बैंकहरुले ब्याजदर बढाए पनि अल्पकालिन ब्याजदरमा सामान्य गिरावट

0
Shares

बैंकहरुले भदौ महिनाका लागि निक्षेपको ब्याजदर बढाएको भएपनि अल्पकालिन ब्याजदरमा भने सामान्य गिरावट आएको छ । यो साताको सुरुवाती संगै ट्रेजरीको डिस्कान्ट रेट सँगै अन्तर बैंक दर पनि घटेको हो ।

अल्पकालिन ब्याजदरमा आएको परिवर्तनले वित्तीय क्षेत्रको ब्याजदर कता जादैछ भन्ने संकेत गर्छ । त्यसैगरी वित्तीय प्रणालीको तरलताको अवस्था कस्तो छ भन्ने समेत अन्तर बैंक दरले निर्धारण गर्छ । पछिल्लो समयमा अन्तर बैंकदरमा आएको गिरावटलाई हेर्दा वित्तीय प्रणालीको तरलताको अवस्था सहज रहेको देखिन्छ ।

बैंकहरुमा तरलताको अवस्था सहज भएको र कर्जाको माग बढ्न नसकेको अवस्थामा ट्रेजरीमा लगानी गर्नुपर्ने बाध्यता भएकाले पनि डिस्काउन्ट रेटमा कमी आएको हो । बैंकहरुले बढेको ब्याजदरमा लिएको निक्षेपलाई लगानी नगरी राख्नु भन्दा थोरै प्रतिफल आउने भन्दै सरकारी ऋणपत्रमा लगानी बढाएपछि ट्रेजरीको डिस्काउन्ट रेट घट्दो क्रममा देखिएको हो ।

सोमबार निष्कासन भएको २८, ९१, १८२ र ३६४ दिने सबै ट्रेजरीको डिस्काउन्ट रेट गत साताको तुलनामा घटेको छ । गत सात ६ प्रतिशतको हाराहारीमा रहेको ट्रेजरीको डिस्काउन्ट रेट यो साताको सोमबारसम्म आइपुग्दा करिब ६.५ प्रतिशतसम्म पुगेको छ । त्यसैगरी अन्तर बैंक दर पनि ६ प्रतिशतको हाराहारीमा नै रहेको छ ।

सोमबार सरकारले २० अर्ब ४ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल्सलाई नविकरण गरेको छ । सरकारले नविकरण गरेको उक्त ट्रेजरीको लागि सोमबार केन्द्रीय बैंकले बोलकबोल गरेको छ । उक्त बोलकबोलबाट कायम भएको औसत डिस्काउन्ट रेट २८ दिनेको ६.१२३१, ९१ दिनेको ६.१६३५, १८२ दिनेको ६.४०९४ र ३६४ दिनेको ६.४३३१ प्रतिशत रहेकोे छ । यो डिस्काउनट रेट यसभन्दा अघिको तुलनामा कम हो ।

यसभन्दा अघि भदौ १२ गते २८ दिनेको ओसत डिसकाउन्ट रेट ६.२०८४ प्रतिशत रहेको थियो । त्यसैगरी ९१ दिनेको औसत डिस्काउन्ट रेट ६.३८३९ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी भदौ ५ गतेको निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.४३९३ प्रतिशत कायम भएको थियो । साथै साउन ३ण् गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.४८७६ प्रतिशत थियो ।

यो साता सुरु भएपछि बैंकिङ प्रणालीको केही निक्षेप थपिएको छ । निक्षेप थपिएसंगै अन्तर बैंक दर पनि घटेको छ । यो साताको पहिलो दिन आइतबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही दिन बैंकहरुको अन्तर बैंक कारोबार दर ६.३१ प्रतिशतमा झरेको छ । गत साताको अन्तिम दिन शुक्रबार अन्तर बैंक दर ५.३५ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।