ऋण तिर्न र सट्टेवाजी रोक्दा बढेन कर्जा, कृत्रिम आर्थिक गतिविधि बढाउन अर्थमन्त्रीको ध्यान

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि विस्तारको बाधकको रुपमा मौद्रिक नीतिलाई लिने गरेका छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका महतले सेयर बजार र घरजग्गा कारोबार बढाएर तत्कालका लागि आर्थिक गतिविधि विस्तार गर्न खोजेका हुन् ।

आर्थिक गतिविधि बढाउनका लागि अर्थमन्त्रीले बारम्बार सेयर बजार र घरजग्गाका नीति खुकुलो बनाउने पहल गर्दै आएका छन् । अर्थमन्त्रीले राष्ट्र बैंकलाई सेयर बजार र घरजग्गामा कर्जा लगानी सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउन दाबाब दिने गरेका हुन् । उनले अर्थतन्त्रमा माग नबढ्नु, सर्वसाधारणको आम्दानीमा सुधार नआउनु तथा कर्जा विस्तार नहुनुको कारण सेयर र घरजग्गाको कर्जाका गरिएको कडाइलाई देखाउँदै आएका छन् ।

पछिल्लो समयमा अर्थमन्त्रीले घरजग्गाको कित्ताकाट पनि खुलाएका छन् भने सेयर कर्जामा केन्द्रीय बैंकले तोकेको १२ करोडको सीमालाई पनि हटाउन दबाब दिँदै आएका छन् । गत असोज ४ गते बसेको उच्चस्तरिय वित्तीय समन्वय समितिको बैठकमा समेत केन्द्रीय बैंकले तोकेको एकल ग्राहक कर्जा सीमालाई हटाउन केन्द्रीय बैंकलाई अनौपचारिक निर्देशन दिइएको थियो । यसले पनि आर्थमन्त्रीलाई सेयर बजार र घरजग्गाको कारोबार बढाएर अर्थतन्त्रले गति लिने बुझाई रहेको स्पष्ट हुन्छ ।

अर्थतन्त्रमा देखिएको अहिलेको समस्या भनेको कोरोना महामारीमा राष्ट्र बैंकले बढाएको मुद्राको अधिक आपूर्ति (मानि सप्लाई) हो । केन्द्रीय बैंकले कर्जा प्रवाहको नीति खुकुलो बनाई वित्तीय प्रणालीमा नयाँ पैसा छापेर समेत पठायो । त्यसरी प्रणालीमा आएको पैसा तत्काल आम्दानी हुने अनुत्पादक क्षेत्रमा गयो । घरजग्गा र सेयर बजारमा परिचालन भएको पैसाले छोटो अवधिमै उच्चतम प्रतिफल बनायो । फलस्वरुप आयात उच्च भयो । उच्च आयातका कारण अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब बढ्यो । अर्थतन्त्रको बाह्य क्षेत्रको दबाबलाई कम गर्न सरकार तथा केन्द्रीय बैंकले आयातलाई नियन्त्रण गर्यो । आयातलाई नियन्त्रण गर्दा राजश्व संकलनमा असर ग्रयो ।

केन्द्रीय बैंकले कोरोना अवधिमा गरेको गल्तिलाई सच्चाउने तथा वित्तीय प्रणालीको जोखिम न्यूनीकरणमा केन्द्रीय नीतिको अबलम्बन गर्यो । केन्द्रीय बैंकले आयात घटाउने र आन्तरिक उत्पादन बढाउने उद्देश्य अनुसार कर्जा प्रवाह नीति लियो । सो अनुसार केन्द्रीय बैंकले कर्जा तिर्नका लागि कर्जा दिने, अप्रत्यक्ष रुपमा सेयर र घरजग्गामा लगानी गर्ने बाटाहरु बन्द गर्यो । त्यसले कर्जाको माग नै सुस्त भयो ।

विगतका दिनमा कर्जा तिर्नका लागि, व्यक्तिगत कर्जा वा ओरड्राफ्ट मार्फत सेयर र घरजग्गामा लगानी गर्ने तथा कर्जा तिर्न कर्जा लिने अभ्यासलाई कडाइ गर्यो । यी क्षेत्रमा कर्जा लगानी कडाइ गर्दा उद्योगी व्यवसायीले नयाँ कर्जा लिने आँट नै गरेनन् । पुरानो कर्जा तिर्नुपर्ने तथा अनुत्पादक क्षेत्रको कर्जा लगानी समेत घटाउनुपर्ने भयो । त्यसले गर्दा उद्योगीलाई उद्योग व्यवसाय विस्तार गर्नभन्दा पनि कर्जा सेटल गर्नमा केन्द्रीय हुनुपर्ने भयो । नयाँ कर्जा लिनका लागि नयाँ योजना, उद्योग व्यवसाय आवश्यक भयो । विगतमा जस्तो एउटै व्यवसायलाई देखाएर विभिन्न शीर्षकमा कर्जा लिने र त्यो कर्जाको रकमलाई पनि तोकिएभन्दा अन्य क्षेत्रमा लगानी गर्न अभ्यास बन्द भएपछि कर्जाको माग हुन छाड्यो ।

