साउनमा ९ हजार ८ सय बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै ३ हजार धेरै

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा जीवन बीमा कम्पनीहरुमा सवा १ अर्ब रुपैयाँका ९ हजार ८ सय वटा बीमा पोलिसी समपर्ण (सरेण्डर) भएका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा बीमितहरुले १४ जीवन कम्पनीहरुमा कायम रहेका ३ हजार ७९८ वटा बीमालेख त्याग गरेका हुन् । यी बीमालेखको कुल समपर्ण मूल्य १ अर्ब २८ करोड ३३ लाख ३८ हजार ९०० रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो महीना साउनमा २ अर्ब २९ करोड रुपैयाँ नयाँ बीमा व्यवसाय भएकोमा उक्त अवधीमा १ अर्ब २८ करोड रुपैयाँ पोलिसी सरेण्डर भएको देखिएको हो । नयाँ व्यवसायको आधाभन्दा बढी (५५.९० प्रतिशत) बीमा सरेन्डर हुनुले कम्पनीहरुको दीगोपनामा गम्भिर असर पर्न सक्ने देखिएको छ ।

प्राधिकरणको कमजोर कार्यसम्पादन, बीमा नीति, आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको हो । नवीकरणमा अभिकर्ताको प्राथमिकता कम पर्दा तत्कालको लागि कुनै समस्या नदेखिए पनि दीर्घकालीन रुपमा यसको असर जटिल देखिने जानकारहरुको भनाई छ ।

नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

ठूला कम्पनीमा नै समपर्ण पनि धेरै, नेपाल लाइफको मात्रै ३ हजार बढी

पुराना र ठूला कम्पनीहरुमा नै बीमा पोलिसी त्याग्ने बीमितहरुको संख्या पनि उच्च रहेको देखिएको छ । ठूला इन्स्योरेन्सका बीमितिले ठूलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकमा देखिएको हो ।

साउनमा बीमितहरुले त्याग गरेका बीमालेखमध्ये नेपाल लाइफ इन्स्योरेन्समा मात्रै ३ हजार ३२४ वटा बीमा पोलिसी समपर्ण (सरेण्डर) भएका छन् । संख्याको हिसाबले यो कुल त्याग भएका बीमा पोलेसीको एक तिहाइभन्दा बढी हो । साउनमा नेपाल लाइफको ४७ करोड २३ लाख ७ हजार रुपैयाँको बराबरको बीमालेख सरेण्डर भएका हुन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालमा पनि ३१ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरका २ हजार २४ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीमध्ये २०.६६ प्रतिशत बराबर हो ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार हिमालयन लाइफ इन्स्योरेन्समा १२ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरका ९८८ वटा तथा राष्ट्रिय बीमा संस्थानमा १० करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरका ८६२ वटा बीमालेख सरेण्डर भएका छन् । यसैगरी साउनमा बीमितहरुले सूर्य ज्योति लाइफमा ७ करोड ४६ लाख १२ हजार रुपैयाँ बराबरका ४०८ वटा, एशियन लाइफ इन्स्योन्सबाट साउनमा ५ करोड ८४ लाख ४४ हजार रुपैयाँ बराबरको ७४४ वटा, नेशनल लाइफमा ४ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको २९१ वटा, मेट लाइफमा ४ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरका ४६८ वटा बीमालेख त्याग भएका छन् । यस्तै सानिमा रिलायन्स लाइफबाट बीमितले १ करोड ५१ लाख १७ हजार रुपैयाँ बराबरका १८० वटा, सिटिजन लाइफ इन्स्योरेन्समा १ करोड १४ लाख ९० हजार रुपैयाँ बराबरका १७६ वटा बीमालेख सरेन्डर गरेका छन् ।

यसैगरी आइएमई लाइफ इन्स्योरेन्समा ९९ लाख ९३ हजार रुपैयाँ बराबरको १३३ वटा, रिलायबल नेपाल लाइफमा ९० लाख ८२ हजार रुपैयाँ बराबरको १६२ वटा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा साउनमा ३५ लाख २३ हजार रुपैयाँ बराबरका २५ वटा बीमालेख त्याग भएको प्राधिकरणको तथ्यांक छ ।

