अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताएका छन् । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उनले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
उनले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताए । अर्थमन्त्री डा महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे । उनले अबको चार वर्षसम्म काठमाण्डौं–तराई द्रुत मार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताए ।
अर्थमन्त्री डा महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको स्पष्ट पारे । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा महतले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो । उनले निजी क्षेत्रले उत्पादन गरेकामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया