‘अहिले निराशाबीच आशा खोज्ने समय हो, अवस्था सहज भए नेपालमै फ्लोरिङ्ग उत्पादन प्लान्ट हाल्ने योजना छ’

0
Shares

प्रेस्टिज कार्पेट उद्योगका निर्देशक अनिल महेश्वरी विगत २६ वर्षदेखि नेपालमा व्यवसाय गरिरहेका छन् । महेश्वरीले प्रेस्टिज कार्पेट उद्योग पनि स्थापना गरेका छन् भने पाँच वर्ष पहिले स्थापना भएको जेमहोम टेक्सटाइल नामक उद्योगले सोफाका लागि कपडा उत्पादन गर्दै आएको छ । उनी भारतीय ब्राण्ड किङ कोयलको नेपालका लागि आधिकारिक बिक्रेता समेत हुन् ।

राजधानीको भृकुटीमण्डपमा असोज १० गते बुधबारदेखि नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ । नेपाली उत्पादन प्रेष्टिज कार्पेटले एक्स्पोको एशोसिएट पार्टनरका रुपमा सहकार्य गरेको छ । महेश्वरी नै आधिकारिक बिक्रेता रहेको किङ कोयल एक्स्पोको टाइटल स्पोन्सोरमा छ । पछिल्लो समय आर्थिक कृयाकलापमा आएको सुस्तताले उद्योग तथा व्यवसाय सञ्चालनमा समस्या आउँदा सबै क्षेत्रमा जस्तै फर्निचर तथा फर्निसिङ्गमा पनि निराशा देखिएपनि भविष्यमा यस्तो अवस्था नरहने उनको बुझाई छ । मन्दीले समग्र मागमा कमी आएकाले अहिले लगानी विस्तारको अवस्था नरहेकाले सहज भएपछि नेपालमा नै केही फ्लोरङ्ग ब्राण्डका उत्पादन प्लान्ट नै हाल्ने योजना बनाएका महेश्वरीसँग फर्नेक्स २०२३ का साथै समग्र बजारको अवस्थाका सम्बन्धमा गरिएको कुराकानीः–

पछिल्लो दशकमा फर्निचर र फर्निसिङ उद्योग तथा व्यवसायमा तपाईले देख्नुभएको परिवर्तन के हो ?

धेरै परिवर्तन भएको छ । आजभन्दा २०–२५ वर्ष अगाडि जुन कुराको फर्निसिंग फ्लोरिंग बिक्थ्यो, आज त्यो अवस्था अलग भईसकेको छ । पहिला दोकानदारको भरमा सामान किनिन्थ्यो तर अहिले आर्टिटेक्ट, इन्टेरियर डिजाइन सबै अनुमोदन भएपछि मात्र उपभोक्ताले सामान किन्छन् । यो ट्रान्सफर्मेशन ठूलो उपलब्धी हो भन्ने लाग्छ ।

अहिले उद्योगका हिसाबले पनि धेरै परिवर्तन भएको छ । पहिलो हुने आयात विस्तारै हट्दै लोकल फ्लोरिंग र फर्निसिंगको ८५ प्रतिशत सामाग्री अहिले नेपालमा नै बन्न थालिसकेको छ । कार्पेट मात्र नभएर मोड्युलेट फर्निचर, हामीले बिक्री वितरण गरिरहेको डल्फिन कुर्ची, जस्तै भारतमा पनि एकाध हुने उत्पादन अहिले नेपालमा नै बनिरहेको छ । नेपालमा मेसिन नहुँदा सोफाका कपडा भने धेरै आयात हुने गरेको छ ।

काठ बाहिरबाट आयात गरिए पनि फर्निचर भने नेपालमा नै बन्ने गरेको छ । दश वर्षअघि चिनियाँ फर्निचरका बजार बढेको भएपनि राम्रो गुणस्तर नपाउँदा विस्थापित भयो । अहिले ग्राहकहरुको नेपाली फर्निचरमाथि नै आकर्षण बढिरहेको छ ।

बजार असहज छ भनिन्छ, एउटा उद्योगीको रुपमा तपाईले महसुस गरेको अनुभव चाँही कस्तो छ ?