सबैभन्दा कम पोलिसी सरेण्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । साउनमा सन नेपाल लाइफमा ११ लाख ८७ हजार रुपैयाँ बराबरको १३ वटा पोलिसी सरेण्डर भएका हुन् ।

आर्थिक संकटका कारण सरेन्डर बढ्दो

विश्वब्यापी कोरोना महामारी र घट्दो आयका कारण उत्पन्न हुने आर्थिक संकटका कारण कुनै पनि बीमितले बीमा अवधिभरी बीमाको प्रिमियम भुक्तानी गर्न सक्दैन । निश्चित अवधिपछि बीमालेख धितोमा ऋण लिनसक्ने व्यवस्था भएपनि गहिरिएको आर्थिक संकटका कारण बीमित ऋण लिनेभन्दा बीमालेख त्याग गर्न बाध्य हुने गरेका छन् ।

ठूलो बीमाङ्कको बीमा गर्ने बीमितहरुमा आर्थिक संकट पर्दै जाँदा उनीहरुमा बीमा अवधिभर बीमा योजनाको किस्ता (प्रिमियम) तिर्न समस्या आउने गर्दछ । घट्दो आय र बढ्दो मुद्रास्फीतिका कारण बीमितहरुले बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । सोही कारण जीवन बीमाको अवधि नसकिँदै बीमा योजना त्याग गरी रकम फिर्ता लिने गरेका छन् ।

अर्कोतर्फ बीमा एजेन्टहरुले कमिसनका लागि नै आकर्षक प्रचार गरी बीमितको क्षमताभन्दा बढी ठूलो बीमाङ्कको बीमा बिक्री गर्दा पनि बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था सृजना हुने गर्दछ । त्यसैले बीमितले पनि बीमालेख खरिद गर्नुपूर्व आफूले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग बुझेर मात्र बीमालेख खरिद गर्नुपर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार दश लाखको पनि बीमा गर्न नसक्नेलाई पचासौं लाखको बीमा गराइदिँदा बीमति त्यसको बीमाशुल्क तिर्न असमर्थ हुन्छ अनि त्याग्न बाध्य हुने गरेका छन् ।

बीम गर्दा एजेन्टहरुले ग्राहकहरुको आवश्यकता र क्रयशक्ति पहिचान गरी सोही अनुसारका पोलिसी किन्ने वातावरण सृजना गर्न सकेको खण्डमा बीमा अवधि सकिनु अगावै हुने सरेन्डरहरु घट्ने बीमकहरु बताउँछन् । यसो नहुँदासम्म पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने उनीहरुको बुझाई छ ।

बीमा सरेन्डर बढ्ने अर्को कारण हो आर्थिक मन्दी। देशमा देखिएको आर्थिक मन्दीका कारण विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा बीमा त्याग गर्ने बीमितको संख्या बढ्ने गरेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज हुँदा गरिने बीमामा मन्दी छाउँदा सरेन्डरको दर बढ्ने गर्दछ । बीमा गर्दा एक मानसिकताले बीमालेख खरिद गर्ने र बीमापछिका वर्षहरुमा बीमितको मानसिकता एउटै नहुँदा (मानसिकतामा परिवर्तन आउँदा) सरेन्डरदर बढ्ने गरेको छ ।

धेरै बीमितले सुरुमा बीमा भनेको के हो भन्ने नै बुझेका हुँदैनन् । अभिकर्ताले जे भन्यो त्यहि पत्याइदिन्छन्, बीमा भनेको जोखिम बहन गर्ने हो भन्ने हिसावले गरेका हुँदैनन् । एक दुई वर्षपछि बीमा गर्ने बीमितले बल्ल बीमा के हो भन्ने बुझ्दै जान्छन् । बुझ्दै गएपछि अभिकर्ताले भनेको जस्तो होइन रहेछ भन्ने भएपछि बीमालेख त्याग्न बाध्य हुने गरेका छन् ।

बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था जीवन बीमालेख सम्बन्धी निर्देशकाले नै गरिदिएको छ । धेरै बीमितहरुले पोलसी सरेन्डर गर्ने क्रम बढ्न थालेपछि नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमालेख खरिद गरेको एक वर्षमै पोलिसी सरेण्डर गर्नसक्ने व्यवस्थालाई कडाई गर्दै तीन वर्ष पुर्याएको छ । प्राधिकणद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत फिर्ता पाउने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।