बेइजिंगमा नेपाल-चीन बिजनेस समीट आयोजना हुँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समीट हुँदैछ ।

द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । समीट सेप्टेम्बर २४ आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ ।

उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ । नेपालका तर्फबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समीटमा सहभागिता जनाउँदैछन् । समीटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।

समीटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछन् । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिसँगको सहकार्यमा नेपाल भारत बिजनेस समीट आयोजना गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।