खाजा बेचेरै मासिक एक लाख बचत


एक दशक विदेशमा पसिना बगाएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन छन् ।

चितवन रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आएका उनलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ । बिहानदेखि रातिसम्म पारिवारिकरुपमा गरिएको व्यवसायमा तल्लीन रहने काफ्ले समय बिहान उठेदेखि ग्राहकको खाजा जोरजाम र खाजा खुवाउँदैमा बित्ने गरेको छ । दिनभरिका लागि आवश्यक पर्ने खाजाका परिकारको तयारीमा बिहानदेखि नै काफ्ले दम्पती जुट्छन् । जब अपराह्न हुन्छ तब काफ्लेलाई ग्राहकको मागअनुसारको परिकार बनाउन भ्याइनभ्याइ हुन्छ ।

जिम्मेवारीले थिचेपछि उच्च शिक्षा अध्ययन गर्दैगर्दा सन् २००६ मा रोजगारीको सिलसिलामा उनी साउदी लागेका थिए । घरको आर्थिक अवस्था र गाउँ छिमेकमा कसैले विदेशमा राम्रो कमाइ हुन्छ भनेपछि उनको मन विदेशतिर ढल्कियो । विदेश पुगेपछि मात्र काफ्लेले त्यहाँको वास्तविकता थाहा पाए।

साउदी, दुबई र कतारसम्मको बसाईका क्रममा उनलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने लागेर नेपाल फर्किए । वैदेशिक यात्राका क्रममा समेत होटलमा काम गरेका काफ्लेलाई सुरुआती समयमा भने यहाँ आएर व्यापार गर्न लाज लागेको थियो । वैदेशिक यात्राका क्रममा कमाएको केही रकम घरायसी व्यवहार मिलाउँदा सकिएपछि साथीसँग ५० हजार रुपैयाँ सापटी र श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका उनी अहिले राम्रो आम्दानी हुन थालेपछि निकै उत्साहित भएका छन् । आशिका दिपिका खाजा घरको नाममा ठेलामा व्यवसाय गर्दै आउनुभएका काफ्लेले व्यवसायलाई विस्तार गर्दै सटरसम्म पुर्याएका छन् ।

विदेशबाट फर्किएपछि आम्दानीको स्रोत केही नभेट्टाएर अवसरको खोजीमा लागेका उनले विगत छ वर्षदेखि व्यवसाय गर्दै आएका हुन् । काठमाण्डौं, हेटौँडा र नारायणगढसम्म ठेलामा व्यवसाय गरेको देखेपछि यो व्यवसाय रत्ननगरमा समेत राम्रो हुने भन्दै त्यता लाग्नुभएका काफ्ले सुरुआती दिनमा भएको कमाइ सम्झदा अहिले पनि विदेश जाउँ की जस्तो लाग्ने गरेको बताउँछन् ।

सुरुआतमा दिनको तीन सय रुपैयाँ मात्रै व्यापार हुँदा हतोत्साहित भएका उनी पछिल्ला दिनको व्यापारमा भने सन्तुष्ट छन् । काफ्ले भन्छन्,“निरन्तर ग¥यो भने जुनसुकै काममा पनि सफल भइदोरहेछ ।” खाजाको रुपमा उनले अहिले मःम, ससेज, लालिपक, पकौडा, आलुचप, लेगपिसजस्ता परिकार बिक्री गर्दै आएका छन् । काफ्ले खाजाको गुणस्तरमा भने कुनै सम्झौता नगर्ने बताउँछन् ।

बिहान ल्याएको सामान बेलुकासम्म सकिने बताउँदै उनी अहिले एक दिन व्यापार बन्द ग¥यो भने ग्राहकको गाली सुन्नुपर्ने बताउँछन् । “अहिले दैनिक २० हजार रुपैयाँसम्मको व्यापार हुँदै आएको छ,” काफ्ले भन्छन्,“खर्च कटाएर मासिक एक लाख रुपैयाँ बचत हुन्छ ।”

आफ्नो ग्राहक ५० प्रतिशत विदेश पलायन भइसकेको बताउँदै उनी आम्दानी हुँदाहुँदै पनि यहाँ बसेर भविष्य बन्दैनकी भन्ने समस्याले भने झस्काइरहने गरेको छ । काफ्ले थप्छन्, “अहिले ठिकै छ । छोराछोरीको भविष्यका लागि फेरी विदेशिनुपर्ने हो की भन्ने लाग्थ्यो तर विदेश जाने सोच भने छैन ।” विदेशिने युवालाई आफ्नै माटोमा केही गर्न आग्रह गर्दै उनी सीप सिकेर मात्रै विदेश जान आग्रह गर्छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असाेज २०८०, शुक्रबार  १२ : ३९ बजे