राष्ट्र बैंकले व्यवसायमैत्री नीति नबनाउँदा व्यवसायीहरुको अवस्था नाजुक बन्योः सञ्जय लामा

0
Shares

काभ्रेपलाञ्चोकका सञ्जय लामा हाल नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव हुन् । फर्निसिङ व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले ड्रिम इन्टरनेशनल ट्रेडिङ र डिलाइट बिजनेस ग्रुप प्रालि मार्फत उद्योग तथा व्यापार गर्दै आएका छन् ।

संघको आयोजनामा असोज १० देखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो २०२३ आज साँझदेखि सकिँदैछ । संघका प्रवक्ता समेत रहेका लामाले कार्पेटको उत्पादन तथा थोक बिक्री वितरण गर्दै आएका छन् । पहिले फर्निचर र फर्निसिङका उत्पादन विलासिताको रुपमा लिने गरिएपनि हाल अनिवार्य वस्तु बनिसकेको उनी बताउँछन् ।

राष्ट्र बैंकले व्यवसायमैत्री नीति नबनाउँदा व्यवसायीहरुको अवस्था हाल नाजुक भएको तथा लगानीका लागि व्यवसायीक वातावरण बन्न नसकेको उनको बुझाई छ । देशको अर्थतन्त्र चलायमान हुन उद्योग तथा व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा आउनुपर्ने बताउने लामासँग फर्निचर एक्स्पो तथा समग्र बजारका सम्बन्धमा गरिएको कुराकानीः–

यो पटक असहज परिस्थितिका बाबजुद एक्स्पो आयोजना गर्नुभयो, कस्ता चुनौती देखिए ?

सन् २०१२ मा सुरु भएको यो एक्स्पो अहिले नवौंँ संस्करणमा आइपुगेको छ । मन्दीका बावजुद अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले हामीहरुले यस वर्ष फर्निचर एक्स्पो गरेका छौं । उपभोक्ताहरुलाई एकै छानामा विभिन्न सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले हामीले सञ्चालन गरेका हौं । यस क्रममा सहज त पक्कै भएन । हुन त कुनै पनि काम सहज हुँदैन, तर विगतका वर्षको तुलनामा यस पटक साचेजस्तो सहज नभएको नै हो । स्टलमा आउनका लागि नै साथीहरु डराइरहनु भएको थियो, भोलीको आशमा मात्र साथीहरुले सहभागिता जनाउनु भएको छ ।

उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण सबैको व्यापार धेरै घटेको छ । यो अवस्थाकाबीच प्रदर्शनीमा आउन नखोज्नु स्वभाविक हो । किनकी पछिल्लो वर्ष धेरै साथीहरु आउन खोज्नु भएको थियो, सबैलाई समेट्न सकिएन । यस पटक निर्धारित समयमा सबै स्टल बुक भएपनि पछिल्लो वर्षको जस्तो अवस्था अलि बन्न सकेन । यद्यपी जे जति व्यवसायीहरु सहभागि हुनुभएको छ, सबै भोलिको बजार राम्रो हुने अपेक्षामा आउनु भएको छ । आशा छ यसको सुःखद नतिजा पक्कै आउनेछ ।

पछिल्ला केही वर्षमा फर्निचर तथा फर्निसिङ क्षेत्रको बदलिँदो स्वरुपमा यहाँको अनुभव कस्तो छ ?

पछिल्लो एक दुई वर्ष यता फर्निचर तथा फर्निसिङ क्षेत्रमा मन्दी नै आएको छ । विगतका वर्षहरुमा जसरी बिक्री हुने गथ्र्यो, त्यसरी बिक्री हुन सकेको छैन । देशको अर्थतन्त्रमा नै मन्दी आएका कारण हाम्रो क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ । फर्निचर उद्योग तथा व्यापार मात्र नभई सबै क्षेत्रमा यसको असर परेको छ । तर सकारात्मक पक्ष के हो भने उपभोक्ताको रुची बढिरहेको छ । भोलीका दिनमा बजार सामान्य अवस्थामा आउँदा विस्तारको दायरा फराकिलो हुनेमा आशावादी छौं ।

