विदेशबाट आउँदा ल्याउन पाइने सामानमा भन्सार लचक, के-के ल्याउन पाइन्छ ?


वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशबाट आउँदा ल्याउन पाइने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय लचकदार बनेको छ । पहिलेको व्यवस्था परिमार्जन गर्दै कार्यालयले टेलिभिजन, मोबाइल र सुनका गहनामा नयाँ व्यवस्था ल्याएको हो ।

अब विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने भएको छ । त्रिवि भन्सार कार्यालयले आज सूचना जारी गर्दै श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था गरेको हो ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ । त्यस्तै, अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ ।

यस्तै विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने भएको छ । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यावस्था गरेको छ तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्ने त्रिवि भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

यता महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नर्पो व्यापस्था गरिएको छ । पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था गरिएको छ ।  गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने त्रिवि भन्सार कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०८०, मंगलबार  १२ : २६ बजे