नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त


नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । भदौ ३१ गते आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पोख्रेललाई आइतबारदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि पोख्रेल नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्षभन्दा बढी समयको कार्य अनुभव बटुलेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा मर्चेण्ट विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि संस्थाको प्रमुख कार्यकारी अधिकृतमा देवराज अधिकारी कार्यरत थिए । उनको सेवा अवधि पुरा भएपछि पोख्रेल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको मर्चेण्टको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।