अनलाइन सपिङ फस्टाउँदा परम्परागत व्यापार संकटमा


चाडपर्व नजिकिए पनि काठमाण्डौ उपत्यकाका प्रमुख व्यापारिक केन्द्रमा संचालित पसलहरुमा भने खासै भिडभाड देखिदैँन । तीजको समयमा खुट्टा राख्न पनि नसकिने असन, इन्द्रचोकमा समेत अहिले त्यति धेरै घुइँचो देखिदैँन । बजार सुनसान जस्तै छ ।

अनलाइन मार्फत कारोबार गर्नेहरु बढ्दै जादा परम्परागत व्यापार गर्नेहरु संकटमा पर्न थालेका हुन । अनलाइन सपिङ बढ्दै जादा पसल पसल डुलेर सामान किन्ने ग्राहकहरु पनि अहिले लोप हुँदै गएका छन । किनभने अहिले सामान हेर्न पसल डुली रहनु पर्दैन । अनलाइनबाट नै सबै सामान हेर्न र मनपरे खरिद गर्न सकिन्छ । अनलाइन कारोबार गर्नेहरुले घरमै सामान पुर्याइदिने हुँदा पनि ग्राहकलाई पसल पसल चाहार्नु पर्दैन ।

व्यापारीहरु पनि आफ्नो व्यवसाय प्रवर्दन गर्न टिकटक र फेसबुकमा नै व्यस्त देखिन्छन् । तर, आधुनिक प्रविधि अगाल्न नसक्दा पुराना व्यापारी भने धरासायी हुने अवस्थामा पुगेका छन् । समय अनुसार व्यापार गर्ने तरिका परिवर्तन भयो तर उनीहरु भने जहाँको त्यही भए । अहिले व्यापारिक प्रयोजनका लागि फेसबुक, टिकटक प्रयोग गर्ने गरिएको छ । व्यापारीहरुले टिकटक र फेसबुक लगायतका सञ्जालमा आफ्नो सामान प्रदर्शन गरेर त्यहीबाट ग्राहक जोड्ने काम गरिरहेका छन । तर परम्परागत व्यापारीलाई भने प्रचारका आधुनिक प्रविधिमा नजोडिदा पसल चलाउन नै समस्या भैरहेको देखिन्छ ।

भक्तपुरमा व्यापार गरिरहेका श्रीराम खाइजु यतिबेला पसल बन्द गर्ने कि चलाउने दोधारमा परेका छन् । उनले साडीको व्यापार गर्न लागेको २५ वर्ष भयो । तर अहिले उनको पसलमा पहिले देखि चिनजानमा रहेका ग्राहक बाहेक अरु छिर्दैनन् । उनको पसलमा सामान नभएको हैन । तर पनि ग्राहकको अभाव छ । उनी भन्छन्,‘ पहिला पहिला यो समयमा भ्याइ नभ्याइ हुन्थ्यो, अझ मैले त तीजदेखि दशैँ तिहारसम्मको लागि अरु स्टाफ नै राखेर व्यापार गर्थे अहिले त आफ्नो पनि काम हुँदैन ।’

उनलाई व्यापारमा उनको श्रीमतीले सघाउने गरेकी छिन् । ६० वर्ष पुगेका खाइजु अब भने व्यापार गर्ने कि छाड्ने ? दोधारमा छन् । आफ्नो पसलमा राम्रो सामान हुँदा हुँदै पनि आजकाल सस्तो र एकपटक मात्र प्रयोग गर्ने सामानमा ग्राहक भुलेको उनी गुनासो गर्छन् । ‘मेरो सँगै पसल राख्नेहरुले पसल छाडि सके, म त मन भुलाउन भए पनि पसल खोल्छु,’ उनी भन्छन् । आफ्नै घरमा पसल राखेको हुनाले समय बिताउन भए पनि पसल बन्द नगरेको उनको भनाइ छ । ‘भाडा तिर्नु पर्दैन जति हुन्छ हुन्छ अब के गर्नु समय नै यस्तै आइसक्यो’ खाइजुले भने ।

