरु भैसक्दा पनि बजारमा दैनिक कारोबार रकम एक अर्बभन्दा तल झरेको छ । यसअघि दैनिक डेढ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा पछिल्लो दिनमा अर्बभन्दा कम मात्रै कारोबार हुन थालेको हो ।

मंगलबारबार नेप्से सूचक २ हजार बिन्दुभन्दा तल अर्थात १९९३ दशमलव ४२ बिन्दुमा बन्द भएको छ । घट्दो बजारमा देखिएको निराशाका कारण लगानीकर्तामा बजार कता जान्छ भन्ने दोधारमा छन् । बजार त्यति धेरै घट्न सकेको छैन भने बढ्दा पनि बढेपछि तुरुन्तै घटिहाल्ने गरेको छ । यस्तो अवस्थामा लगानीकर्ता पर्ख र हेर’ को अवस्थामा छन् ।

आज नेप्से सूचक ०.२५ प्रतिशत अर्थात ५.०५ अंकले घटेको छ । यससँगै सूचक १९९३ दशमलव ४२ बिन्दुमा अडिएको छ । सुरुवाति १५ मिनेटमा २००२ बिन्दुसम्म बढेको बजार पुनः ओरालो लागेको थियो । यसअघि सोमबार नेप्से ५.०९ अंक बढेको थियो । त्यसैगरी आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेर ३८२ दशमलव ८५ बिन्दुमा झरेको छ । यस दिन १३ वटै उपसमूहगत सूचकमध्ये ३ वटा बढेको छ भने १० वटा घटेको छ । लगानी, म्यचुअल फन्ड, निर्जीवन बीमा र ब्यापार बढेका छन् भने अरु सबै घटेका छन् ।

यसदिन २७८ कम्पनीका ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० वटा संख्यामा खरिद बिक्री भई कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार ९८ करोड ८६ लाख २८ हजार रुपैयाँको कारोबार भएकोमा १२ करोड ३५ लाख रुपैयाँले कारोबार घटेको हो ।

कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ । यसैगरी आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख, नेपाल टेलिकमको ३ करोड १ लाख, शिवम् सिमेन्टसको २ करोड ३८ लाख र घोराही सिमेन्ट्सको २ करोड २६ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा लगातार सातौं दिन सकारात्मक सर्किट लागेर ९३३ रुपैयाँ १० पैसा पुगेको छ । मंगलबार मात्रै कम्पनीको सेयर ८४ रुपैयाँ ८० पैसाले बढेको हो । यससँगै जलविद्युत कम्पनीहरुमा कुथेली बुखरी सबैभन्दा महङ्गो सेयर बनेको छ ।

यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्य ९.९९ प्रतिशतले बढेको छ । आशा लघुवित्त ५.९६ प्रतिशत, दोल्ती पावर ५.८२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ को इकाईमूल्य ३.९३ प्रतिशतले बढेको छ ।

आजको बजारमा स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । हिजो पनि लघुवित्तको सेयर ४.३८ प्रतिशतले घटेको थियो । यससँगै कम्पनीको सेयर १०६१ रुपैयाँमा झरेको छ । यस्तै सामलिङ्ग पावरको ४.८३ प्रतिशत, एनआईबिएल ग्रोथ फन्ड ३.७५, अपर सोलु हाइड्रो इलेक्ट्रिक २.२६ प्रतिशत र धौलागिरी लघुवित्त २.७२ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब ८४ अर्ब २० करोड ८७ लाख रुपैयाँ कायम भएको छ । सोमबार २९ खर्ब ९१ अर्ब ७८ करोड १५ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।