व्यक्तिगत रुपमा भन्नु पर्दा विगतका दिनमा जति सहज अवस्था थियो, त्यो अहिले छँदै छैन । आर्थिक कृयाकलापमा आएको मन्दीले मेरो व्यवसाय तथा उद्योग मात्र नभई समग्र उद्योगहरु प्रभावित बनेको अवस्था छ । कतिपय उद्योग त बन्द हुने अवस्थामा छन् । त्यसमा पनि राज्यले वास्तविकता नबुझी छिनछिनमा गर्ने नीतिगत परिवर्तनले झनै समस्या थपिएको छ ।

यस्ता समस्याको कुरा गर्दै गर्दा हामी अझै पनि आशावादी छौं । मेरो हकमा नै भन्नुहुन्छ भने व्यापारबाट सुरु भएको यात्रा अहिले उद्योगसम्म पुगिसकेको छ । आउने दिनमा वाइनल पीभीसी फ्लोरिंगको पनि उत्पादन सुरु गर्दैछौं । राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय बजारमा धेरैसँग सहकार्य गरिरहेका छौं । भारतको ग्रीन प्यानलको ल्यामिनेट फ्लोरिंगको नेपालको वितरक, ट्राइडेन्ट टावल, जेम फ्लोरिंग लगायतका उत्पादनको बिक्री वितरण हामीले नै गरिरहेका छौं ।

अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण समग्र बजारमा मागको कमी भएको अवस्था छ । यस्तो अवस्था अलि सहज भएको खण्डमा हामीले अहिले बिक्री वितरण गरिरहेका फ्लोरिंग ब्राण्डमध्ये केहीको उत्पादन प्लान्ट नै नेपालमा हाल्ने योजना बनाएका छौं । अहिले कै अवस्थामा चाँही यसै भन्न सकिन्ने अवस्था छैन ।

आर्थिक कृयाकलापमा आएको सुस्तताले कस्तो असर परेको छ ? कसरी पुर्नस्थापित गर्दै हुँदै हुनुहुन्छ ?

व्यापारीक संख्याको हिसाबले बजार विस्तारको क्रम घटेको छैन । केही हदसम्म वृद्धि नै भएको छ । फ्लोरिंग र फर्निसिंगमा विगत ५ वा १० वर्षमा अपेक्षित वृद्धि भएको छ । जसले गर्दा निर्माण र उत्पादन पनि भइरहेको छ । तर, सबै उद्योगहरु यो मन्दीका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । उद्योग बन्द गर्ने कुरा भएन, जसले गर्दा बाध्यात्मक अवस्थामा तल्लो मूल्यमा उत्पादन बिक्री गर्न उद्योगीहरु बाध्य छन् । यो सबै अघि भनेको जस्तै भोलिका दिनमा अवस्था सुधार हुने अपेक्षामा अस्तित्व जोगाउने काम भएको हो ।

कोभिडपछि सरकारी योजना धेरै भएकोले बजार राम्ररी बढेको छ । तर पछिल्लो डेढ वर्षयता आर्थिक मन्दीका कारण सबै परियोजनाहरु रोकिए । जसका कारण एक वर्षमा व्यापार २५ प्रतिशतले घटेको छ । घट्ने क्रम अझै एक वा डेढ वर्ष घट्दो अवस्थामा रहने देख्छु । सरकारका तर्फबाट आर्थिक अवस्था सुधारका लागि ठोस कदम नचाल्दासम्म उपभोक्ताको क्रयशक्ति बढ्दैन । जब उपभोक्तासम्म राज्य कोषबाट खर्च हुने पैसा पुग्छ अनि केही सहज हुन्छ भनेर पर्खिने मात्र अहिलेको विकल्प हो ।

फर्नेक्स २०२३ मा टाइटल स्पोन्सोरमा र एशोसिएट पार्टनरमा ठूलो लगानी गरेर सहभागिता जनाउनु भएको छ, मन्दीका बीच यो कसरी आँट गर्नुभयो ?

मैले अघि पनि भने, निराशाकाबीच आशा खोज्ने हो । अफ्टेरो बेला आयो भनेर सबै चुप लागेर बस्ने हो भने अहिले भएका सबै उद्योग बन्द हुन्छन् । असहज अवस्थामा भोलिको सम्भाव्यतालाई हेरेर असोज १४ गतेसम्म आयोजना हुन गइरहेको नवौं संस्करणको फर्निचर एक्स्पोमा हामीले सहभागिता जनाएका हौं । पाँचदिने एक्स्पो मार्फत नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्य हाम्रो संस्थाले लिएको सन्दर्भमा त्यो उद्धेश्यलाई सघाउँदै आफ्ना उत्पादनको ब्राण्डिङ र प्रवद्र्धन गर्न हामी एक्स्पोमा जोडिएका हौं ।