तीजको बेला ममी र आफूलाई सपिङ गर्न गएकी अर्पना थापा धुँवा, धुलोमा यताउता हिड्न भन्दा अनलाइनबाट सामान हेरेर त्यही पसल गएर सामान किन्न रुचाउँछिन् । उनी टिकटकमा कुनै सामान मन पर्यो भने त्यो पसल गएर त्यहीँ सामान ल्याउँछिन् । उनी भन्छिन्, ‘धेरै पसल डुल्ने समय छैन, त्यसैले धेरै सामान त अनलाइनबाट नै मगाउँछु तर कहिलेकाँही गुणस्तरहिन सामान पर्ने भएकोले पसल नै आउँछु ।’ धेरै पसल जाँदा समयको साथै अहिले अनावश्यक रोगहरु फैलिरहेकोले शतर्क रहेको बताउँछिन् । अनलाइनमा सामानको फिक्स रेट हुने भएकोले पनि उनलाई सहज हने गरेको छ । ‘अन्त गयो भने बाग्रेनिङ गर्न दिक्क लाग्छ त्यसैले पनि म अनलाइनबाट नै सामानहरु लिन रुचाउँछु’, उनले भनिन् ।

अनलाइनबाटै सामान अर्डर गरेपछि घरघर होम डेलिभरी हुने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । कोभिडको समयबाट अनलाइन व्यापार फस्टाउन थालेको हो । त्यसबेला मानिसहरु कतै नहिड्ने हुँदा सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्ट्राग्राम, टिकटक लगायतबाट गरिने अनलाइन व्यापार विस्तार हुँदै गएको हो । पसलमा भौतिक रूपमै उपस्थित भएर सामान खरिद गर्न नसकेका÷नचाहेका ग्राहकहरूलाई अनलाइन किनमेलले निकै राहत दिइरहेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउन यता यो व्यवसाय थप फस्टाउँदै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा विभिन्न अनलाइनले आफ्नो सेवा विस्तार गर्ने क्रम बढ्दै गएको छ । ग्राहकको मागअनुसार सामग्रीहरू घरघरमै पु¥याएर सेवा दिने भएकोले पनि अनलाइन व्यापार लोकप्रिय बन्दै गएको छ । इन्टरनेट सेवाको बढ्दो पहुँचले गर्दा यसको प्रयोग बढेको हो । उपभोक्ता र व्यवसायीहरू पनि त्यसमा सुरक्षित हुने हुनाले बढी लागेको देखिन्छ ।

यता टिकटकको माध्यमबाट व्यापार सुरु गरेका व्यापारी भने यतिबेला आफ्नो व्यापारबाट मख्ख छन् । तीन जना मिलेर नयाँ बानेश्वरमा र बुटवलमा खोलिएको पसल टिकटकका ग्राहकले चलिरहेको छ भन्दा फरक पर्दैन । लोकेशन राम्रो भए पनि टिकटकले नै पसल चलेको थ्री सिस्टर कलेस्सनको व्यापारी अनामिका भुसाल बताउँछिन् । टिकटकले ७० प्रतिशत व्यापार गरेको र ३० प्रतिशत मात्र अन्य ग्राहकले चलेको उनको भनाई छ । उनको पसलमा साडी, कुर्था, सरुवाल लगायतका सम्पूर्ण लेडिज सामान छ । त्यसैले पनि व्यापारमा सहयोग पुगेको उनी बताउँछिन् । २ वटा पसलमा गरेर दैनिक झण्डै ५ लाखसम्मको कारोबार हुने गरेको छ ।

अहिले तीजको सिजन भएकोेले गर्दा साडीको माग झनै बढेको छ । पहिला अनलाइन व्यापार गर्ने गरिएको थियो । तर पछिल्लो समय भने अनलाइन मात्रै हुँदा मान्छेले धेरै विश्वास नगर्ने भएको हुनाले पसल नै खोल्नु परेको उनको भनाई छ । दुईवटा पसलमा अहिले ५ जना स्टाफ राखिएको छ । उनी भन्छिन्,‘ बुटवलबाट सुरु गरिएको अनलाइन व्यापारले यहाँसम्म पुगियो ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भदौ २०८०, मंगलबार  १३ : ५० बजे