भएकै सुन बिक्री नहुँदा पनि किन बढाइयो आयात कोटा ? मूल्य अझै घट्ने

0
Shares

सरकारले बजारमा भएको सुन खपत हुन नसक्दा पनि आयात कोटा बढाएको छ । बजारको माग अनुसार सुन आयात नहुँदा कालोबजारी बढेको भन्दै व्यवसायीले गुनासो गरेपछि सरकारले आयात कोटा बढाएर २० किलो पु्रयाएको हो ।

अर्थतन्त्रको बाह्य स्थितीमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले २०७८ फागुनमा दैनिक २० किलो सुन आयात कोटालाई घटाएर १० किलोमा झारेको थियो । विदेशी विनिमय सञ्चितिमा आएको दबाब कम गर्न अर्थात विदेशी मुद्राको सञ्चिति घट्न नदिन सुन लगायतका केही बस्तुहरुको आयात नियन्त्रण गरेको थियो ।

आयातमा नियन्त्रण गर्दा सरकारी राजस्व संकलनमा समेत असर पुग्यो । त्यसपछि सरकारले प्रतिबन्ध लगाएका सबै बस्तुहरुको आयात खुला गर्यो । तर, सुन आयातको कोटा भने बढाएको थिएन । विदेशी विनियम सञ्चिति १२.५ महिनाको बस्तु आयातका लागि प्रयाप्त हुने अवस्था भएपछि भने केन्द्रीय बैंकले सुन आयातको कोटा पुनः २० किलो पु्रयाएको हो ।

दैनिक १० किलो सुन आयात गर्दा समेत बिक्री नभएर बैंकहरुमा मौज्दात रहेको छ । नेपाल बैंकर संघका अनुसार गत शुक्रबार सम्ममा बैंकहरुसंग २१० किलो सुन मौज्दात रहेको छ । कालोबजारीको सुन प्रयोग गरेर औपचारीक माध्यमबाट आएको सुनलाई प्रयोग नगर्ने व्यवसायीले कोटा प्रणालीका कारण माग अनुसारको सुन आयात नहुँदा कालोबजारीको सुन प्रयोग गर्न बाध्य भएको तर्क गर्ने गरेका छन् ।

बजारमा कालोबजार नहोस भनेर आवश्यकता भन्दा केही धेरै सुन आयात गरिनु पर्ने माग राख्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताए । “अहिले बजारमा दैनिक सुनको माग १५ किलो रहेको छ,” उनले भने,“सिजनको समयमा ३० देखि ३५ किलोसम्म सुनको माग हुन्छ ।”

औपचारिक माध्यमबाट दैनिक १० किलो सुन ल्याउदा १५ किलोको माग सम्बोधन हुँदै आएको थियो । अहिले खुला गरिएको सुन आयात कोटा दैनिक २० किलो रहेको छ भने बजारको माग भन्द ५ किलो धेरै हो । अहिले सिजन नभएकाले माग दैनिक १५ किलो भएको बताउँदै शाक्यले भने,“सिजनमा दैनिक ३० देखि ३५ किलो सुन माग हुने भएकाले अहिले माग भन्दा धेरै हुने आयातले धेरै माग हुँदाको समयमा प्रयोग हुन्छ ।” बजारको माग भन्दा धेरै आयात भएको अवस्थामा कालोबजारी निरुत्साहित हुने उनको बुझाई छ ।

सुनको आयात कोटा बजारको माग भन्दा कम भएकाले अबैध आयातलाई प्रोत्साहन मिलेको थियो । बजारको माग भन्दा धेरै सुन आयात अनुमती दिएको खण्डमा अबैध तथा तस्करीलाई निरुतसाहन हुने सुझाब दिए अनुसार सरकारले आयात कोटा बढाएको शाक्यको बुझाइ छ । सरकारले निर्देशन दिए अनुसार केन्द्रीय बैंकले दैनिक २० किलो सुन आयात नभएको दिनको बाँकी रहको अर्को दिन जोडेर आयात गर्न पाउने गरी कोटा बढाएको हो । केन्द्रीय बैंकका अनुसार यस्तो सुविधा सोही महिना भित्र प्रयोग गर्नु पर्ने हुन्छ । अर्को महिना सुरु भएपछि कोटा अनुसार विगतमा आयत नभएको भनेर बढी ल्याउन पाइदैन ।

निरन्तर ओरालो तर्फ सुनको मूल्य

गत साता देखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । अमेरिकी डलर मजबुत भएसंगै सुनको मुल्यमा गिरावट आएको हो । युरोप र चिनको अर्थतन्त्र अस्थिर रहेको हुनाले लगानीकर्ताको विश्वास डलर प्रति बढेको हो । त्यसैगरी अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्य वृद्धि नियन्त्रण गर्नका लागि निरन्तर ब्याजदर बढाउदै साढे ५ प्रतिशतसम्म पुर्याएको छ । फेड ब्याजदर बढाकाले पनि लगानीकर्ता सुनमा भन्दा डलरमा आकर्षित भएपछि सुनको मूल्यमा गिरावत आउन थालेको हो ।

त्यसैगरी अमेरिकी अर्थतन्त्र लयमा फर्केको हुनाले लगानीकर्ताले सुनभन्दा डलरमा लगानी बढाएको बुझिन्छ । पछिल्लो साढे २ महिनामा डलर ७ प्रतिशतले बढेको छ । त्यसैगरी पछिल्लो एक महिनामा सुनको मूल्य ३.७८ प्रतिशतले घटेको छ । अमेरिकी अर्थतन्त्रमा स्थायित्व देखिएसंगै आगामी दिनमा पनि सुनको मूल्यमा गिरावट जारी रहने शाक्यले बताए । “डलर प्रतिको आकर्षण झनै बढदै गएको हुनाले सुनको मूल्य अझै घट्छ,”उनले भने,“इन्धनको मूल्य बढ्ने र डलर मजबुत हुने क्रम नरोकिदासम्म सुनको मूल्य घट्ने देखिन्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।