सिटिजन लाइफको आईपीओ बिहीबार बाँडफाँड हुँदै

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भदौ २८ गते बिहीबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार भदौ २८ गते दिउँसो २ बजे क्यापिटलको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा बाँडफाँड हुने भएको हो । बिहीबार सेयर बाँडफाँ गर्ने तयारीका लागि कम्पनीले भदौ २५ गते सोमबार प्रि अलटमेन्ट सम्पन्न गरेको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा ९ लाख जनाले १० कित्ताका दरले आईपीओ पाउनेछन् । इन्स्योरेन्सको आईपीओमा अन्तिम दिन शुक्रबार साँझ ५ बजेसम्म कुल १५ लाख १० हजार ६९३ वटा आवेदन परेको तथ्याङ्क छ ।

सिटिजन लाइफ इन्स्योरेन्समा अन्तिम दिनसम्ममा ४० प्रतिशतले नपाउनेगरी अधिक आवेदन परेको छ । तथ्याङ्कलाई आधार मान्दा ६ लाख १० हजार ६९३ जना अर्थात ४०.४२ प्रतिशत आवेदको हात खाली हुने देखिएको हो । कुल आवेदकको ५९.५८ प्रतिशत अर्थात प्रति एक सय जना आवेदकमध्ये ६० जनाले मात्र सिटिजन लाइफको आईपीओ हात पार्नेछन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनुसार अन्तिम दिनसम्म १ करोड ६७ लाख ९० हजार १८० कित्ता खरिदका लागि सर्वसाधारणले ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा १.८६ गुणा हो ।
कम्पनीले भदौ १५ देखि भदौै १९ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्रीमा ल्याएको थियो ।

एक अर्ब ५४ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने

इन्स्योरेन्स कम्पनीले अंकित मूल्य १०० मा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर २४४ रुपैयाँमा दरमा आईपीओ बिक्री खुला गरिएको हो । प्रिमियमबाट मात्रै कम्पनीले कुल १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ । सार्वजनिक निष्कासन मार्फत संकलन हुने २ अर्ब ६६ करोड ४० लाख रुपैयाँमध्ये अंकित मूल्यका हिसाबले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीमा जोडिनेछ । यस्तै प्रिमियम वापत संकलन हुने १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ जगेडा कोषमा जम्मा हुनेछ । उक्त रकम कम्पनीले सेयरधनीलाई बोनस वितरण प्रयोजनका लागि उपयोग गर्न सक्दछ ।

सर्वसाधारणमा जारी ९० लाख कित्ता सेयरबाट मात्रै कम्पनीले १ अर्ब २९ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गर्नेछ । यसबाहेक कम्पनीले म्युचुअल फन्डलाई आरक्षित सेयर ५ लाख ६२ हजार ५०० कित्ताबाट ८ करोड १० लाख र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई बाँडफाँड गरेको ११ लाख २५ हजार कित्ता सेयर बिक्रीबाट १६ करोड २० लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले कर्मचारीलाई आरक्षित गरेको ५ लाख ६२ हजार ५०० कित्ता भने अंकित मूल्यमा नै बिक्री गरेकाले प्रिमियम संकलन गरेको छैन ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कुल निष्कासशित सेयरको १० प्रतिशत (११ लाख २५ हजार) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि, ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) इन्स्योरेन्सका कर्मचारीहरुका लागि, ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९० लाख कित्ता सर्वसाधारणमा जारी भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।