बैंक वित्तीय संस्थासंग साढे १८ अर्बको गैर बैंकिङ सम्पत्ति, ३ अर्बको कर्जा अपलेखन

0
Shares

बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन उच्च दरमा बढेको छ । अर्थतन्त्रमा कोरोना महामारीको असर तथा आर्थिक गतिविधिमा आएको सुस्तताले ऋणीको कर्जा भुक्तान गर्ने क्षमतामा ह्रास आएपछि गैर बैंकिङ सम्पत्ति तथा कर्जा अपलेखन बढेको हो ।

बैंक तथा वित्तीय संस्थामा गत आर्थिक वर्षमा गैर–बैंकिङ सम्पत्ति तथा कर्जा अपलेखन आकार झनै बढ्ने अवस्था थियो । तर, जग्गाको हदबन्दीका कारण बैंकहरुले लिलाम सकार्न नसक्दा यस्तो खालको सम्पत्ति हुनुपर्ने भन्दा कम भएको देखिन्छ । जग्गाको कारोबार बढेको र सरकारले हदबन्दी नगरेको भए यस्तो सम्पत्तिको आकार उल्लेख्य बढ्ने निश्चित थियो ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल गैर–बैंकिङ सम्पत्ति १८ अर्ब ६८ करोड ९० लाख रुपैयाँ बराबरको छ । यो गैर–बैंकिङ सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.६३ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति १० अर्ब ५२ करोड १० लाख रुपैयाँ बराबरको थियो ।

त्यसैगरी गत आर्थिक वर्षमा बैंकहरुको कर्जा अपलेखन २ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ । यो कर्जा अपलेखन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंक वित्तीय संस्थाको कर्जा अपलेखन एक अर्ब ६० करोड ७० लाख रुपैयाँ बराबरको थियो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा ‘डिफल्ट’ भए अनुसार अपलेखन गर्ने वा गैर बैंकिङ सम्पत्ति कायम गर्न पाएका छैनन् । बैंक तथा वित्तीय संस्थालाई जग्गा ग्रहण गर्ने सीमाका कारण कम भएको हो । सरकारले बैंक वित्तीय संस्थालाई १५० रोपनी जग्गाको ग्रहण गर्न सक्ने सीमा नराखेको भए गैर बैंकिङ सम्पत्ति तथा कर्जा अपलेखन उल्लेख्य बढ्ने अवस्था थियो ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण ऋणीको आम्दानीमा ह्रास आएपछि कर्जाको किस्ता भूक्तान गर्न नसक्ने अवस्था बन्यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणले समग्र बजारमा माग खुम्चिदै गयो । बजारमा माग नभएपछि उद्योग धन्दाले उत्पादन घटाउन थाले । त्यसले सम्पुर्ण आर्थिक गतिविधि नै सुस्त हुन पुग्यो । समग्र अर्थतन्त्रमा समस्या देखिएपछि बैंक वित्तीय संस्थाका कर्जा डिफल्ट हुने दर पनि बढ्न गयो ।

कर्जाको डिफल्ट बढेसंगै बैंक वित्तीय संस्थाले खराब कर्जाको अंश बढ्न थालेपछि असुलीमा कडाई गर्न थाले । कर्जा तिर्न नसक्ने ऋणीको धितो सकार्ने तथा अपलेखन गर्ने प्रक्रिया सुरु गरे । तर, सरकारले तोकेको सीमासम्म बैंक वित्तीय संस्थाले धितो सकारे ।

केही बैंकहरुले सीमा भन्दा बढी धितो सकार गरेको भएपनि धेरैले जग्गाको हदबन्दी भन्दा माथि हुने गरी धितो सकारेको अवस्था नरहेको एभरेष्ट बैंकका प्रमूख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । बैंकहरुले धितो नै बिक्री गरेर कर्जा चुक्ता गराउन बाध्य नपारेको खालिङको भनाई छ । ऋणीले साच्चिकै समस्या भएर कर्जा नतिरेको हो वा ठग्ने नियतले भन्ने विषयमा बैंकहरुले गम्भिर भएर हेरीरहेको उनले बताए ।

पछिल्लो समयमा जग्गाको कारोबारमा देखिएको सुस्तताका कारणले पनि धितो बिक्री गरेर कर्जा चूक्ता नगरेको उनले बताए ।“कतिपय बैंकहरुले बिक्री गर्न खोज्दा पनि बिक्री नभएको अवस्था छ,” उनले भने,“सकार्न समय लाग्ने भएकाले पनि धेरै नबढेको हो ।” पछिल्लो समयमा मालपोत कार्यालयमा देखिएको अन्योल भनेको जग्गाको हदबन्दीका कारण बैंकका नाममा ल्याउन समस्या भएको उनले स्पष्ट पारे ।

“कर्जा असुलीको समस्या बढीरहेको अवस्थामा पनि ऋणीले नै धितो सकार गरोस भन्ने हो,” उनले भने,“बैंकहरुले तुरुन्तै कर्जा अपलेखन गरिहाल्दैनन् किन भने बैंकले धितो सकारे पनि कर्जा लिनेले नै लियोस र कर्जा तिरोस भन्ने हुन्छ ।” गैर–बैंकिङ सम्पत्तिको रुपमा राख्दा पनि त्यसले असर नाफमा नै गर्ने भएकाले ऋणीले नै फिर्ता लियोस भन्ने बैंकले चाहने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैले सकार गर्नुपर्नेछ । यसरी बैंक वित्तीय संस्थाले सकारेको सम्पत्तिलाई गैर बैंकिङ सम्पत्ति भनिन्छ । बैंकहरुले सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ । गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा मात्र त्यस्तो सम्पत्तिका लागि सिर्जना गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसावमिलान गर्नुपर्छ । गैर बैंकिङ सम्पत्तिको बिक्री पछि पुर्ण रुपमा कर्जा व्यवस्थापन भएपछि मात्रै नोक्सानी व्यवस्थालाई आम्दानीमा देखाउन पाइन्छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा खराब वर्गमा परी १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था भई सकेको, कर्जा असूलीको लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको तथा कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेर अपलेखन गर्न सक्छन । बैंक वित्तीय संस्थाले असुल हुन नसक्ने कर्जा निर्धारण गर्ने आधार तयार गरी अपलेखन गर्न सक्छन । अपलेखन गरिएका कर्जाको असुलीका लागि एउटा छुट्टै कर्जा असुली इकाइको स्थापना गरी त्यस्तो कर्जाहरुको असुलीका लागि सम्बन्धित संस्थाले निरन्तर प्रयास जारी राख्नुपर्ने व्यवस्था एकिकृत निर्देशनमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।