आर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका प्रधानमन्त्री दाहालले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गर्नुभएको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भने, “नेपालको इतिहास नागरिकको सङ्घर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो सङ्घर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो ।”

नेपालले २००७ सालमा सम्पन्न गरेको जहानियाँ राणाशासन र २०४६ सालको प्रजातन्त्रको लडाईंको स्मरण गर्दै उनले भने, “नेपालको इतिहास जहानियाँ शासनविरुद्धको आन्दोलन सन् १९५० देखि सुरु भएको हो । त्यो सन् १९९० मा थप सशक्तरूपमा देखापरेको थियो ।”

जलवायु परिवर्तनको असरबारे चर्चा गर्दै उनले भने , “नेपालले पेरिस सम्झौताको अक्षरशः पालना गर्दै आएको छ । सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न हामी तयार छौँ । नेपालको २५ प्रतिशत भूभाग जङ्गल रहने प्रतिबद्धता पूरा गर्छौँ ।”

अल्पविकसित देश भएर पनि नेपालले विकास र वातावरणको सन्तुलनमा सदैव ध्यान दिँदै आएको स्मरण गर्दै उनले भने, “हामीले बारम्बार भन्दै आएका छौँ कि विकसित देशहरूले सन् २०२५ सम्ममा जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकम उपलब्ध गराउनुपर्छ ।”

प्रधानमन्त्री दाहालले प्रजातन्त्र, मानवअधिकार, न्याय र सशक्तीकरणमा नेपाल र अमेरिकाको मान्यता समान रहेको धारणा राखे । नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पु¥याएको योगदानको चर्चा गर्दै उनले अमेरिकी सहयोग नियोगले यसलाई निरन्तरता दिँदै आगामी पाँच वर्षभित्र ६५ करोड ९० लाख अमेरिकी डलर सहायता दिने कुरा महत्त्वपूर्ण भएको बताए ।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्ले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित पारित गरेको र यसलाई समयमा नै कार्यान्वयन गरी सम्पन्न गर्न तयार भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । “सन् २०२६ मा मध्यमस्तरको विकासशील राष्ट्रमा जाने तयारी गरेका छौँ, यसका लागि हामीलाई विकास साझेदारहरूको अझै बढी र महत्त्वपूर्ण सहयोगको खाँचो छ ।” रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असाेज २०८०, बिहीबार  ०९ : ३६ बजे