नेपालगञ्ज–गुलरिया सडक विस्तार द्रुत गतिमा, दुई अर्ब ६९ करोड खर्च हुने अनुमान


नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ । साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए ।

“पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो”, उनले भने, “अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।” साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ । बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

उनले नेपालगञ्ज–गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गरे । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे ।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोड रुपैयाँ खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताए ।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको बताए । उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए । “हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ”, उनले भने,“सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।” रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ असाेज २०८०, सोमबार  ०८ : २५ बजे