एनएमबि हाइब्रिड फण्ड एल–१ को सूचीकरण खारेज

0
Shares

एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ को सुचीकरण खारेज भएको छ । कात्तिक ८ गतेदेखि योजना परिपक्क हुन लागेसँगै खारेजी प्रक्रिया अघि बढाईने जानकारी योजना व्यवस्थापक एनएमबि क्यापिटलले दिएको छ ।

असोज २६ गतेको निर्णय अनुसार कम्पनीको सूचीकरण खारेजी प्रक्रिया अघि बढाइएको हो । असोज २५ गतेसम्म कायम भएका इकाईधनीहरू मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्न योग्य भएको जानकारी योजना व्यवस्थापकले गराएको छ ।

नेपाल धितोपत्र बोर्डले एनएमबि हाइब्रिड फण्ड एल–१ योजना सञ्चालनका लागि २०७३ साल भदौ १४ गते अनुमति प्रदान गरेको थियो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको आकार एक अर्ब बराबर रहेको छ । जसलाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गरिएको थियो ।

सामूहिक लगानी कोष नियमावली २०६७ को को नियम ३१ उपनियम (७) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने हुन्छ । योजना खारेजी गर्नुअघि सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । सोही अनुसार योजना व्यवस्थापकले सूचना प्रकाशन गरेको हो । योजना खारेजी पश्चात् योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था बमोजिम रकम फिर्ता भुक्तानी हुनेछ ।

योजनाको इकाई खरीद गरी हालसम्म पनि अभौतिकीकरण नगराएका इकाईधनीहरूलाई यथाशीघ्र अभौतिकीकरण गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । विगतका वर्षहरूको नगद लाभांश लिन बाँकी इकाईधनीहरूले आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराई प्रतिफल प्राप्त गर्न समेत इकाईधनीलाई आग्रह गरिएको छ ।

गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट योजनाले कर सहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा असोज २१ गतेदेखि एक्त लाभांश समेत वितरण गरिसकेको छ । भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार योजनाको खुद सम्पत्ति १ अर्ब १७ करोड ८६ लाख ३९ हजार २१४ रूपैयाँ छ । सो अवधिसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रूपैयाँ ७९ पैसा रहेको छ ।

हाइब्रिड फण्ड एल–१ को कोष प्रवद्र्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड बालुवाटार रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।