चालु आवमा विद्युत् चोरी गरेकाबाट दुई लाख ९३ हजार राजस्व सङ्कलन


बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।

जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०\८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए । अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट दुई लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ राजस्वसमेत सङ्कलन भएको वितरण केन्द्रले जानकारी दिएको छ ।

आव २०७९\८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत् चोरी भएको थियो । उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब दुई लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ ।

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । उनले तरकारीको पकेट क्षेत्रमा विद्युत्का लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए ।

“टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन”, उनले भने । त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ रुपैयाँ बक्यौता रहेको छ । सो बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको १८ करोड ६८ लाख ९९ हजार नौ सय ६४ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ भदौ २०८०, मंगलबार  ०६ : ०२ बजे