सोनापुर मिनरल्सको आइपीओ तीन दिनमा ८८ प्रतिशत मात्र बिक्यो

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा निष्कासन खुला भएको तीन दिनमा ८८ प्रतिशत मात्र बिक्री भएको छ ।

प्रिमियम मुलयमा सेयर निष्कासन गरेको कम्पनीले २ अर्ब ३१ करोड २२ लाख ५७ हजार ८०३ रुपैयाँको सेयर खरिदका लागि आह्वान गरेकोमा मंगलबारसम्म साँझसम्म ८८ प्रतिशत अर्थात २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८४७ रुपैयाँ बराबरको मात्र आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असोज १६ गते मंगलबार साँझ ५ः०७ बजेसम्ममा ७ लाख ३२ हजार ९५३ वटा आवेदन मार्फत ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको हो । दुई दिनमा माग भएको यो सेयर संख्या सर्वसाधारणमा खरिदका लागि आह्वान गरिएको ९७ लाख ३२ हजार ५४४ कित्ताको ८८ प्रतिशत बराबर मात्र हो ।

प्रिमियम मूल्यमा सेयर जारी गर्दा लगानीकर्ताले कम भरेका हुन् । यसअघिको तुलनामा कम्पनीको सेयरमा आवेदन दिने संख्या कम देखिएको हो । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । अंकित मूल्यमा थप रकम हाल्ने र दोस्रो बजारमा कारोबार खुलेकै दिनबाट सेयरमूल्य घट्ने गरेको सेयर बजारको अवस्थाले प्रथामिक बजारमा समेत आकर्षण घटेको छ ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता निष्काशन गरेको थियो । जसमध्ये स्थानीय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । त्यसैगरी कम्पनीले २३७ रुपैयाँ ५८ पैसामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता निष्कासन गरी बाँडफाँड गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित गरिएको छ ।

आईपीओमा छिटोमा भोलि असोज १७ गते बुधबारसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा आवेदन नपरेमा निष्काशन अवधि असोज २८ गतेसम्म लम्बिने छ । न्यूनतम १० देखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । मेरो सेयर मोबाइल एप, वेवसाइट तथा धितोपत्र बोर्डबाट सि–आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आईपीओमा आवेदन दिन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।