फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने


नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । अब ग्राहकहरुले ५०० रुपैयाँ भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

यस्ता अर्डरमा मात्र ५० रुपैयाँको न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिवर्तन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ ।

यद्यपि, १ हजार भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ । नयाँ नीतीबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले यो निर्णयले उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने बताए । सन् २०१० देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो फूड डेलिभरी कम्पनी हो । फूडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।