विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही हुन्छ : बालेन


काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।  बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बालेनले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

मेयर बालेनले विद्यार्थीलाई अनिवार्य शिक्षा पाउनुपर्ने अधिकारबाट बञ्चित नगर्न सचेत गराएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनु होला । यस्ता अवरोध पुर्‍याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’

उनले काठमाडौंको शिक्षा नीति र जुम्लाको शिक्षा नीति फरक हुने पनि जनाएका छन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०, हजार भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रीत आन्दोलन सुरु भएपछि काठमाण्डौं महानगरले पनि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको थियो । विद्यालय बन्द गरेर विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई सचेत गराएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ असाेज २०८०, बिहीबार  ०६ : ४५ बजे