राष्ट्रिय एकता र सदाचार स्थापना गर्न समुन्नत नेपाल गुठी र यात्री मिडियाबीच ५ वर्षे सम्झौता

0
Shares

समुन्नत नेपाल गुठी र यात्री मिडियाबीच पाँच वर्षे सम्झौता सम्पन्न भएको छ । दुई संस्थाबीच राष्ट्रिय एकता र आत्मनिर्भरताका साथै सदाचार स्थापना, भ्रष्टाचार नियन्त्रण र परराष्ट्र सम्बन्धका विषयमा जनतामा चेतना जगाउने रचनात्मक कार्यक्रम निर्माण गर्न सम्झौता भएको हो ।

आइतवार एक समारोहबीच समुन्नत नेपाल गुठी र यात्रीमिडिया नेटवर्क प्रालिबीच समान उद्देश्य रहेका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । गुठीका तर्फबाट अध्यक्ष सूर्यनाथ उपाध्याय र यात्री मिडियाका तर्फबाट प्रवन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले हस्ताक्षर गरेका छन् ।

पाँच वर्षका लागि गरिएको समझदारी पत्र दुबै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुने र दुबै पक्षको सहमति अनुसार यस समझदारीपत्रको अवधि आशय–पत्रको माध्यमबाट थप्न सकिने बताइएको छ ।

दुई संस्थाबीचको सहकार्यले राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता, सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण अनि साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण गर्न र परराष्ट्र सम्बन्ध सुधार्न सहयोगी भूमिका निर्वाह गर्ने बताइएको छ ।

साथै राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरसहितको समृद्ध नेपालको स्थापनामा सधै रचनात्मक भूमिका निर्वाह गर्ने समझदारीपत्रमा उल्लेख छ । उक्त समझदारी पत्रको भावमा रहि विभिन्न क्षेत्रहरुमा अध्ययन, अनुसन्धान गर्ने र त्यसका नतिजाका आधारमा नीति–निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह दिने तथा पैरवी, जागरण र उत्प्रेरणा मार्फत् जनतामा सचेतना जागृत गर्ने कार्य गरिनेछ ।

त्यसैगरी राष्ट्रिय हित र चासोको विषयमा वृतचित्र, छोटा श्रव्य–दृश्य र टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माण गरी त्यसमार्फत जनतालाई सुसुचित गर्ने र लक्षित समूहहरुलाई राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता, सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण, साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण गर्न र परराष्ट्र सम्बन्धका विषयमा विभिन्न प्रकारका क्षमता वृद्धिका कार्यक्रम र तालिम प्रदान गरिन उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।