पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा


राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।

स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।

दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशङ्का प्रमुख आचार्यले व्यक्त गरे । साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए । सर्टिङसुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ असाेज २०८०, आइतबार  ०६ : ३३ बजे