आज नभए भोलिको बजार बलियो बनाउन एक्स्पोमा टाइटल स्पोन्सोरमा किङ कोयल र एशोसिएट पार्टनरमा प्रेस्टिज कार्पेट गरी २ वटा ब्राण्डलाई मैले एक्स्पोमा सहभागि गराएको छु । भारतदेखि नेपालसम्मका सम्बद्ध पक्षहरुसँगको लामो छलफलपछि मात्र हामीले एक्स्पोमा आफ्ना ब्राण्डलाई अघि बढाउने निर्णय गरेका हौं । यसमा दीर्घकालमा हामीले के पाउन सक्छौं भन्ने अपेक्षा सहित सहभागिता जनाएका हौं ।

एक्स्पोबाट कस्तो अपेक्षा गर्नुभएको छ ?

हाम्रो संघले वर्षेनी यो प्रदर्शनी गरिरहेको छ । उपभोक्ताको ज्ञान बढाउने र प्रर्दशनीमा आइसकेपछि केहि किन्ने सोच आउँछ र यसले बजार फेरि पुनर्जीवित हुन्छ भन्ने एउटा पाटो हो । नेपालमा राम्रो गुणस्तर भएका उत्पादन तयार हुन्छन् र मेड इन नेपाल नै प्रयोग गर्नुपर्छ भनेर सन्देश प्रवाह गर्नका एक्स्पोले मद्दत गर्छ भन्ने लाग्छ, यसले हामीले नेपालमा उत्पादन गर्दै आएका फ्लोरिङका उत्पादनको बजारीकरणमा सहयोग पुग्छ भन्ने हो । पे्रस्टिज कार्पेटमा हामीले धेरै नयाँ उत्पादनहरु सार्वजनिक गरेका छौं । जुन प्रर्दशनीमा राख्नु जरुरी छ । नेपालमा बनेका यस्ता उत्पादनका बारेमा सर्वसाधारणहरुले जान्नु आवश्यक छ ।

कस्टमाइजेसनलाई हामीले प्राथमिकता दिएका छौँं । यो पटक पे्रस्टिज कार्पेटले बजारमा कस्टमाइज गर्न मिल्ने कार्पेट लिएर आएको छ । ग्राहकहरुको रोजाइ अनुसार साइज, डिजाइन र रंगमा कार्पेट बनाउन सक्षम भएको अवस्थामा त्यो कुरा उपभोक्ताले थाहा पाउनुपर्छ भन्ने हो ।
किंग कोइलको कुरा गर्दा हामी चार वा पाँच वटा नयाँ मेटिरियल लञ्च गर्दैछौँ । एक्स्पोको अवसरमा नै ती उत्पादन लञ्च गर्दा एकै पटक उपभोक्तासम्म जानकारी पुग्छ भन्ने अपेक्षा छ ।

नेपाल फर्निचर र फर्निसिङ्गमा कति आत्मनिर्भर छ ?

अहिले हामी समग्रमा फर्निसिङका उत्पादनमा आत्मनिर्भर छौं । हाम्रो पहिलाको शतप्रतिशत आयातको रेसियो अहिले ९० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । अहिले समग्रमा १० प्रतिशतहाराहारी आयात हुँदा ९० प्रतिशत हिस्सा नेपाली उत्पादनले धानेको अवस्था छ । प्लास्टिकका कुर्ची नेपालमै बन्छ, भारतबाट ५ प्रतिशत पनि आउँदैन । कार्पेट ९० प्रतिशत स्वदेशमा उत्पादन हुन्छ । सोफाका कपडाहरु ५० प्रतिशत लोकल र ५० प्रतिशत बाहिरबाट आउने गर्दछ । पीभीसी फ्लोरिङ्ग ७० प्रतिशत लोकल बिक्री हुने गरेको छ । समग्रमा ९० प्रतिशत सामाग्री नेपालमा नै उत्पादन हुने गरेको छ । फर्निचरतर्फको कुरा गर्दा ६० प्रतिशत जति स्वदेशी उत्पादनले धानेको छ जस्तो लाग्छ ।

निर्यातको अवस्था कहिले पुग्ने ?

