बालाजी इन्टरप्राइजको सञ्चालन आम्दानीमा गिरावट


नेपालभर खाद्य पदार्थ बिक्री वितरण गर्दै आएको बालाजी इन्टरप्राइजेज प्रालिको आम्दानीमा गिरावट आएको छ । आर्थिक वर्ष २०७८\७९ मा कम्पनीले ४ अर्ब ८० करोड सञ्चालन आम्दानी गरेको थियो ।

गत आर्थिक वर्ष २०७९\८० को ९ महिना अवधिमा कम्पनीले ३ अर्ब २ लाख सञ्चालन आम्दानी गरेको छ । गत आवको ९ महिना अवधिको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी १७ प्रतिशतले घटेको हो ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले विशेषतः खाद्य पदार्थ, दाल र गाईभैंसीलाई आवश्यक पर्ने दानाहरुको आयात र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मुख्यतः भारतबाट कच्चा पदार्थको आयात गर्ने गरेको छ । भारतबाट कच्चा पदार्थ आयात गरी कम्पनीले प्रशोधनका लागि मिलहरुमा बिक्री गर्छ । प्रशोधित खाद्य पदार्थलाई कम्पनीले रिटेलरहरुलाई बिक्री गर्ने गरेको छ । यस्तै गाईभैसीको लागि आयात गरेको दाना कम्पनीले पशुपालनमा संलग्न भएका कम्पनीहरुलाई बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा बबिता कुमारी सिस्काको लगानी रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक मुकेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत नितीन अग्रवाल रहेका छन् । कम्पनीले ७७ करोड ४३ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७ करोड ४३ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ७० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको २.७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।