सोही समयमा रसिया र युक्रेन युद्धले विश्वभरी नै मूल्य वृद्धि बढायो । मूल्यवृद्धि नियन्त्रण गर्नका लागि विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदर बढाउने नीति अबलम्बन गर्न थाले । सोही अनुसार केन्द्रीय बैंकले पनि ब्याजदर बढायो । ब्याजदर बढेकाले पनि कर्जाको माग घटाउन थप मद्दत गर्यो । त्यसका साथै बढ्दो महङ्गीका कारण समग्र बजारको मागमा कमी आउन थाल्यो ।

आयातमा आधारित अर्थतन्त्र तथा सरकारी राजश्वका कारण पनि समस्या बढेको हो । आयात बढाउन खोज्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब पर्ने र निर्यात बढाउनका लागि आन्तरिक उत्पादन विस्तार हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा अर्थमन्त्री महतले भने अल्पकालीन रुपमा आर्थिक गतिविधि बढाउन सेयर बजार र घरजग्गाको कारोबारलाई गति दिन दबाब दिँदै आएका छन् । सेयर र घरजग्गामा लगानी विस्तार हुँदा पुनः आयात बढ्ने र अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब पर्ने निश्चित छ । बैंकिङ क्षेत्रको लगानी पनि ब्यापार तथा अनुत्पादक क्षेत्रमा केन्द्रीय भएकाले अर्थतन्त्रको संरचनागत सुधारको आवश्यक रहेको एक अर्थशास्त्रीले बताए ।

“सरकारले सेयर बजार र घरजग्गाको कारोबारलाई गति दिई पैसाको चक्रलाई गति दिन खोजेको देखिन्छ,” ती अर्थशास्त्रीले भने, “यो भनेको तत्काल पैसालाई गति दिन खोजेको हुन सक्छ, यसले अर्थतन्त्रको दीर्घकालीन समाधान भने गर्दैन ।” अहिले कुनै एक क्षेत्रमा रहेको पैसालाई परिचालन हुने अवस्था सृजना गरिएको खण्डमा अल्पकालीन आर्थिक गतिविधि विस्तार हुने उनको बुझाई छ । तर, स्प्याकुलेटिभ मार्केटलाई खुकुलो बनाएर पैसालाई गति दिन खोज्दा विगतको समस्या नदोहोरियोस् भन्नेमा अर्थमन्त्रालय र राष्ट्र बैंक सचेत हुनुपर्ने उनको सुझाव छ । नयाँ कर्जाको माग नहुनु भनेको कर्जा परिचालनको विकृति केन्द्रीय बैंकले रोक्दाको असर देखिएको उनले बताए ।

अर्थतन्त्रमा देखिएको समस्याको समाधान सेयर बजार वा जग्गाको कारोबार बढाएर समाधान नहुने अर्थमन्त्रालयका एक अधिकारीले बताए । “विगतमा पनि पैसा जति सेयर र घरजग्गामा गएकाले समस्या आएको हो,” ती अधिकारीले भने, “केन्द्रीय बैंकले विगतको समस्या नदोहोरिने गरी उत्पादन बढाउन र सर्वसाधारणको आम्दानी बढ्ने नीति लिएको छ ।” केन्द्रीय बैंकलाई दबाब दिएको सेयर र घरजग्गामा लगानी बढाउने अवस्था सृजना गर्दा अर्थतन्त्रमा सुधार आउने अवस्था नरहने उनको बुझाई छ ।

पछिल्लो समयमा सरकारले नै आर्थिक गतिविधि बढाउन सेयर बजारमा केन्द्रीय बैंकले लगाएको सीमा हटाउन दबाब दिँदै आएको छ । त्यसका साथै सरकारले घरजग्गाको कारोबार सहज बनाउन यसभन्दा अघिको तुलनामा झनै सहज कित्ताकाटको नीति लिएको छ । यो क्षेत्रमा लगानी बढ्नु भनेको सम्पत्तिको मूल्य बढ्नु हो । सम्पत्तिको मूल्य बढ्दा आयात बढ्ने, माग बढ्ने, मूल्य वृद्धि हुने जस्ता समस्याहरु अर्थतन्त्रमा देखिन्छ । त्यसैले सरकारले उत्पादन बढाउने नीति लिनुपर्नेमा सम्पत्तिको मूल्य बढाउने नीति लिन खोज्नु अर्थतन्त्रको लागि सकारात्मक होइन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।