आयात प्रतिस्थापनको अवस्थामा पुग्नु नै ठूलो कुरा हो जस्तो लाग्छ । अहिले निर्यात नगन्य मात्रा हुन्छ । विश्व बजारमा कस्ट म्याचिङ्ग गर्न नसक्नु, मुलुक भुपरिवेष्ठत हुनु, विद्यमान कानुनी व्यवस्था समय सापेक्ष नहुनु जस्ता कारणले कच्चा पदार्थ र लजिस्टिक खर्च जति छ, अथवा त्यो ठाउँमा पुग्न जुन खर्च लाग्छ, त्यस्तै हामीलाई बाहिरको बजारमा प्रतिष्पर्धी हुनबाट बञ्चित गरिरहेको छ । लजिस्टिक खर्च मात्र व्यवस्थापन गर्न सक्यौं भने निर्यातको हिस्सा भिजिबल बनाउन सकिन्छ । तर, अहिले निर्यात नै नभएको चाँही होइन, तर त्यसको हिस्सा नगन्य छ ।

पछिल्ला केही दिनमा उद्योगमा प्रयोग हुने ग्याँसका विषयमा गरिएको नयाँ व्यवस्थाले कस्तो असर परेको छ ?

यो विषय ज्यादै महत्वपूर्ण छ । म एउटा प्रश्न गर्न चाहन्छु, जसले यो व्यवस्था गर्यो उहाँहरुलाई कि, १४ किलोको ग्यास सिलिण्डरले उद्योग कसरी चल्छ ? यसअघि ३०० किलोभन्दा बढी आकारमा ग्यास रिफिल गरेर चलेका उद्योग अहिलेको नयाँ व्यवस्थाले बन्द हुने अवस्थामा पुगेका छन् । व्यवहारिक पक्षलाई राज्यले बिचार गर्नु पर्दैन ? घरमा खाना पकाउन र उद्योग चलाउने कुरा अलग कुरा हो, तर आयल निगमले गरेको त्रुटीपूर्ण व्यवस्थाले हामी धेरै प्रभावित भएका छौं ।

नेपालमा ६ दर्जन हाराहारी त्यस्ता उद्योग छन्, जसले एलपी ग्याँसको प्रयोग गर्छन् । कसैले प्राविधिक अनुमति नलिएर प्रयोग गरेको होला, तर त्यो कुनै हिसाबले हानिकारक छैन । ग्याँस प्रयोग नगरेमा भुसाहा प्रयोग गर्नुपर्छ नभए डिजेल प्रयोग गर्नुपर्छ जसले वातावरणमा धेरै नै प्रभाव पर्दछ । अर्कातिर लागत पनि बढ्छ । ग्याँस सबैभन्दा किफायती र वातावरणमैत्री हो । अब उद्योगमा पहिलेदेखि जडान भएका ग्यास प्लान्ट हटाएर डिजेल प्लान्ट हाल्नुपर्ने हो ? यसो गर्दा ग्यास प्लान्टमा भएको लगानी कसले व्यहोरिदिने ? यो प्रश्न सम्बन्धित निकायमा पुगोस् भन्न चाहन्छु । किनभने १४ किलोको ग्यास सिलिण्डरले उद्योगमा प्रेसर पुग्दैन । त्यसमा एक वा दुई किलो त प्रयोग नै हुँदैन । राज्य यसमा जवाफदेही हुनुपर्छ ।

अन्तिममा, यो वर्षको फर्निचर एक्स्पोको कस्तो रहन्छ ?

विगतका वर्षहरुमा फर्निचर एक्स्पो धेरै राम्रो हुने गरेको छ । प्रत्येक वर्ष अपग्रेड पनि भइरहेको छ । यो एक्स्पोमा उपभोक्ताहरुको राम्रो उपस्थिति हुने आशा रहेको छ । नेपालमा मात्र नभएर भारतबाट पनि प्रदर्शनी हेर्नका लागि आउनु भएको छ ।

ग्राहकहरु पनि सबैजना आउन्ुस्, उत्पादनहरु हेरेर लैजानुस् । कुन सामान कुन बेला चाहिएको छ हेर्नुस् र विचार गरेर खरिद गर्नुस् । तपाईँहरुको बजेट अनुसारको सामान पाउनुहुनेछ । बजेट कम भएर सामान नपाउने हुँदैन । बजेटमा पनि राम्रो सामान पाउनुहुन्छ । सबैजना आउनुस्, यो प्रर्दशनीलाई सफल पारौँ, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन हातेमालो गरौं ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।