सुनको भाउ पाँच दिनमा प्रतितोला ४२ सयले घट्यो, यो क्रम केही दिन कायमै रहने विश्लेषकहरुको अनुमान


सुनको भाउ पाँच दिनको अवधिमा प्रतितोला ४२ सय रुपैयाँले घटेको छ । असोज ८ गतेबाट निरन्तर घट्न थालेको सुनको भाउ आज पनि प्रतितोला ८०० रुपैयाँले घटेको हो । अमेरिकी बजारमा सुनको विक्री बढ्नुका साथै अमेरिकी डलर मजवुत बनेकोले मुल्यमा उच्च गिरावट आएको हो ।

विश्व बजारमा कच्चा तेलको मुल्यमा समेत कमी आएकोले त्यसले बिश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मुल्यमा कमी आएको विश्लेषकहरुले बताएका छन् । यो क्रम अझै केही समय कायमै रहन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको थियो । असोज ८ गते सोमबार प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बिहीबार १४ सय रुपैयाँले घटेको थियो । यस्तै साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको भाउ ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ७ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुन एक लाख ८ हजार २५० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ आज चाँदी १५ रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४८ दशमलव ८२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ असाेज २०८०, आइतबार  १० : ४४ बजे