निर्जीवन बीमा ब्यवसायको दुई तिहाई हिस्सा बाग्मतीमा, कर्णालीमा एक प्रतिशतभन्दा थोरै

0
Shares

निर्जीवन बीमा व्यवसायको आधा हिस्सा वाग्मती प्रदेशमा मात्र केन्द्रित देखिएको छ । मुलुक संघीय प्रणालीमा गएको ६ वर्ष भएपछि संघीय राजधानी रहेको बागमति प्रदेशमा मात्रै आर्थिक गतिविधि केन्द्रित हुँदा बीमा व्यवसाय पनि यहि प्रदेशमा उच्च रहँदै आएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०—८१ को भदौ महिनासम्ममा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ९ हजार ८० वटा बीमालेख बिक्री गरी कुल ७ अर्ब ८ करोड ५२ लाख ५१ हजार रुपैयाँको व्यवसाय भएको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दुई महीनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, कृषि तथा बाली र लघुबीमा लगायतका बीमालेखहरुबाट उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरु संकलन गरेको बीमाशुल्कमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । वाग्मती प्रदेशमा मात्र १ लाख ९३ हजार ६७५ वटा बीमालेख बिक्रीबाट ४ अर्ब ८६ करोड १३ लाख ५ हजार बराबरको बीमाशुलक संकलन भएको छ । निर्जीवन बीमा व्यवसायमध्ये वाग्मती प्रदेशमा संकलित बीमाशुल्कको हिस्सा ६८.६१ प्रतिशत बराबर हो । संघीय राजधानी समेत रहेको र अन्य प्रदेशको तुलनामा जनसंख्या पनि सबैभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा पनि कुल निर्जीवन बीमा व्यवसायको ६७.३० प्रतिशत हिस्सा वागमतीमा रहेको थियो । आव २०७९–८० मा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड २१ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा वाग्मतीबाट मात्रै २७ अर्ब ६ करोड ३८ लाख ७६ हजार रुपैयाँ संकलन गरेको थिए ।

यसैगरी नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमाशुल्कको प्रदेशगत विवरण अनुसार दोस्रो नम्बरमा लुम्बिनी प्रदेशमा संकलित बीमाशुल्को हिस्सा ८.४७ प्रतिशत बराबर रहेको छ । उक्त प्रदेशबाट चालु आवको दुई महीनामा ६० करोड १ लाख ६९ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । चालु आवको दुई महीनामा लुम्बिनी प्रदेशमा ६३ हजार २२८ वटा बीमालेख बिक्री भएको छ ।

त्यस्तै, बीमा शुल्क संकलनको आधारमा कोशी र मधेश प्रदेश क्रमश तेस्रो र चौथो नम्बरमा रहेका छन् । साउन र भदौ महीनामा कोशी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ५८ करोड १५ लाख ४९ हजार रुपैयाँ र मधेश प्रदेशबाट ४७ करोड ३९ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कोशी प्रदेशबाट संकलित बीमाशुल्क कुल बीमाशुल्कको ८.२१ र मधेश प्रदेशको ६.६९ प्रतिशत बराबर हो । चालु आवको दुई महीनामा कोशी प्रदेशमा ४८ हजार ६५१ वटा र मधेश प्रदेशमा ३६ हजार ७६९ वटा बीमालेख बिक्री भएको छ ।

गण्डकी प्रदेशबाट साउन र भदौ महीनामा ३७ करोड ११ लाख ६ हजार रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट १४ करोड ५२ लाख १४ हजार रुपैयाँ र कर्णाली प्रदेशबाट ५ करोड १९ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कर्णालीमा संकलित बीमाशुल्क निर्जीवन बीमा व्यवसायबाट संकलित बीमाशुल्कको ०.७३३ प्रतिशत मात्र हो । तथ्याङ्क अनुसार गण्डकी प्रदेशबाट कुल बीमाशुल्कको ५.२४ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट २.०५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षको गण्डकी प्रदेशमा निर्जीवन बीमा कम्पनीहरुले ४१ हजार ९२ वटा, सुदूरपश्चिम प्रदेशमा १९हजार ३३२ वटा र कर्णाली प्रदेशमा ६ हजार ६३३ वटा बीमालेख बिक्री गरेका छन् ।

संघीय राजधानीबाट टाढाको दूरी, बीमा शिक्षा तथा जनचेतनाको कमी रहेको कर्णाली प्रदेशमा बीमाको पहुँच सबैभन्दा न्यून छ । अर्कोतर्फ मुलुक लामो समय केन्द्रीय अवस्थाबाट सञ्चालन भएकाले राजधानी केन्द्रित क्षेत्रमा आर्थिक क्रियकलाप बढेको हुँदा यहि क्षेत्रमा मात्र बीमाको व्यवसाय पनि उच्च रहेको हो ।

नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीको व्यवस्था गरेपनि २०७४ मंसिर ४ को आमनिर्वाचनसँगै प्रदेश सभाको निर्वाचनपश्चात संघीय शासन प्रणाली औपचारिक रुपमै कार्यान्वयनमा आएको हो । संघीयता सफल वा असफल के भयो भन्न हालै वितेको पाँच वर्षको अवधिलाई हेरेर मुल्याङ्कन गर्न हतारो हुने अर्थविद्हरु बताउँछन् । नेपालको संविधानअनुसार मुलुक संघीय व्यवस्थामा प्रवेश गरी स्थानीय तह, प्रादेशिक संसद् र संघीय संसद्को दोस्रो निर्वाचन सम्पन्न भएर ७५३ वटा स्थानीय तहमा स्थानीय सरकार गठन भई काम गर्न थालिसकेका छन् । सातवटै प्रदेशमा सरकार निर्माण भएपनि विकास निर्माण र अवसरहरुलाई सबै प्रदेशमा पुर्याउन नसक्दा आर्थिक गतिविधिमा भने अझै केन्द्रीय मानसिकताभन्दा बाहिर जान सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।