काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आफू तयार रहेको बताएका छन् ।
१६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालको प्रदर्शन हेरेपछि बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।
मेयर शाहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि स्मरण गराएका छन् ।
नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् । ‘टीभीमा देखिने विराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन,’ बालेनले लेखेका छन्, ‘तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।’
उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने बालेनको तर्क छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया