उद्योग सञ्चालनका लागि पुँजी अभाव भएपछि रघुपति जुट मिल्सले ६५ करोड कर्जा लिँदै

0
Shares

पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको मन्दीका कारण उद्योग, कलकारखानाहरु बन्द हुने अवस्थामा पुगेका छन् । मन्दीको समयमा उद्योग सञ्चालनका लागि पुँजी अभाव भएपछि श्री रघुपति जुट मिल्सले ६५ करोडको कर्जा लिने भएको छ ।

कम्पनीले ६५ करोड ३० लाख बराबरको अल्पकलाीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले ६५ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको हो ।

सन् १९४६ मा तत्कालीन नेपाल सरकार र केही भारतीय लगानीकर्ताको लगानीमा निर्माण भएको जुट मिल सन् १९९६ मा सरकारले जुट मिल सञ्चालनमा निरन्तरता दिन नसकेपछि निजीकरण गरिएको थियो । त्यसबेला गोल्छा संस्थान अन्तर्गतको एरिहन्ट मल्टी फाइबर्सले खरिद गरेपछि जुट मिल निजीकरण भएको थियो ।

हाल कम्पनीमा एरिहन्ट मल्टी फाइबर्सको लगानी ६५ प्रतिशत रहेको छ भने नेपाल सरकारको लगानी ३३ प्रतिशत र २ प्रतिशत लगानी सर्वसाधारणको रहेको छ । निजीकरण पछि कम्पनीको अवस्थामा सुधार आउनुका साथै कम्पनीले उत्पादन पृद्धि समेत गरेको छ । यस कम्पनीको निजीकरणलाई नेपालको सफल निजीकरण मान्ने गरिन्छ ।

कम्पनीले हाल ३ हजार मानिसहरुलाई रोजगारी दिएको छ । मोरङ जिल्लाको बिराटनगरमा कम्पनीको कारखाना रहेको छ । कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा १९ हजार पाँच सय मेट्रिक टन छ । कम्पनीको नेतृत्व गोल्छा संस्थान अन्तर्गतको आरके गोल्छा ग्रुपले गरिरहेको छ ।

आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कम्पनीले १ अर्ब ९२ करोड २० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५८ करोड १० लाख सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो आवको सञ्चालन आम्दानीसँग गत आवको आम्दानी तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानीमा १३ करोडको गिरावट आएको छ ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै अन्य वित्तीय सूचांकमा समेत त्यसको प्रभाव परेको छ । गत आवको ९ महिनामा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ७.२८ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा ८.०२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा कम्पनीको चालु पुँजी खर्च समेत बढेको छ । अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको २३ प्रतिशत रहेको चालुँ पुँजी गत आवको ९ महिनाा १० प्रतिशत विन्दुले बढेर ३३ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुुक्तानी गर्ने क्षमतामा समेत ह्रास आएको छ। अघिल्लो आवमा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ६.२९ गुणा थियो भने गत आवमा उक्ता क्षमता घटेर २.९८ प्रतिशत पुगेको छ ।

देशमा पछिल्लो समयमा देखिएको मन्दी र भारतले जुट उद्योगको कच्चा पदार्थको खरिदमा बढाएको भन्सारका कारण कम्पनीको आम्दानी प्रभावित बनेको छ । कम्पनीले भारत र बाङ्लादेशबाट कच्चा पदार्थ आयात गर्ने गरेको छ । यस्तै जुटको सामाग्री निर्माण भइसकेपछि भारतमै आयात गर्ने गरेको छ । गत आवको ९ महिनामा भएको कुल व्यापारमा कम्पनीले भारतसँग गरेको व्यापारको हिस्सा ९६ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।