प्रतिसेयर नेटवर्थ एक रुपैयाँ रहेको कम्पनीले गर्यो २०० प्रतिशत हकप्रद बेच्ने निर्णय

0
Shares

गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म प्रतिसेयर नेटवर्थ १ रुपैयाँ ११ पैसा रहेको दिब्यश्वरी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । साथै हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतीका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।  कम्पनी सञ्चालक समितिको २०८० असोज २९ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले यसअघिको शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्तावलाई बढाएर २०० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको हो ।

दिब्यश्वरी हाइड्रोपावरका अध्यक्ष दधिराम निरौलाका अनुसार सोमबारको सञ्चालक समितिको बैठकले बैक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागी आगामी साधारण सभामा पेश गर्ने निणय गरेको हो । यसअघि असार १० गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको दिब्यश्वरीको गत आर्थिक वर्षको अन्तयसम्म कम्पनीको सञ्चत जगेडा नोक्सानी २६ करोड १० लाख ६५ हजार रुपैयाँ पुगिसकेको छ ।

वित्तीय अवस्थामा आफैँ धरासायी अवस्थामा पुगिसकेको कम्पनीले लगानीकर्तालाई भने १ बराबर २ कित्ता अनुपातमा हकप्रद बेचेर रकम संकलन गर्न लागिएको हो । निर्णय गर्दा नै हकप्रद अवितरित हुने डर देखेपछि बोर्डले नियमावलिमा हकप्रद सेयरको हक हस्तान्तरण सम्बन्धि ब्यवस्था नरहेकोले सो ब्यबस्था कायम गर्नको लागिसंस्थाको नियमावलीका सम्बन्धित नियममा संशोधन र थप गर्ने निर्णय समेत गरेको छ ।

हकप्रद सेयर निश्कासनबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रोपावर प्रालिमा ५१ प्रतिशत लगानी गर्ने तथा बाँकी सबै रकम बैकहरुबाट लिएको दीर्घकालिन कर्जाको भुक्तानी गर्ने कम्पनीको भनाई छ ।  आयोजनामा नदीमा जलको प्रवाहमा कमी भएकोले आयोजनाबाट हुने बिद्युत उत्पादनमा हिउँद याममा असर परिरहेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेका छ । हालको कम्पनीले बैंकलाई तिर्नुपर्ने ब्याजदर ११.१२ प्रतिशत रहेको र यो अत्याधिक भएकोले बैंकको साँवा ब्याजको ब्ययभार बढ्न गएको कारण साँवा तथा ब्याज नियमित हुन नसकेको कम्पनीले जनाएको छ । ब्याजदर घटाउन सञ्चालक समीतीले सम्बन्धित निकायमा आवश्यक पहल गरिरहेको बताएको छ ।

यस्तै कम्पनीमा संस्थागत सुशासन कायम हुन नसक्दा मुद्दा मामिलाको झमेलामा समेत कम्पनी रहेको छ । कम्पनीका पूर्व कर्मचारीले पारिश्रमिक भुक्तानीको सम्बन्धमा चित नबुझी कम्पनी विरुद्ध श्रम अदालत, काठमाडौंमा दायर मुद्दा फैसला उपर चित नबुझी कम्पनी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । हाल मुद्दा विचाराधीन अवस्थामा रहेको कम्पनीको भनाई छ । आयोजनाको सिभिल निमार्ण कार्यका ठेकेदारले डिजाईन नक्सा अनुरूप कार्य नगरी कम्पनीलाई क्षति पुगेकोले सम्झौता अनुसार हर्जाना भराई पाँउ भनी कम्पनीले समेत ठेगदार कम्पनीलाई मुद्दा दायर गरेको छ । सो मुद्दा नेपाल मध्यस्थता परिषद् (नेप्का) मा विचाराधीन रहेको छ ।

यसरी अनेकौं झमेलामा फसेको कम्पनीले हकप्रदबाट रकम संकलन गरी घाटा पूर्ति गर्ने तथा बैंकको ऋण तिर्ने तयारी गरेको छ । हाल कम्पनीले हकप्रद बिक्री गर्ने परिमाण बढाएपनि बहुसंख्याक सेयरधनी हकप्रदको विपक्षमा उभिएको खण्डमा साधारण सभाबाट उक्त प्रस्ताव अस्वीकृत पनि हुन सक्नेछ । नियामक विद्युत नियमन आयोग र साधारण सभाबाट हकप्रद निष्कासन प्रस्ताव पारित भए पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत सो प्रस्ताव पारित भएको खण्डमा मात्र हकप्रद सार्वजनिक निष्कासनमा आउनेछ । विद्युत नियमन आयोग र साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव पारित भएपनि लगानीकर्ता जोखिममा पर्ने देखिएमा बोर्डले अनुमति नदिन पनि सक्छ । यसो भएको खण्डमा कम्पनीको निर्णय बीचमा नै रोकिन पनि सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।