राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह

0
Shares

कुल विक्रम शाह राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्ष चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाइड्रोपावरका सञ्चालक रहेका शाहलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सोही बैठकले सञ्चालक रोहित रौनियारको स्थानमा शुभम प्रकाश उप्रेतीलाई चयन गर्ने निर्णय गरेको छ । यस कम्पनीले रुकुममा ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले असार २९ देखि साउन १ गतेसम्म सर्वसाधारणमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम साउन ९ गते भएको बाँडफाँडमा २लाख १७ हजार ६९४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका थिए । कुल निष्काशित आईपीओमध्ये सामुहिक लगानी कोषका इकाईहरुलाई १ लाख १८ हजार ३१२ कित्ता र कर्मचारीका लागि ७० हजार ९८८ कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

कम्पनीको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ सहित कुल ६१ लाख २७ हजार ६६८ कित्ता सेयर भदौ १४ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई भदौ १५ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ ।

रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको ९० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सीमाना धौलापहिरामा आयोजना निर्माण भइरहेको छ । परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीलेका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।