ब्रोकर कमिशन १० प्रतिशतले घटाउने धितोपत्र बोर्डको निर्णय अर्थ मन्त्रालयमा


नेपाल धितोपत्र बोर्डले सेयर दलाल व्यवसायीले लगानीकर्ताबाट लिँदै आएको ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । २ वर्ष अघि पनि कमिशन घटाएको बोर्डले धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र केन्द्रिय निक्षेप प्रणालीले लिँदै आएको कमिशन शुल्क भने यथावत राखेको छ ।

बोर्ड सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल लगानीकर्ताले विभिन्न स्ल्यावमा तिर्दै आएको कमिशन १० प्रतिशतले घटाउन मन्त्रालयसँग सहमति माग्ने निर्णय गरेको हो । बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार बोर्ड सञ्चालक समितिले गरेको निर्णयलाई प्रस्तावका रुपमा अर्थ मन्त्रालय पठाइनेछ । “१० प्रतिशत घटाउने भनी बोर्ड सञ्चालक समितिले गरेको निर्णयलाई मन्त्रालयले सदर गर्न वा संशोधन गर्न वा प्रस्तावलाई स्वीकृति नदिन सक्छ,” बोर्ड प्रवक्ता श्रेष्ठले नोटबजारसँग भने, “मन्त्रालयले गर्ने निर्णय कार्यान्वायन हुन्छ ।”

यता नयाँ ब्रोधरहरु थप भएको अवस्थामा कार्यक्षेत्र बढाएर ब्रोकर सञ्चालनमा सहज अवस्था बनाउनु पर्ने व्यवसायीले आवाज उठाइरहेका बेला बोर्डले परामर्श नगरी कमिशन कटौतीको निर्णय गरेको ब्रोकरहरुले आरोप लगाएका छन् । “बोर्डको यो प्रस्तावले सरकारले पाउँदै आएको राजश्व नै १० प्रतिशतले घट्छ भने हाम्रो आम्दानीको अकार घट्दा सञ्चालन खर्च नै प्रभावित हुन्छ,” एक ब्रोकरले भने ।

अर्का एक ब्रोकरले भने धितोपत्र बोर्ड, नेप्से तथा सिडिएससीको कमिशन पनि समानुपातिक रुपमा घटाएर लगानीकर्तालाई रहात दिनुपर्नेमा ब्रोकरको कमिशनमा मात्र बोर्डले कैंची लगाएको आरोप लगाए । बोर्डले लगानीकर्ताबाट लिँदै आएको शुल्क ब्रोकर कमिशनको तुलनामा धेरै भएको भन्दै उनले नेप्से तथा सिडिएससीको कमिशन समेत घटाउँदा लगानीकर्तालाई धेरै सहज हुने र कमिशन गिरावटको भार ब्रोकरमा मात्र नपर्ने उनको भनाई छ ।

अहिले लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत कमिशन ब्रोकरलाई तिर्दै आएका छन् । बोर्डको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेको खण्डमा यस्तो कमिशन ०.३६ प्रतिशतमा आउनेछ ।

त्यस्तै ५० हजारदेखि ५ लाख रुैियाँसम्मको कारोबारमा लगानीकर्ताले ब्रोकरलाई ०.३७ प्रतिशत कमिशन दिँदै आएका छन् । प्रस्तावित व्यवस्था कार्यान्वायनमा आएको खण्डमा यस्तो कमिशन ०.३३३ प्रतिशत हुनेछ ।

५ लाखदेखि २० लाखसम्मको कारोबारमा अहिले ०.३४ प्रतिशत कमिशन लाग्दै आएकोमा ०.३०६ प्रतिशत मात्र कमिशन प्रस्ताव गरिएको हो । २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशतको दरमा लाग्दै आएको कमिशन ०.२७ प्रतिशत कमिशन प्रस्ताव गरिएको बोर्डले जनाएको छ । १ करोडभन्दा माथिको कारोबारमा अहिलेको ०.२७ प्रतिशत कमिशनलाई ०.२४३ प्रतिशत कायम गर्न प्रस्ताव गरिएको हो ।

सरकारी वा संस्थागत ऋणपत्रको खरिदबिक्रीमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत कमिशन लाग्दै आएको छ भने ५० हजारदेखि ५० लाखसम्मको कारोबारमा ०.०५ प्रतिशत र ५० लाखभन्दा माथिको कारोबारमा ०.०२ प्रतिशत कमिशन लाग्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।