एशिया क्षेत्रमा वित्तपोषण बढाउन लागि एडिबी र ड्युश बैंकबीच साझेदारी

0
Shares

एशिया तथा प्यासिफिक क्षेत्रका साना तथा मझौला उद्योगहरुमा वित्तीय पहुँच बढाउनका लागि एशियाली विकास बैंक (एडिबी) र सिंगापुरमा रहेको जर्मन बैंक–ड्युश बैंकले जोखिम साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल एशिया क्षेत्रमा वस्तु तथा सामाग्रीको माग अनुसार आपूर्ति हुन सकेको छैन । अधिकांश देशका बैंकहरुले ब्याजदर बढाउँदा अर्थतन्त्र तथा उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने साना तथा मझौला उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । यस अवस्थामा एडिबि र ड्युश बैंकले साना तथा मझौला उद्योगहरुलाई आवश्यक पर्ने वित्तीय सहयोग गरी रोजगारी सिर्जना गर्न तथा उत्पादकत्व वृद्धि गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ड्युश बैंकले साझेदार बनेसँगै यसले साना तथा मझौला उद्योग तथा कम्पनीहरुलाई विश्व आपूर्ति श्रृङ्खलामा आवद्ध हुन सहयोग गर्ने एडिबिका निजी क्षेत्र सञ्चालन विभागका निर्देशक सुज्जेन गाबुरीले बताए । यस्तै यस सम्झौताले एडिबीको निजी क्षेत्र परिचालन गरी उत्पादकत्व वृद्धि गर्ने र एशिया प्यासिफिक क्षेत्रमा सुमधुर व्यापार गर्नका लागि समेत टेवा पु¥याउने उनको तर्क रहेको छ ।

यी दुई बैंकहरुले एशिया प्यासिफिक क्षेत्रका साना तथा मझौला उद्योगहरुका लागि प्रतिवर्ष २० अर्ब अमेरिकी डलर बढी सहयोग गर्नेछन् । बैंकहरुले मुख्यतः कृषि तथा फारमास्युटिकल क्षेत्रको उत्थानका लागि उक्त रकम परिचालन गर्नेछन् । एडिबीले साना तथा मझौला उद्योगहरुलाई आवश्यक पर्ने वित्त उपलब्ध गराउनका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम सञ्चालन गर्दै आएको छ ।

एडिबीले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार एशिया तथा प्यासिफिक क्षेत्रमा व्यापारका लागि आवश्यक पर्ने वित्तको ठूलो आवश्यकता देखिन्छ । एशिया क्षेत्रको व्यापार वृद्धिका लागि २.५ ट्रिलियन डलरको आवश्यकता रहेको छ । व्यापारका लागि पर्याप्त वित्त उपलब्ध नहुँदा ठूला उद्योगको तुलनामा साना तथा मझौला उद्योग समस्यामा परेका छन् । ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम मार्फत एडिबीले विश्वव्यापी व्यापार व्यवस्था तथा आपूर्ति श्रृङ्खला समावेशी, पारदर्शी, दिगो, समाजप्रति उत्तरदायी तथा उत्थानशील बनाउनका लागि वित्तीय तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।