आईपीओ भन्दा सस्तो बन्यो घोराही सिमेन्टको सेयर मूल्य

0
Shares

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सेयर मूल्य कम्पनीले सार्वजनिक निष्कासन गरेको मूल्यभन्दा तल झरेको छ । बिहीबार उक्त सिमेन्ट कम्पनीको सेयर ४ रुपैयाँ २० पैसाले घटेर ४३४ रुपैयाँ ८० पैसामा झरेको हो ।

कम्पनीको सेयर कारोबार भएको ४० औं दिनमा कम्पनीले सेयर निष्कासन गरेभन्दा तल झरेको हो । कम्पनीको सेयर साउन २८ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार घोराही सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

कम्पनीको सेयर इन्ट्रा डे कारोबारमा प्रतिकित्ता ४३० रुपैयाँसम्म झरेर कारोबार भएकोमा बन्द हुँदा भने केही बढेर बन्द भएको हो । बिहीबार दिनभरीको कारोबारमा कम्पनीको सेयर उच्चतम प्रतिकित्ता ४३९ रुपैयाँसम्म कारोबारमा आएको थियो । कम्पनीको ४४ हजार १४८ कित्ता सेयर १ करोड ९२ लाख ६५ हजार ६९१ रुपैयाँ ४० पैसामा खरिद–बिक्री भएको छ ।

धितोपत्रको दोस्रो बजारमा पहिलो दिन आईपीओको लागत मूल्यभन्दा ७४ रुपैयाँ माथि खुला अर्थात ५०९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य धितोपत्र बजारमा आएको गिरावटसँगै आईपीओको मूल्यभन्दा तल झरेको हो । कम्पनीले अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँ दरमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

प्रिमियम मूलय सेयर बिक्रीको बखतमा नै विभिन्न विवाद र उल्झन झेलेको उक्त सिमेन्टको सेयरमा लगानी गरेका लगानीकर्ता बिहीबारसम्म आइपुग्दा घाटामा पुगेका हुन् ।

खस्कँदो ब्यपारबीच निकै कम मात्र उपलब्धि हाँसिल गरेको त्रिवेणी ग्रुपको मुख्य लगानी रहेको घोराही सिमेन्टसलाई नेपाल धितोपत्र बोर्डले उच्च मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएकाे थियाे । आर्थिक लाभ लिएर महङ्गो मूल्यमा सेयर जारी गर्न अनुमति दिएको आरोपपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बिक्री खुला भैरहेको निष्कासन बीचमा नै राेकेर अनुसन्धान प्रकृया अगाडि बढाउन बाध्य बनेका थिए । घोराही सिमेन्टको आईपीओमा अन्तिम दिन अगावै फर्जी आवेदन मार्फत ओभरसब्क्राइब भएको भएपनि म्याद थप गरिएपछि धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन स्थगित गर्दै अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको रकम कम्पनीको खातामा जम्मा भैसकेको र सर्वसाधारणबाट आवेदन भएको ३ अर्ब ६१ करोड रकम समेत बन्धक बनेपछि बोर्डले अनुसन्धानलाई निरन्तरता दिँदै आवेदन फिर्ता लिन, संसोधन मार्फत थपघट गर्न वा पुनः आवेदन दिन पाउनेगरी निष्कासन खुला गर्ने निर्णय गरेको थियो ।

आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गरे वापत केयर रेटिङ नेपालाई धितोपत्र बोर्डले पहिलो पटक ५० हजार रुपैयाँ जरिवाना समेत तिराएको थियो । केयरले कानुन विपरित रेटिङ गरेको पाइएपछि धितोपत्र बोर्डको सञ्चालक समितिले जरिवाना लगाउने निर्णय समेत गरेको थियो । केयर रेटिङ नेपाल र घोराही सिमेन्ट दुबैमा त्रिवेणाी ग्रुपको बिशाल ग्रुपको लगानी छ । क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ क्रेडिट रेटिङ संस्थाले गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।