तरलता अभाव छ भनेर व्यवसायीहरुले भनिरहँदा, राष्ट्र बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको अवस्थामा पुगिएको भनिरहेका छन् नि ?
राष्ट्र बैंकले बजारमा तरलता अभावको समस्या छैन भने पनि उद्योगी व्यवसायीहरुले त्यसको रियलाइजेसन गर्न पाएका छैनन् । देशको अर्थतन्त्र चलायमान हुन उद्योग तथा व्यवसायहरु सञ्चालनमा आउनुपर्छ । राष्ट्र बैंकले व्यवसायमैत्री नीति नबनाउँदा नै हाल व्यवसायीहरुको अवस्था नाजुक हुन पुगेको छ । लगानी गर्नका लागि जुन वातावरण व्यवसायीका लागि हुनुपर्ने हो, त्यो वातावरण बन्न सकेको छैन । यदि बैंकहरुले भनेको जस्तो हुन्थ्यो भने कर्जा प्रवाह किन अपेक्षित हुन नसकेको हो त ? यो कुरा बैंकहरुलाई राम्ररी थाहा छ, तर उनीहरु यस्ता विषय उजागर गर्न डराउँछन् । अर्कातिर बजारमा माग नै नभएको बेला उद्योगी व्यवसायीले किन कर्जा लिएर व्याजको भारी बोक्छ भन्ने हो ।

पाँच वर्ष पहिले र अहिलेको बजारलाई तुलना गर्दा कस्तो लाग्छ ?

विगत पाँच वर्षको अवस्था केलाउँदा फर्निचर तथा फर्निसिङको व्यापारमा आएका सकारात्मक परिवर्तन हामीले देख्न सक्छौं । बजारकोशैली उपभोक्ताका कारण परिवर्तन भएको छ । यो समयमा उद्योग तथा व्यापारमा संलग्न हुनेहरुको संख्या पनि बढिरहेको छ । पछिल्लो वर्ष भने यो क्रम केही मात्रामा प्रभावित भएको छ । आजभन्दा ५ वर्ष अगाडि जुन उत्साह र दु्रत गतिमा बजार अगाडि बढिरहेको थियो त्यो अहिले देखिँदैन । कोभिड–१९ पछि मानिसहरुको क्रयशक्ति कमजोर हुँदै गएको छ । जसरी बजार चलायमान हुनुपथ्र्यो, व्यापारको चहलपहल जसरी बढ्नुपथ्र्यो, त्यो हुन सकेको छैन । देशमा नै मन्दी छाएको समयमा हाम्रो व्यवसायहरुमा समेत मन्दी आएको छ ।

उपभोक्ताहरु फर्निचरजन्य उत्पादन खरिदमा अहिले स्मार्ट भएका हुन् ?

आजभन्दा १० वर्ष अगाडि हेर्ने हो भने मानिसहरुले फर्निचर तथा फर्निसिङ क्षेत्रलाई विलासी मान्थे र एउटै बास्केटमा हालेर हेर्ने गरिन्थ्यो । साजसज्जामा खासै ध्यान दिने उपभोक्ता थिएनन् । घर बनाइसकेपछि मात्रै फर्निचर लिन्थे भने अहिले मानिसहरुको चेतना वृद्धि भएको छ ।

मानिसहरुले फर्निचरलाई आवश्यकता र अनिवार्य रुपमा लिन सुरु गरेका छन् । घर, अफिस, होटल वा जुनसुकै संरचना निर्माण गर्दा फर्निचर तथा फर्निसिङको बारेमा इन्टेरियर डिजाइनरसँगै मिलेर सल्लाह सुझाव लिने गरेका छन् । कस्ता समान किन्ने, मूल्य, गुणस्तर जस्ता विषयमा आज धेरैले चासो दिने गरेका छन्, विगतमा यस्तो हुँदैन थियो । पछिल्लो १० वर्षलाई हेर्दा फर्निचर तथा फर्निसिङ क्षेत्रमा मानिसहरुको उत्साह बढ्दो छ । यसले गर्दा नै उद्योग व्यवसाय गर्नेहरु पनि उत्साहित बनिरहेको अवस्था छ ।

फर्निचर तथा फर्निसिङको क्षेत्रमा थप सुधार ल्याउन आवश्यक पर्ने नीतिगत पहलका सम्बन्धमा तपाईको विचार के छ ?

