मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ कात्तिक १० देखि खुल्ने

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको पहिलो आइपीओ ल्याउने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि कम्पनीले सर्वसाधारणलाई जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउन लागेको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई असोज १० गते आईपीओ बेच्न अनुमति दिएको थियो ।  प्रतिकित्ता १०० रुपैयाँमा जारी हुने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था छ । लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप तथा मेरो सेयर वेवसाइट मार्फत आईपीओ भर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

आईपीओबाट संकलित रकम स्याङ्जा र चितवनमा दुई उन्नत जातको बिउ उत्पादन गर्ने कृषि उद्योगमा तथा कृषि अनुसन्धानमा उपयोग हुने कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

कमजोर वित्तीय अवस्था

कृषि क्षेत्र अन्तर्गत पहिलो आइपीओ निष्कासन गर्ने कम्पनी बनेकाे मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वित्तीय अवस्था भने कमजोर देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले जोखिम जनाउने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेकोमा कम्पनीको वित्तीय अवस्थाले समेत त्यसलाई पुष्टि गर्दछ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था अस्थीर देखिएको छ । चार वर्षअघि सञ्चित नाफामा रहेको कम्पनीको अवस्था निरन्तर खस्किएर सञ्चित नोक्सानी र प्रतिसेयर नेटवर्थ समेत अंकित मूल्यभन्दा धेरै तल झरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

आव २०७६–७७ मा १०९ रुपैयाँ प्रतिसेयर नेटवर्थ र वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ १ पैसा रहेको कम्पनीको आव २०७८–७९ मा आइपुग्दा प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा र वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको छ ।  गत आर्थिक वर्ष २०७९–८० मा कम्पनीको ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ । गत आवमा कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ४८ पैसा कायम गर्दा प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा मात्र छ ।

कम्पनीले गरेको प्रक्षेपण अनुसार चालु आवमा कम्पनीले ६२ लाख ७२ हजार, आव २०८१–८२ मा ५ करोड ६१ लाख र आव २०८२–८३ मा १० करोड ७७ लाख रुपैयाँ सञ्चित नाफा आर्जन हुनेछ । सो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी क्रमशः ८.७३ रुपैयाँ, १४.३० रुपैयाँ र २२.९६ रुपैयाँ कायम हुने कम्पनीको आंकलन छ । यस्तै अबको तीन वर्षपछि आव २०८२–८३ मा पुग्दा कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर ११३ रुपैयाँ ७९ पैसा रहने अनुमान छ ।

कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो आव २०७८।७९ मा कम्पनी ६ करोड ७९ लाख रुपैयाँ सञ्चित नोक्सानीमा गएको थियो । सोभन्दा अघि कम्पनीले आव २०७७-७८ मा १ करोड ३१ लाख ९९ हजार र आव २०७६-७७ मा १ करोड ७० लाख १९ हजार सञ्चित मुनाफामा थियो । आव २०७६-७७ मा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४६ पैसा रहेकोमा २०७७-७८ मा १०५ रुपैयाँ २६ पैसामा झरेको थियो भने आव २०७८-७९ मा अझै घटेर ७८ रुपैयाँ ८१ पैसामा झरेको थियो । प्रकाशित विवरणपत्र अनुसार आव २०७६-७७ मा प्रतिसेयर आम्दानी ३ रुपैयाँ १ पैसा रहेकोमा २०७७-७८ मा १८ पैसामा झरेको थियो भने आव २०७८-७९ मा अझै बढेर २८ रुपैयाँ ५४ पैसा ऋणात्मक बनेको थियो ।

कम्पनीका बारेमा

मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो । बैंकको प्रमुख लगानीमा स्थापना भएको कम्पनीको अध्यक्षमा भरतराज ढकाल छन् । कृषि क्षेत्र अन्तर्गत आइपीओ निष्कासन गर्ने मुक्तिनाथ पहिलो कम्पनी हो । काठमाडौं महानगरपालिका वडा नं ३, बसुन्धारा, रिङ्गरोडमा रजिष्टर्ड कार्यालय रहेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडकम्पनी ऐन, २०६३ बमोजिम स्थापित भएको थियो ।

कम्पनीले आफ्नो उद्देश्य अनुसार कृषक तथा कृषि व्यवसायिहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको छ । कम्पनीले मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास, प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि उत्पादनहरुको उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले कृषिमा आधारित सहकारीहरुसँग सहकार्य गरि ग्रामिण क्षेत्र र बजार क्षेत्रमार्फत् सेवा दिइरहेको छ। कम्पनीका प्रमुख ग्राहक पनि उनीहरु नै हुन्। मुक्तिनाथ कृषि कम्पनीले बढि भन्दा बढि कृषकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने तथा गुणस्तरीय सेवा कृषकसम्म पुर्याउनको लागि वडा, गाँउपालिका, नगरपालिका र जिल्लामा स्थापना भइसकेका तथा नयाँ स्थापना गरी व्यवसाय गर्न चाहने सहकारी, कृषि कम्पनी तथा फर्महरुलाई व्यापक रुपमा सहयोग तथा प्रवद्र्धन गरी स्थापित गराउनका लागि उत्पादन, प्रशोधन (उद्योग) र वितरणमा व्यवस्थापकिय काम गर्ने उद्देश्य लिएको छ ।

नेपालमा छरिएर रहेको कृषि व्यवसायका अवसर र चुनौतिहरुलाई एकीकृत गरी उत्कृष्ट संस्थागत व्यवस्थापनको माध्यमबाट कृषि तथा सम्बन्धित क्षेत्रलाई मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरुको आकर्षणको केन्द्रबिन्दु बनाउने कम्पनीको लक्ष्य छ ।

देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले वि.सं २०७५ सालमा मुक्तिनाथ विकास बैंक लगायत नेपालका सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा पब्लिक कम्पनीको रुपमा कम्पनी स्थापना भएको थियो । कम्पनीले सरकारी, गैरसरकारी तथा निजी साझेदारहरुसँग सहकार्य मार्फत प्रविधिमा आधारित कृषि उत्पादनलाई कृषकदेखि उपभोक्तासम्म जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।