सोनापुर मिनरल्सको आईपीओ नतिजा कसरी हेर्ने ?

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ९९ प्रतिशत अर्थात १० लाख ३२ हजार १३२ जना आवेदकको सेयर हात पारेका छन् भने ८ हजार ६३८ जनाको हात खाली भएको छ ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ४६ हजार ६६१ वटा आवेदन परेकोमा १ लाख ५ हजार ८९१ वटा आवेदन रितपुर्वक नपरेका कारण रद्द भएको हो । उल्लेखित सङ्ख्याबाट परेको कित्ता माग भएको ३१ लाख ८४ हजार ४४० कित्ताका माग अस्वीकृत भएको छ ।

कर्मचारीले नकिनेपछि सोनापुर मिनरल्सको आईपीओ ९९% आवेदकले पाए

यसरी रद्द भई कायम रहेका १० लाख ४० हजार ७७० वटा आवेदनबाट परेको १ करोड १९ लाख ७५ हजार ५२० कित्ताको माग सदर भई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । बाँडफाँडमा सहभागि ८ हजार ६३८ जनाले भने सेयर पाउन सकेनन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर हात पारेका हुन् ।

आईपीओ बाँडफाँडको नतिजा प्रकाशित भएको छ । आईपीओ बाँडफाँडको नतिजा विभिन्न चार स्थानबाट हेर्न सकिन्छः–

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट
४. सेयर निष्कासनकर्ता कम्पनी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको वेवसाइट

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा सेयर बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान साढे ९ बजे सेयर बाँडफाँड भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।