पछिल्लो पाँच वर्षको तथ्याङ्क र अवस्थालाई हेर्ने हो भने फर्निचर तथा फर्निसिङ क्षेत्रमा विशेषतः कार्पेट र म्याट्रेसको क्षेत्रमा हामी आत्मनिर्भर भइसकेका छौं । फर्निसिङ अन्तर्गतको कार्पेटिङका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद गरेतापनि उत्पादनमा हामी ९०–९५ प्रतिशतसम्म आत्मनिर्भर छौं । हामीले अहिले अन्तर्राष्ट्रियस्तरकै गुणस्तर भएको कार्पेट तथा म्याट्रेसको उत्पादन गर्दै आएका छौं । पछिल्लो समयमा हामीले उपभोक्ताको चाहना अनुरुपको सामाग्रीको उत्पादन गर्दै आएका छौं । कस्टुमाइज्ड उत्पादन पनि हुने गरेको छ । यस्तो अवस्थामा राज्यबाट उद्योगी व्यवसायीलाई सघाउने काम भएको छैन जस्तो लाग्छ ।

सरकारले नीति ल्याउँदा ख्याल गर्नु पर्यो कि हरेक सरकारी कार्यालयहरुमा नेपालमै उत्पादन भएका सामाग्रीहरुको प्रयोग होस् । कार्पेट, म्याट्रेसदेखि फर्निचर र अन्य फर्निसिङको लागि अनिवार्य रुपमा नेपालमा नै उत्पादन भएका सामाग्रीहरु हुन् भन्ने हाम्रो चाहना हो । यसले नेपालमा उत्पादित सामाग्रीहरुको प्रवद्र्धन हुनुका साथै उहाँहरुले चाहनु भएको सामाग्री उत्पादन गर्न हामीलाई हौसला पनि मिल्छ । अहिले लागू भईरहेका कतिपय कानुन तथा नीति नियम पूराना भईसकेको अवस्था छ । त्यति हुँदा पनि सरकारले हामीसँगै समन्व नै नगरी नयाँ व्यवस्थाहरु कार्यान्वायन गर्दा समस्याहरु झनै बढेका छन् ।

फर्निचर तथा फर्निसिङका उत्पादनलाई विलासिताको रुपमा व्याख्या किन गरियो जस्तो लाग्छ ?

कानुनी रुपमा यसलाई विलासिता भनिएको छैन होला, तर व्यवहारमा अहिले पनि यो सोचमा सुधार भएको छैन । पहिलो एउटा खाट भए पुग्छ, अरु सामान विलासिता हो भनिन्थ्यो । अहिले तपाई बिहान उठेदेखि खाना, कार्यालय, खाजा, होटल जहाँ जानुस् यही उद्योगले तयार गरेका वस्तु तथा सामानमा आश्रित हुनुपर्छ । अनि कसरी यसलाई विलासिता भन्न मिल्यो ? यो सोच बदल्नका लागि नीतिगत व्यवस्था नै गरिनुपर्छ जसले बजारमा उपभोक्ताले सहजै यस्ता उत्पादन पाउन सकुन् ।

पछिल्लो समय मानिसहरुमा इन्टेरियर डिजाइनलाई लिएर जुन चेतना विकास भइरहेको छ, त्यसलाई ध्यानमा राख्दै फर्निचर तथा फर्निसिङलाई विलासिताको सूचीमा राखेर हुने व्यवहारमा परिवर्तन हुँदा त्यसको सकारात्मक असर कुनै न कुनै रुपमा अर्थतन्त्रमा पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।